यसरी गर्नुहोस् लक्ष्मीको पूजा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । आज साँझ घरघरमा लक्ष्मी पूजा गरिँदैछ । धनधान्यकी देवी लक्ष्मीको पूजा गर्नाले घरमा लक्ष्मीको बास हुने तथा सुख शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास छ ।

बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार साँझ घरको चारैतिर सफासुग्घर गरी दैलो, संघार, झ्याल, ढोका, कौशी, अटाली, भ¥याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ ।

लक्ष्मीपूजाको रातलाई सुखरात्री पनि भन्ने गरिन्छ । साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ । गृहिणीहरू साँझ दिपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्वीरमा पूजा गर्दछन् ।

लक्ष्मीपूजाका दिन लक्ष्मीको प्रतीक मानी छोरीको पूजा गर्ने चलन छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अरु चल अचल सम्पत्ति बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने लोकोक्ति छ ।

लक्ष्मीको पूजा तथा आरती बिधि :

आरतीका लागि एउटा पूजाको थालीमा स्वस्तिक चिन्ह बनाएर चामल तथा फूलमाथि शुद्ध घ्युको दियो बाल्ने र अर्को एक थालीमा कपुर राखेर पूजा स्थानमा राख्ने।

आरतीको थालीमा एक कलशमा जल राखेर आफूलाई अभिषेक गर्ने र घण्टी बजाउँदै हातमा कमलको फूल लिएर हात जोडेर यस्तो मन्त्र उच्चारण गर्नेः

ॐ या श्रीः स्वयं सुकृतिनां भवनेष्वलक्ष्मीः पापात्मनां कृतधियां ह्रदयेषु बुद्धिः।
श्रद्धा सतां कुलजनप्रभवस्य लज्जा तां त्वां नताः स्म परिपालय देवि विश्वम्।।
ॐ महालक्ष्म्यै नमः, मंत्रपुष्पांजलिं समर्पयमि।

मन्त्र पढिसकेपछि फूल लक्ष्मीलाई चढाउने र प्रणाम गर्ने र पुनः हात जोडेर क्षमा प्रार्थना गर्नेः

आवाहनं न जानामि न जानामि विसर्जनम्। पूजां चैव न जानामि क्षमस्व परमेश्वरि।।
यत्पूजितं मया देवि परिपूर्णं तदस्तु मे।। सरजिजनिलये सरोजहस्ते धनलतरांशुकगंधमाल्यशोभे।
भगवति हरिवल्वभे मनोज्ञे त्रिभुवनभूतिकरि प्रसीद मह्यम्।।

यसपछि पुनः प्रमाण गरेर

ॐ अनेन यथाशक्त्यर्चनेन श्रीमहालक्ष्मीः प्रसीदतु।

भन्दै जल चढाउने। ब्राम्हण एवं गुरूजनलाई प्रणाम गरेर चरणामृत तथा प्रसाद लिने।

पूजाको विसर्जन

चामल लिएर गणेश, लक्ष्मी र अन्य देवीदेउतालाई चढाउँदै मन्त्र भन्नेः

यान्तु देवगणाः सर्वे पूजामादाय मामकीम्। इष्टकामसमृद्धयर्थं पुनरागमनाय च।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?