आज सूर्यग्रहण, यि राशी भएकाले हेर्न नहुने

तस्बिर : सामाजिक सञ्जाल

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । आज दिउँसो सूर्यग्रहण लाग्दैछ । दिउँसो ४ बजेर ५२ मिनेटदेखि झण्डै ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

दिउँसो लाग्ने खण्डग्रास सूर्यग्रहण पहाडी र खुल्ला क्षेत्रबाट मात्रै देखिन्छ । खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यको केही भाग मात्र छेकेको देखिन्छ ।

नांगो आँखाले भने ग्रहण हेर्न नहुने सोसाइटीका अध्यक्ष सुरेश भट्टराइले बताउनुभयो । विशेष किसिमको चस्मा लगाएर वा पानीमा छायाँ पारेर हेर्न सकिने उहाँले बताउनुभयो । समथर भूभागबाट ग्रहण देख्न कठिन हुने सोसाइटीले जनाएको छ ।

कतिपयले सूर्यग्रहणका कारण लक्ष्मी पूजा आजका लागि सरेको बताएपनि त्यो सत्य नभएको नेपाल पंचाङ्ग निर्णायक समितिका सदस्य देवमणी भट्टराईले बताउनुभयो ।

तिहारमा औंसीको घडीमा प्रदोष समय भेटिएको बेला लक्ष्मी पूजा मनाउने शास्त्रीय मान्यता अनुसार आजै लक्ष्मी पूजा मनाउन लागिएको उहाँले बताउनुभयो ।

यस वर्ष चतुर्दशी सकिएर औंसीको घडी कुकुर तिहारको दिन अर्थात् सोमबार परेकाले लक्ष्मी पूजा पनि आजै गर्न लागिएको हो ।

धार्मिक मान्यता अनुसार ग्रहण लागेको बेला खान नहुने धारणा रहेपनि विज्ञान अनुसार ग्रहणका बेला खाना खाँदा कुनै असर नगर्ने विज्ञहरू बताउँछन् ।

शास्त्रीय मान्यताअनुसार कात्तिक ८ गते बिहान ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको जनाएको छ ।

वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रालय विकास समितिले दिएको जानकारी अनुसार  काठमाडौंबाट ३६ मिनेट, पोखराबाट ४२ मिनेट, भद्रपुरबाट २१ मिनेट, जनकपुरबाट ३२ मिनेट र महेन्द्रनगरबाट एक घण्टा २ मिनेटसम्म अवलोकन गर्न सकिने छ।

नेपालको सबै भागबाट केही क्षणका लागि सूर्यास्तको समयमा पश्चिम(दक्षिण पश्चिम भागमा अवलोकन गर्न सकिनेछ।

नेपालबाट सूर्यास्तको समयमा सूर्य क्षितिजबाट लगभग ७ देखि १३ डिग्रीको उचाइ कोणमा सूर्य अवस्थित हुँदा सूर्य ग्रहण पूर्ण अवधिसम्म अवलोकन गर्न सकिदैंन र सूर्य सूर्यास्ततिर अग्रसर हुन जान्छ।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाँया पृथ्वीमा पर्न गई सूर्य ग्रहण हुन जान्छ।

सूर्य ग्रहण केवल चन्द्रमाको ‘न्यून मून फेजमा मात्र लाग्न सम्भव हुन्छ। खण्डग्रास, खग्रास तथा वलयाकार सूर्य ग्रहण विभिन्न खगोलीय अवस्थामा निर्भर गर्दछ।

सामान्यतया व्याख्या गर्दा सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएर पृथ्वीमा पर्ने सूर्यको प्रकाशलाई पूर्ण वा आंशिक रूपमा छेकेमा अर्थात् चन्द्रमाको छायाँ पृथ्वीमा पर्न गएमा छायाँ परेको स्थानमा सूर्य ग्रहण लाग्न जान्छ।

सूर्य ग्रहण खग्रास, खण्डग्रास वा बलयाकारको हुन सक्दछ। पृथ्वीको एक स्थानमा खग्रास सूर्य ग्रहण लागेपछि साधारणतया उक्त स्थानमा पुनः ३७५ वर्ष पछिमात्र लाग्दछ ।

चन्द्रमाको त्रिज्या पृथ्वीभन्दा धेरै सानो भएकाले चन्द्र र सूर्य गोलाहरूमा बाहिर स्पर्शरेखाद्वारा निर्मित शंकु छायाँ (कोन सेडो) भित्र पृथ्वी पूर्ण रूपले नपर्ने हुँदा पृथ्वीको केही निश्चित भागबाट मात्र सूर्यग्रहण अवलोकन गर्न सकिन्छ ।

चन्द्रमाले सूर्यबाट आएको सम्पूर्ण प्रकाशलाई छेक्नाले पृथ्वीमा सघन छायाँ पर्न गई पृथ्वीको उक्त भागमा अवस्थित व्यक्तिहरूले खग्रास सूर्यग्रहण अवलोकन गर्न सक्दछ।

चन्द्रमाले सूर्यको केही भागलाई मात्र छेक्ने स्थानमा अवस्थित व्यक्तिहरूले केवल खण्डग्रास सूर्यग्रहण मात्र अवलोकन गर्ने अवसर प्राप्त गर्दछन्।

समितिले प्रकाशन गरेको विसं २०७९ को राष्ट्रिय पञ्चाङ्गमा उल्लेख भएअनुसार कात्तिक ८ गतेको ग्रहण फलअनुसार मेष राशि भएकालाई स्त्रीपीडा, वृष राशि भएकालाई सुख, मिथुन राशि भएकालाई चिन्ता, कर्कट राशि भएकालाई व्यथा र सिंह राशि भएकालाई श्रीप्राप्तिको योग रहेको छ ।

यसैगरी कन्या राशि भएकालाई क्षति, तुला राशिलाई घात, वृश्चिक राशिलाई व्यय, धनु राशिलाई लाभ र मकर राशिलाई सुखको फल रहेको छ । कुम्भ राशि भएकालाई माननाश र मीन राशि भएकालाई कष्टको योग रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?