यसरी हेर्न सकिन्छ ग्रहण, शास्त्रले यि कुरा गर्न बञ्चित गरेको छ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छायाँ पृथ्वीमा पर्न गई सूर्य ग्रहण लाग्ने गर्दछ । खगोलविदहरूले यो एकदमै दुर्लभ खगोलीय घटना भएको बताउँछन् ।

चन्द्रग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन भने सूर्य ग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्ने हुन्छ । मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ ।

मानिसको आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायीरुपमा नै नष्ट हुन गई मानिस आँखा विग्रीन सक्ने सम्भावना हुँन्छ । त्यसैले सूर्यग्रहणका वेलामा नांगो आखाँले कदापि हेर्न हुँदैन ।

विशेष प्रकारको गाढा प्रकारको धातु लेपन भएको चस्माले मात्र ग्रहण अवलोकन गर्न सकिने छ । अन्य चस्माबाट ग्रहण हेर्नु खतरा हुने बताइएको छ ।

सूर्य ग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर कदापि पनि अवलोकन गर्नु हुँदैन ।

यसो गरेमा आँखा सदाका लागि बिग्रिने सम्भावना रहन्छ । साथै एक्स–रे प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिबिम्बलाई अवलोकन गर्नु हुँदैन ।

कीर्तिपुरस्थित बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले सूर्यग्रहणको प्रत्यक्ष अवलोकनको व्यवस्था मिलाएको जनाएको छ ।

त्यस्तै सूर्यग्रहण हेर्न चाहने जो कोहीलाई तक्षशिला एष्ट्रोनोमिकल क्लबले सामाखुशीस्थित तक्षशिला कलेजको छतबाट ग्रहण हेर्ने व्यवस्था मिलाएको जनाएको हो ।

ज्योतिष शास्त्रमा ग्रहणको समय अशुभ मानिन्छ । ग्रहणको समयमा धेरै कामहरु गर्न निषेध गरिएको छ । जस्तै : कैँचीको प्रयोग, फलफूल टिप्नु, कपडा धुनु, दाँत माझ्नु, गाइभैँसी दुहुनु, भोजन गर्नु, सहवास गर्नु, यात्रा गर्नु, सुत्नु, रुख काट्नु आदि जस्ता कार्य ग्रहणको समयमा गर्नु हुँदैन । गर्भवती महिलाले त झन् आराम गर्नुपर्दछ र ग्रहण हेर्नु हुँदैन । ग्रहण हेरेमा गर्भको बच्चामा नकारात्मक प्रभाव पर्ने बताइन्छ । वैज्ञानिक अनुसन्धानअनुसार पनि ग्रहणको समयमा वातावरणमा नकारात्मक ऊर्जा प्रवाह हुन्छ । जसका कारण नराम्रा कीटाणुहरुको सङ्ख्या धेरै बढ्छ । त्यसकारण भोजन नगरी बस्न सक्नेहरुले ग्रहणको समयमा भोजन नगर्नु नै राम्रो हुन्छ ।

ग्रहणको समय अगाडि नै पाकेका सामग्रीहरुमा तुलसी पत्र र कुश राख्नाले ग्रहणको समयमा निस्किने किटाणुहरुको प्रभाव निकै कम पर्दछ भन्ने पूर्वीय ग्रन्थहरुको मान्यता छ । पूर्वीय धर्मग्रन्थहरु मत्स्य पुराण, नारद पुराण, भागवत, वेद आदिमा ग्रहणको निकै चर्चा गरिएको पाइन्छ । यसरी हाम्रो ज्योतिषीय मान्यता र आधुनिक वैज्ञानिक मान्यतामा भाषागत फरक भए पनि निचोड भने एकै किसिमको आएको देखिन्छ । यो समयमा कुनै पनि विशेष काम नगर्नु भन्ने नै दुवै सिद्धान्तको निचोड हो । दुवै विषयका ज्ञाताहरुको लागि ग्रहण विशेष अनुसन्धानको समय पनि हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?