शास्त्रीय मान्यता अनुसार ग्रहण लागेको बेला के-के गर्नु हुँदैन ?

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । मंगलबार दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण बेलुका ५ बजेर २४ मिनेटमा मोक्ष हुने बताइएको छ ।

कात्तिक कुष्ण औंसीको दिन लाग्ने यो ग्रहणलाई चमत्कारी ग्रहण पनि मानिएको छ । नेपालमा ५ बजेर ५२ मिनेटमा सकिने ग्रहण अन्य देशमा भने साँझ साढे ७ बजेसम्म रहनेछ ।

सूर्य ग्रहणको सूतक १२ घण्टा अगाडिबाटै बार्नुपर्ने भएकाले मंगलबार बिहान ४ बजेर ५२ मिनेटदेखि कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान नहुने शास्त्रीय मान्यता रहेको छ ।

ग्रहण लागेको सूर्यलाई नाङ्गो आँखाले हेर्नु पनि थोरै समयको लागि सिफारिस गरिएको छैन। जब चन्द्रमाले सूर्यको अधिकांश भागलाई रोक्छ, यसले अझै पनि आँखालाई स्थायी रूपमा क्षति पुर्‍याउँछ र अन्धोपनको परिणाम दिन्छ।

अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्यकर्म गर्नुहुन्छ ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुँगुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णय सिन्धु, हेमाद्रि, काल माधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

विसं २०७९ को राष्ट्रिय पञ्चाङ्गम्मा उल्लेख भएअनुसार कात्तिक ८ गतेको ग्रहण फलअनुसार मेष राशि भएकालाई स्त्री पीडा, वृष राशिकालाई सुख, मिथुन राशिकालाई चिन्ता, कर्कट राशि भएकालाई व्यथा र सिंह राशि भएकालाई श्रीप्राप्तिको योग रहेको छ ।

यसै गरी कन्या राशि भएकालाई क्षति, तुला राशिलाई घात, वृश्चिक राशिलाई व्यय, धनु राशिलाई लाभ र मकर राशिलाई सुखको फल रहेको छ । कुम्भ राशिकालाई माननाश र मीन राशि भएकालाई कष्टको योग रहेको छ ।

ग्रहणको १२ घण्टाको अन्तरालमा बालक, वृद्धवृद्धा र अशक्त, बिरामीहरुले भने अन्न खान मिल्नेछ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यानलगायतका साधना गरेमा शुभ हुने धार्मिक विश्वास छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?