च्याम्पियन्स लिग फुटबल : चेल्सी नकआउट चरणमा, पीएसजी अन्तिम १६ मा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

समूह चरण अन्तर्गत मंगलबार राति आरबी साल्जबर्गलाई २-१ गोल अन्तरले हराउँदै चेल्सी नकआउट चरणमा पुगेको हो । चेल्सीको जितमा माटियो कोभासिस र काइ हार्भट्जले एक एक गोल गरे ।

साल्जबर्गका जुनियर एडामुले एक गोल फर्काए । खेलको २३ औं मिनेटमा कोभासिसले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।

४८ औं मिनेटमा जुनियरले गोल गर्दै साल्जबर्गलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ६४ औं मिनेटमा हार्भट्जले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।

जितसँगै समूह ‘ई’ को चेल्सीले ५ खेलमा १० अंक जोडेको छ । चेल्सी समूहको शीर्ष स्थानमा रहेको छ । साल्जबर्ग ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।यता, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । समूह चरण अन्तर्गत मंगलबार राति मक्काबी हाइफालाई ७-२ गोल अन्तरले हराउँदै पीएसजी नकआउट चरणमा पुगेको हो ।

पीएसजीको फराकिलो जितमा लियोनल मेस्सी र केलियन एमबाप्पेले दुई/दुई गोल गरे । खेलको १९ औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।

३२ औं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको ३५ औं मिनेटमा नेयमारले गोल गर्दा पीएसजीको अग्रता तेब्बर बन्यो ।

३८ औं मिनेटमा अब्दुलाए सिकले गोल गर्दै हाइफालाई ३(१ को स्थितिमा ल्याए । खेलको ४४ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा पीएसजी ४-१ ले अघि रह्यो ।

५० औं मिनेटमा अब्दुलाएले व्यक्तिगत दोस्रो गोल गर्दै हाइफालाई ४-२ को स्थितिमा ल्याए । खेलको ६४ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ५-२ को अग्रता दिलाए ।

खेलको ६७ औं मिनेटमा सिङ गोल्डबर्गले आत्मघाती गोल गरेपछि पीएसजी ६-२ ले अघि रह्यो । त्यसपछि खेलको ८४ औं मिनेटमा कार्लोस सोलेरले गोल गर्दै पीएसजीलाई ७-२ को जित दिलाए ।

जितसँगै समूह ‘एच’ को पीएसजीले ५ खेलमा ११ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ । हाइफा ३ अंक जोडेर पुछारमा रहेको छ । यस समूहबाट बेन्फिका पनि नकआउट चरणमा पुगेको छ । बेन्फिकाले ५ खेलमा ११ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?