रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज दिनभर खुल्ने

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला गरिएको छ ।

भाइटीकाका अवसरमा आज बिहानैदेखि मन्दिर खोलिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । मन्दिर खुलेसँगै दर्शन गर्न आउने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ ।

भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाई रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् । रानीपोखरी क्षेत्रमा विसं २०६३ पछि छठ पर्व पनि मनाउने गरिएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि भने छठ मनाउन बन्द गरिएको थियो ।

भूकम्पपछि भाइटीकाका अवसरमा पनि रानीपोखरी खुला गरेर मन्दिर क्षेत्रमा पूजा आराधना र दर्शन गर्ने व्यवस्था मिलाउने गरिएको थियो । त्यसबेला पूजा आराधना एवं दर्शन गर्न असहज भएको भक्तजनले गुनासो गरेका थिए ।

भूकम्पले क्षतिग्रस्त मन्दिर विसं २०७७ पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनलाई सहज भएको छ । यसवर्षदेखि छठमा पनि रानीपोखरीमा कार्यक्रम गर्ने माग भएकाले खुला गर्ने गरी तयारी गरिएको महानगरपालिकाले जनाएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?