च्याम्पियन्स लिग फुटबल : बार्सिलोना बाहिरियो, लिभरपुल नकआउट चरणमा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरण अन्तर्गत बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३(० ले पराजित भएपछि बार्सिलोना बाहिरिएको हो ।

बार्सिलोना घरेलु मैदानमै बायर्नसँग स्तब्ध भएको हो । खेलको दशौं मिनेटमा साडियो मानेले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

खेलको ३१ औं मिनेटमा चुपो मोटिङले गोल गर्दा बायर्नको अग्रता २-० को बन्यो । त्यसपछि खेलको इन्जुरी समयमा बेन्जामिन पाभर्डले गोल गर्दै बायर्नलाई ३-० को जित दिलाए ।

यस जितसँगै बायर्नले ५ खेलमा १५ अंक जोडेको छ । बायर्न समूह ‘सी’ को शीर्ष स्थानमा रहेको छ । बायर्नले यस अघि नै नकआउट चरणमा स्थान पक्का गरेको थियो ।

बार्सिलोना ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यस समूहबाट इन्टर मिलानले पनि नकआउट चरणमा स्थान बनाएको छ ।

इंग्लिस क्लब लिभरपुल भने च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । समूह चरण अन्तर्गत बुधबार राति डच क्लब आयाक्सलाई ३-० ले हराउँदै लिभरपुल नकआउट चरणमा पुगेको हो ।

लिभरपुललाई जित दिलाउन मोहमद सलाह, डार्विन नुनेज र हार्भे इलियटले एक एक गोल गरे । खेलको ४२ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।

४९ औं मिनेटमा नुनेजले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ५२ औं मिनेटमा इलियटले गोल गर्दै लिभरपुललाई ३-० को जित दिलाए ।

जितसँगै लिभरपुलले ५ खेलमा १२ अंक जोडेको छ । लिभरपुल समूह ‘ए’ को दोस्रो स्थानमा रहेको छ । आयाक्स ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

यता, इटालियन क्लब नापोली पनि च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरण अन्तर्गत बुधबार राति रेन्जर्सलाई ३-० ले हराएर नापोलीले अन्तिम १६ को यात्रा तय गरेको हो ।

नापोलीको जितमा जियोभानी सिमोनले दुई गोल गरे । लियो स्किरीले एक गोल थपे । खेलको ११ औं मिनेटमा सिमोनले गोल गर्दै टोलीको लागि गोलको खाता खोलेका थिए ।

सिमोनले १६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा नापोलीको अग्रता दोब्बर बन्यो । त्यसपछि खेलको ८० औं मिनेटमा लियोले गोल गर्दै नापोलीलाई ३-० को जित दिलाए ।

जितसँगै नापोलीले ५ खेलमा १५ अंक जोडेको छ । नापोली समूह ए को शीर्ष स्थानमा रहेको छ । रेन्जर्स अंक विहीन रहदै पुछारमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?