स्याङ्जामा हेवीवेट गुरुङ र अर्यालबीचको प्रतिस्पर्धा रोचक बन्दै

हिमालय टाइम्स
Read Time = 12 mins

-युवराज पौडेल

स्याङ्जा । स्याङ्जामा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्यालबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । स्याङ्जाको क्षेत्र नं २ मा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट गुरुङ र एमालेको तर्फबाट अर्याल मैदानमा उत्रिनुभएको हो ।

स्याङ्जाको अर्जुनचौपारी स्थायी घर हुनुभएका गुरुङ विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा प्रवेश गर्नुभएको हो । उहाँको घर क्षेत्र नं १ मा परे तापनि उहाँले २ बाट उम्मेदवारी दिनुभएको छ । क्षेत्र नं १ मा कांग्रेसका लोकप्रिय युवा नेता राजु थापाले इच्छा देखाएपछि उहाँ बाध्य भएर २ मा उठेको बताइन्छ ।

गुरुङ २०६४ साल र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा समानुपातिक सांसद भइसक्नुभएको छ । संविधान बनाउने कुरामा उहाँले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो। १२ औँ र १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएका गुरुङ कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय उपसभापतिमा निर्वाचित हुनुभयो ।

२०४८ सालको आम निर्वाचनमा कांग्रेसका नेता स्वर्गीय रुद्रमान गुरुङसँग चुनावी अभियानमा सँगै जिल्ला दौडाहामा निक्लनुभएका गुरुङ त्यसपछि केन्द्रीय राजनीतिमै रमाउनुभयो । संविधानसभामा जातीय संगठन ‘ककस‘ को प्रभाव तीव्र हुँदा पनि उहाँले जातीय मुद्दालाई मात्र लिएर कहिल्यै हिँड्नुभएन। उहाँ स्पष्ट रुपमा आफ्ना कुरा राख्न सक्ने नेताका रुपमा परिचित हुनुहुन्छ ।

केही समय यतादेखि उहाँ भ्रष्टाचार विरोधी अभियानमा सबैभन्दा खरो रुपमा उत्रिने गर्नुभएको छ । उहाँले आफ्ना चुनावी भाषणहरूमा भ्रष्ट्राचारका विरुद्धमा बोल्दै आउनुभएको छ । भाषणमा आदर्श र मूल्यका कुरा गरिरहने गुरुङले यसभन्दा अगाडि प्रत्यक्ष चुनाव भने लड्नुभएको थिएन । तर यतिबेला पार्टीको केन्द्रीय उपसभापति बन्दै गर्दा सम्भावना बोकेको राष्ट्रिय नेताका रुपमा गुरुङलाई जनताबाट प्रत्यक्ष अनुमोदित हुनुपर्ने बाध्यता थियो जसका कारण उहाँ चुनावी मैदानमा उत्रिनुभएको हो ।

गुरुङ काठमाडौंमा मात्र बस्ने तर गाउँमा कहिल्यै नफर्कने, जिल्ला र गाउँको संगठन बलियो बनाउन ध्यान नदिएको, कार्यकर्ताको संरक्षण गर्न नसकेको, स्याङ्जाको विकास निर्माणमा कुनै ध्यान नदिएको भन्दै स्वयम् कांग्रेस कार्यकर्ताले समेत उहाँको आलोचना गर्दै आएका छन् । सामाजिक सञ्जाल तथा मिडियामा भ्रष्टाचारको विरोध गर्ने तथा आदर्श र नैतिकताका कुरा गरे पनि भुँइ तहका कार्यकर्ता र जनतासँगको सम्बन्धमा ध्यान दिन नसक्ने नेता भन्दै उहाँको आलोचना हुने गरेको छ । भीआइपीहरूलाई राज्यले दिने गरेको रातो पासपोर्टको दुरुपयोग गरेको आरोप पनि उहाँलाई विरोधीहरूले लगाउने गरेका छन् ।

यति भएर पनि गुरुङ केन्द्रीय स्तरका राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने प्रखर नेता हुनुहुन्छ । अहिलेसम्म मन्त्री नभएकाले उहाँको भनाइ र गराइ कस्तो हुन्छ भन्ने कुरा जनताले टेस्ट गर्न पाएका छैनन् । उहाँले सिद्धार्थ राजमार्गको स्तरोन्नति, कृषि क्याम्पसको स्थापना लगायतका विषयमा आफूले ध्यान दिएको बताउने गर्नुभएको छ ।

गुरुङकी प्रतिस्पर्धी पद्माकुमारी अर्याल पनि विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा क्रियाशील हुनुभएकी जुधारु महिलाका रुपमा चिनिनुहुन्छ। २०६९ सालमा नेकपा एमालेकी केन्द्रीय सदस्य हुनुभएकी अर्याल दोस्रो संविधानसभामा समानुपातिक सभासद् हुनुभएको थियो ।

नेकपा एमालेको इतिहासमा पहिलो महिला जिल्ला अध्यक्ष हुने सौभाग्य पाउनुभएकी अर्यालले २०७४ सालको आम निर्वाचनमा कांग्रैस उपसभापति तथा वाहलवाला मन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेपछि एकाएक राष्ट्रिय राजनीतिमा उदाउनुभएको हो ।

देशभरि केपी शर्मा ओलीको राष्ट्रवादी नाराको प्रभाव तथा माओवादीसँगको चुनावी तालमेलको कारण २०७४ सालको निर्वाचनमा पद्माकुमारी अर्याल निर्वाचित हुनुभयो । श्रेष्ठले ३१ हजार ४३६ मत ल्याउँदा अर्यालले ३५ हजार १४२ मत प्रापत गरी ३ हजार ७०६ मतान्तरले श्रेष्ठलाई पराजित गर्नुभएको थियो । कांग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठलाई हराएपछि अर्यालले राजनीतिमा आजसम्म पछाडि फर्केर हेर्नुपरेको छैन ।

श्रेष्ठलाई पराजित गरेर चर्चा बटुल्नुभएकी अर्याल ‌अध्यक्ष केपी ओलीद्वारा रुचाइएकी पात्र हो । त्यसैका कारण उहाँले ओली क्याबिनेटमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीका रुपमा जिम्मेवारी पाउनुभयो । त्यसपछि संसद विघटनमा ओलीसँग असहमति जनाउँदै घनश्याम भुसालले कृषि मन्त्रीबाट राजीनामा दिएपछि उक्त स्थानमा ओलीले उहाँलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रीका रुपमा नियुक्त गर्नुभयो ।

दुई वटा मन्त्रालयको जिम्मेवारीमा रहँदा उहाँले कतिपय सकारात्मक काम पनि गर्नुभयो । सगरमाथाको उचाइ नाप्ने काम गनुृभयो। लिपुलेकसहितको नक्सा छापेर पनि चर्चामा आउनुभयो । माटोको डिजिटल नक्साङ्कन, किसानको परिचयपत्र, नमुना मालपोतको अवधारणा जस्ता काममा सक्रियता देखाउनुभएको थियो।

अर्यालको मन्त्रीकाल विवादरहित भने हुन सकेन । उहाँ भूमिसुधार तथा मालपोत मन्त्री हुँदा विचौलियासँग मिलेर जग्गाको कित्ताकाँट फुकाएको, भूमाफियासँगको चलखेल गरेर भ्रष्टाचार गरेको आरोप उहाँमाथि छ । झापाको गिरिबन्धु टि स्ट्रेट जग्गा खरिद प्रकरणमा सेटिङ मिलाएर भ्रष्टाचार गरेको आरोप उहाँमाथि विरोधीहरूले लगाउने गरेका छन् ।

मन्त्री हुँदा जनताको पक्षमा काम गर्न नसकेको, पार्टीभित्र गुटबन्दी गरेको, एमालेका हिजो दुख गरेका नेतालाई पाखा लगाएर माओवादीबाट आएका नेतालाई अगाडि बढाएको भन्दै पार्टीभित्र पनि उहाँप्रति असन्तुष्टि छ ।

क्षेत्र नं २ मा २०७४ सालको निर्वाचनमा एमालेले जित हासिल गरेको थियो भने स्थानीय निर्वाचनमा अधिकांश पालिका तथा वडाहरूमा कांग्रेसले विजय हासिल गरेको थियो । गत स्थानीय निर्वाचनमा चापाकोट, गल्याङमा कांग्रेसले मेयर र उपमेयरसहित विजय हासिल गरेको थियो । वालिङमा मेयरमा दिलिप प्रताप खाँडलाई नेकपा एमालेका कृष्ण खाँडले पराजित गर्नुभएको थियो । पार्टीको आन्तरिक गुटका कारण मेयरका रुपमा देशभरि ख्याति पाउनुभएका दिलिप प्रतापले हारेको भन्ने कांग्रेस वृत्तमा विश्लेषण हुने गरेको छ । अर्याल र गुरुङको क्षेत्र कालीगण्डकी गाउँपालिकामा तुलनात्मक रुपमा एमालेको प्रभाव बढी देखिन्छ भने चापाकोट र भीरकोटमा कांग्रेस बलियो छ । वालिङ र गल्याङमा दुवैको कडा प्रतिस्पर्धा छ ।

गत स्थानीय चुनावको मतलाई आधार मान्ने हो भने क्षेत्र नं २ मा कांग्रेस एमालेभन्दा अगाडि छ । यस क्षेत्रमा गत स्थानीय निर्वाचनमा कांग्रैस वडाध्यक्षहरूको मत ३६ हजार ८०६ छ भने एमालेका वडाध्यक्षहरूको मत ३४ हजार ८०९ छ । त्यस्तै २०७४ सालमा एमालेका साथमा नेकपा माओवादी केन्द्र थियो र माओवादीका भोट पनि एमालेमै समाहित थिए भने अहिले माओवादी काङ्ग्रेस समीकरणमा रहेको स्थिति छ । यस क्षेत्रमा माधव नेपालको नेकपा एसको मत खासै प्रभाव पार्ने स्तरमा छैन ।

क्षेत्र नं २ मा रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ पनि चुनावी मैदानमा हुनुहुन्छ । उहाँले निर्णायक मत ल्याउन नसके पनि हराउने भूमिकाका मतमा उहाँले पनि प्रभाव पार्न सक्ने देखिन्छ । त्यस्तै हालसालै मात्र कांग्रैस परित्याग गरी राप्रपाबाट उम्मेदवारी दिनुभएका लालगोपाल अर्यालले कांग्रेस वा एमाले कसका बढी मत काट्नुहुन्छ त्यसले पनि धेरैथोरै प्रभाव पार्न सक्ने विश्लेषण भइरहेको छ ।

यसरी हेर्दा कडा प्रतिस्पर्धाका बीचमा गुरुङ वा अर्याल कसले बाजी मार्छ अहिले नै अनुमान गर्न सकिने स्थिति छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?