छठघाटको प्रवेशद्वारमा उम्मेदवारको फोटोसहितको शुभकामना सन्देश राख्न नपाइने

हिमालय टाइम्स
Read Time = 11 mins

काठमाडौं । निर्वाचन आयोगले छठ पर्वको घाट निर्माण गर्दा प्रवेशद्वारमा राजनीतिक दलको नाम र मत चिन्ह उल्लेख नगरी उम्मेदवारको फोटोसहितको शुभकामना सन्देश राख्न नपाइने बताएको छ।

निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि सञ्चालनमा ल्याएको निःशुल्क कल सेन्टरमा आएका अधिकांश गुनासा र जिज्ञासाको सम्बोधन गर्ने क्रममा उक्त कुरा बताएको हो।

निर्वाचन आयोग भन्छ, “निर्वाचन आचारसंहिता बमोजिम छठ पर्वको घाट निर्माण गर्दा प्रवेशद्वारमा उम्मेदवारको फोटोसहितको शुभकामना सन्देश राख्न पाइँदैन।”

निर्वाचन आयोगका अनुसार, गत असोज २८ गतेदेखि सञ्चालनमा आएको सो कल सेन्टर सेवामा कात्तिक ७ गतेसम्ममा आएका कुल एक हजार पाँच सय दुई कलमध्ये एक हजार एक सय ९७ वटा कल रिसिभ भई एक हजार २५ वटा कलबाट आएका जिज्ञासालाई समाधान गरिएको छ। सो अवधिमा १७२ वटा कल मिस्ड भएका थिए भने ३०५ वटा भ्वाइस मेल आएका थिए। उक्त अवधिमा आएका मुख्य मुख्य जिज्ञासा र निर्वाचन आयोगले दिएको उत्तर यस्तो छः

१. स्थानीय तहका गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधिहरूले दलको चुनाव प्रचारप्रसार गर्न पाउँछन् कि पाउँदैनन् ?
आफू निर्वाचित भएको पालिकाबाहेक अन्यत्र पाउँछन् तर त्यसरी अन्य पालिकामा प्रचारप्रसारमा जाँदा सरकारी स्रोत साधनको प्रयोग गर्न निर्वाचन आचारसंहिता, २०७९ ले रोक लगाएको छ।

२. कार्यपालिकाको निर्णयानुसार करारमा कार्यरत कर्मचारीहरूको म्याद थप गर्न मिल्छ कि मिल्दैन ?
नयाँ कर्मचारीलाई करारमा भर्ना गर्न मिल्दैन तर साविकमा कार्यरत करारका कर्मचारीहरूको म्याद थप्न आचारसंहिताले बाधा मानेको छैन।

३. आयोगले मिडियालाई अनुगमन गर्न सेना र प्रहरीलाई प्रयोग गरेको हो ?
होइन, सञ्चारमाध्यमका सामग्रीमा आचारसंहिता उलंघन भएरनभएको विषयमा अनुगमन प्रेस काउन्सिल नेपाल मार्फत हुने गर्दछ।

४. आधिकारिक र वास्तविक मतपत्रको नमूना आयोगले कहिले उपलब्ध गराउँछ ?
आयोगले वास्तविक मतपत्रको नमूना क्रमशः आयोगको धभदकष्तभ मार्फत सार्वजनिक गर्दै गइरहेको छ। त्यसका लागि https://election.gov.np/लिंकमा गई हेर्न सकिनेछ।

५. आगामी निर्वाचनमा मतपत्र कतिवटा हुन्छ र रंग कस्तो हुन्छ ?
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा रहेका आफूले इच्छाएको निर्वाचन चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचनको लागि सेतो पृष्ठभूमिमा रातो रंगको निर्वाचन चिन्ह र विवरण भएको मतपत्र तथा प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा कालो रंगको निर्वाचन चिन्ह र विवरण भएको मतपत्र हुनेछ।

६. आगामी निर्वाचनमा कसरी मत दिने हो ?
सर्वप्रथम प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि रातो रंगको निर्वाचन चिन्ह र विवरण भएको मतपत्रमा मतदान गरी १ नं. को मतपेटिकामा मतपत्र खसाल्नुपर्दछ। प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचनतर्फको कालो रंगको निर्वाचन चिन्ह र विवरण भएको मतपत्रमा मतदान गरी मतपेटिका नं. २ मा मत खसाल्ने, तत्पश्चात प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि रातो रंगको निर्वाचन चिन्ह र विवरण भएको मतपत्रमा मतदान गरी ३ नं। को मतपेटिकामा मतपत्र खसाल्ने र अन्त्यमा प्रदेशसभा सदस्य निर्वाचनतर्फ समानुपातिक निर्वाचनतर्फका लागि कालो रंगको निर्वाचन चिन्हर विवरण भएको मतपत्रमा मतदान गरी मतपेटिका नं. ४ मा मतपत्र खसाल्नुपर्दछ।

७. मतपत्रमा निर्वाचन चिन्ह, क्रम र लहर केका आधारमा तय गरिन्छ ?
वि. सं. २०७४ को निर्वाचनमा समानुपातिकतर्फ पहिलो हुने दलको मत चिन्ह अगाडी राखी दोश्रो, तेश्रो हुने दलहरूको क्रमशः निर्वाचन चिन्ह राखिन्छ। तत्पश्चात् दल दर्ताको क्रमानुसार र स्वतन्त्र उम्मेदवारहरूको हकमा उम्मेदवारको नामको वर्णानुक्रमानुसार निर्वाचन चिन्ह राखिन्छ।

८.आफ्नो क्षेत्रको प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारहरूको नामावली कहाँबाट कसरी हेर्न सकिन्छ ?

मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा तथा निर्वाचन आयोगको वेभसाइटबाट हेर्न सकिनेछ।

९. विभिन्न संघसंस्थाहरूले निर्वाचनमा मतदाता शिक्षा कार्यक्रमहरू सञ्चालन गर्न पाउँछन् कि पाउँदैनन् ?
निर्वाचनमा त्यस्ता संस्थाहरूबाट मतदाता शिक्षा सञ्चालन गर्न पाइन्छ तर कुनैपनि राजनीतिक दल, उम्मेदवार वा कुनै खास निर्वाचन चिन्ह लक्षित प्रचारप्रसार नगरी बदर मत कम गराउने नियतका साथ मतदाता सचेतना कार्यक्रम गर्नुपर्छ। आयोगको पूर्व स्वीकृति लिएमा सोका लागि आवश्यक सामग्री समेत उपलब्ध हुन सक्दछ।

१०. आयोगबाट उम्मेदवारहरूको मोबाइल नम्बर उपलब्ध गराउन मिल्छ कि मिल्दैन ?
उम्मेदवारको व्यक्तिगत मोबाइल नम्बर दिन मिल्दैन।

११.आयोगबाट मतदाता शिक्षाअन्तर्गत नमूना मतदानका लागि मतपेटिका उपलब्ध गराइन्छ कि गराइँदैन ?
मतदाता शिक्षा प्रयोजनार्थ ७५३ वटै पालिकाले नमूना मतदानको लागि मतपेटिका प्राप्त गर्दछन्।

१२. विगत वर्षहरूदेखि हाम्रो दलले दशैं तिहारमा चियापन गर्ने परम्परा छ। यसपाली यसैबीचमा निर्वाचन परेकोले आचारसंहिता विपरीत हुन्छ कि हुँदैन ?
कुनै राजनीतिक दलको झण्डा, निर्वाचन चिन्ह, उम्मेदवारको तस्विर अंकित पर्चा, पोष्टर, ब्यानरहरू नराखी सामान्य ढंगले चियापान गर्न बाधा छैन।

१३. टोल सुधार समितिहरूले फुटबल प्रतियोगिता आयोजना गर्न पाउने कि नपाउने ? उम्मेदवारबाट उद्घाटन गर्न मिल्ने कि नमिल्ने ? सार्वजनिक संस्था वा क्लबको तर्फबाट ज्येष्ठ नागरिकलाई सम्मान गर्ने योजनारकार्यक्रम र कुनै पनि राजनीतिक दललाई सम्बद्ध नगरी सम्मान कार्यक्रम गर्न मिल्छ कि मिल्दैन ?
पूर्व निर्धारित प्रतियोगिता आयोजना गर्न बाधा नपर्ने तर कुनै राजनीतिक दलको नेता तथा उम्मेदवारले उद्घाटन गर्न मिल्दैन। त्यसरी सम्मान कार्यक्रम आयोजना गर्न बाधा छैन तर कुनै राजनीतिक दलको उम्मेदवार सहभागी हुन हुँदैन।

१४. पत्रकारहरूले मतदान केन्द्रमा स्थलगत रिपोर्टिङ गर्न कसको अनुमति लिनुपर्छ ?
सम्बन्धित मतदान अधिकृतबाट तोकिएको स्थानसम्मका लागि अनुमति पाउन सकिनेछ।

१५.मतपत्रमा निर्वाचन चिन्ह, क्रम र लहर केका आधारमा तय गरिन्छ ?
वि. सं. २०७४ को निर्वाचनमा समानुपातिकतर्फ पहिलो हुने दलको मत चिन्ह अगाडी राखी दोश्रो, तेश्रो हुने दलहरूको क्रमशः निर्वाचन चिन्ह राखिन्छ। तत्पश्चात् दल दर्ताको क्रमानुसार र स्वतन्त्र उम्मेदवारहरूको हकमा उम्मेदवारको नामको वर्णानुक्रमानुसार निर्वाचन चिन्ह राखिन्छ।

१६. निर्वाचन खर्चको विवरण पेश गर्ने फारामको ढाँचा वा नमूना आयोगले निर्धारण गरेको छ ?
छ, आयोगको वेभसाइटमा हेर्न सकिनेछ।

 

 

  • श्रोत :आइएनएस-स्वतन्त्र समाचार

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?