चाडपर्व र इतिहासलाई संरक्षण र संवर्द्धन गर्नुपर्छः अध्यक्ष ओली

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरुको हातबाट भाईटीका लगाउनुभएको छ ।

बिहीवार भाईटीकाको अवसरमा शुभ साईतमा उहाँले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोईराला र विष्णुकुमारी पौडेलको हातबाट भाईटीका लगाउनुभएको हो । ओलीले बालकोटामा भाईटीकाको शुभसाईत ११ बजेर ३७ मिनेटमा आफ्ना बहिनीहरुबाट भाईटीका ग्रहण गर्नुभयो । त्यस अवसरमा उहाँले बहिनीहरुले दिएका भाइमसला ग्रहण गर्दै बहिनीहरुलाई पनि सप्तरंगी टीका लगाई दिनुभएको थियो । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा वास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ ।

भाई तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदिबहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायुको कामना गर्ने गरिन्छ । टीका ग्रहणपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त प्रतिक्रियाका क्रममा अध्यक्ष ओलीले भाईटीकाले दिदिबहिनीहरुसँग मिल्ने अवसर जुटाएको बताउनु भयो ।

उहाँले हरेक चाडपर्वहरुको महत्व फरकफरक हुने भन्दै चाडपर्वहरुको संरक्षण र संवद्धर्न गर्न जरुरी रहेको बताउनु भयो । उहाँले हजारौँ वर्ष लगाएर संरक्षण गरिएका चाडपर्व र इतिहासहरुलाई सबै नेपालीहरुले संरक्षित गर्नु र संवद्धर्न गर्नु अहिलेको आवश्यक्ता भएको बताउनु भयो । उहाँले आजको समय किंवदन्तीको नभइ, तथ्य र तथ्यांकको भएकाले चाडपर्वमा रहेका कमजोर पक्षहरुलाई हटाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा चाढपर्व अत्यन्त महत्वपूर्ण छन् । मलाई पनि विभिन्न ठाउँबाट मेरा दिदिबहिनीहरु आएर टीका लगाइदिनुभएको छ । मैले पनि टीका लगाइदिएको छु । आज भाईटीकाको दिन हुँदैन थियो भने दिदिबहिनीहरुसँग यस्तो भेटघाट हुँदैन थियो । यो भेटघाट भाईटीकाको कारणले सम्भव छ । चाडहरु विशेष अर्थ र महत्वका हुन्छन् । यो पनि विशेष अर्थ र महत्वको छ । यिनीहरुको संरक्षण र सही अर्थको सदुपयोग गर्न जरुरी छ । हाम्रो संस्कृति, सभ्याता इतिहास संरक्षण गर्न जरुरी छ । हजारौँ वर्ष लगाएर संरक्षण गरिएका चाड,पर्व इतिहासहरुलाई हामीले संरक्षित गर्नु र संवद्धर्न गर्न जरुरी छ । कमजोर पक्ष छन् भने हटाउन जरुरी छ । आजको जमाना किंवदन्तीको होइन, डेटाको हो । तथ्य, तथ्यांक, प्रमाण, तर्कको जमाना हो, अन्धविश्वासको होइन । त्यसैले हामी तथ्यमा र विश्वासमा जान चाहन्छौँ । हामीले कुनैपनि कुरालाई तथ्यसंगत अघि बढाउन जरुरी छ ।’

अध्यक्ष ओलीले नेपाली चाडपर्वहरु महत्वपूर्ण र विशेषताहरुले भरिएको भन्दै यसको संरक्षणमा जुट्न पनि आह्वान गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?