छठ पर्वले बन्धुत्वको भावना बलियो बनाउन मद्धत पुगोस् : राष्ट्रपति भण्डारी

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिको पूजा गरिने छठ पर्वका माध्यमबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताउनुभएको छ ।

छठ पर्व, २०७९ को शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘प्रकृतिको पूजा गरिने यस पर्वका माध्यमबाट भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी सद्‍भाव‚ सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने मैले विश्वास लिएको छु ।’

छठ पर्वले समाजमा विद्यमान जातीय‚ लैङ्गिकलगायत सबै प्रकारका विभेद र विसंगतिको अन्त्य गरी न्यायपूर्ण‚ समतामूलक‚ सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि अग्रसर हुन पनि सबैलाई प्रेरणा प्रदान गरोस् भन्दै उहाँले कामना गर्नुभएको छ ।

खासगरी नेपालको तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल काठमाडौं उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लामा समेत सूर्य देवता र छठी माताको पूजा अर्चना गर्दै मनाउन थालिएको छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास रहेको छ ।

विनाभेदभाव सम्पूर्ण प्राणीलाई समान शक्ति, ताप र प्रकाश दिने सूर्यको महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर यो चाड मनाइन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?