अलपत्र परेको सेतीदोभान पुल आठ वर्षमा सञ्चालन, स्थानीय खुसी

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

-युवराज पौडेल

स्याङ्जा । स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका वडा नं ५ र वडा नं ६ जोड्ने आँधीखाेला सेतीदोभान सडक मोटरेबल पुल ८ वर्षपछि निर्माण सम्पन्न भएको छ ।

दुई वर्षमा सम्पन्न हुने भनेको आँधीखोला सेतीदोभान मोटरेबल पुल ८ वर्ष सम्म पनि निर्माण नहुँदा आँधीखोला गाउँपालिका वडा नं ५ र ६ का बासिन्दाहरुलाई कठिनाई भइरहेको थियो । नेपालकै पहिलो ग्रामीण पर्यटकीय गाउँ सिरुबारी जाने यात्रुहरुलाई समेत समस्या परिरहेको थियो ।

उक्त पुलको ठेक्का सम्झौता २०७१-६-२६ मा भएको थियो । सम्झौता अनुसार २ वर्षभित्रमा काम सम्पन्न गर्नुपर्नेमा ८ वर्ष हुँदा पनि पुल निर्माण हुन नसकेपछि सरोकारवालाहरुलाई स्थानीय राजनैतिक दलका नेता, स्थानीय बासिन्दा, सचेत युवाहरुले विभिन्न तरिकाले आवाज उठाएर दबाब दिएका थिए । ४० मिटर लम्बाइ र सात मिटर चौडाइ क्षेत्रफलमा बनाउने गरी ठेक्का सम्झौता भएको उक्त सेतीदोभान पुलको ठेक्का सम्झौता आशेष जेभी कास्कीले लिएको थियो ।

उक्त पुलका मूल ठेकेदार पूर्णबहादुर तामाङ (कान्छाराम) र सहायक ठेकेदार ऋषिराम गौतम हुन् । तामाङ रामेछापका नेपाली काङ्ग्रेसका नेता हुन् भने गौतम नेकपा एमाले कास्कीका नेता हुन् । काम समयमै सम्पन्न हुन नसकेपछि स्थानीय जनता आक्रोसित भएका थिए । सडक डिभिजनले ठेकेदारलाई ठेकेदार कम्पनीले सडक डिभिजनलाई ढिलाइको दोष लगाउँदै काम रोकिने गरेको थियो ।

यसैबिच स्याङ्जामा प्रमुख जिल्ला अधिकारीका रुपमा आउनुभएका राजु पौडेलले उक्त अलपत्र पुलको विषयमा चासो देखाउनुभएको थियो । उहाँको पहलमा पुल अलपत्र पार्ने सडक डिभिजन र ठेकेदार कम्पनीलाई बोलाएर काम अगाडि बढाउन पटक पटक निर्देशन र दबाब दिएपछि मात्र रोकिएको काम अगाडि बढेको थियो ।

ठेकेदारले दुई वर्षमा सकिनुपर्ने पुल ७ वर्षसम्म पनि अलपत्र पारेपछि युथ अफ आँधीखोलाका युवाहरुले ‘ठेकेदार हराएको सूचना’ भन्दै ठेकेदार खोजिदिन सामाजिक सञ्जालमा अभियान नै चलाएका थिए ।

यतिबेला पुल निर्माण भएर लोड टेस्ट पनि सकिएको छ । सेतीदोभान, निबुवाबोट, फापरथुम, पातीखोला, भुद्रुमपोला, बेझाङ, माझु, पञ्चमुल, सिरुबारी, दरौँ लगायतका स्थानका जनता पुल निर्माणसँगै खुसी देखिएका छन् ।

आँधीखोला १ पञ्चमूलका रत्नबहादुर तमु भन्नुहुन्छ, ‘पुल बन्दैन कि भन्ने चिन्ता धेरै थियो । तर पुल बनेकोमा हामी धेरै खुसी भएका छौँ । अब हाम्रो होमस्टेमा आउने पाहुनाहरुलाई खोलाको चिन्ता भएन ।’

त्यस्तै आँधीखोला ६ निबुबावोटका टीकाराम ढकालले भन्नुभयो, ‘पुल अलपत्र पर्दा कति दिन त राति निद्रा पनि लागेन । इन्जिनियर र ठेकेदारसँग कतिपटक झगडा पनि गरियो । जेहोस् सबैको जोडबलले ढिलो भए पनि पुल बन्यो । खुसीको सीमा नै छैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?