चुनावी प्रचारमा हिँडेको स्कारपियोको ठक्करबाट युवकको मृत्यु, एक बालक घाइते

Read Time = 2 mins

सर्लाही । दक्षिणी सीमावर्ती क्षेत्रस्थित सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा आज दिउँसो चुनावी प्रचारप्रसारमा हिँडेको स्कारपियोले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

पूर्व–पश्चिम हुलाकी सडक अन्तर्गत ब्रह्मपुरी गाउँपालिकास्थित सखुअवा र भेल्हीको बीचमा नम्वर खुल्न नसकेको स्कारपियोले ज १० प १३०८ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भारतको सीतामढी जिल्ला बसतपुर घर भएका २२ वर्षीय नेक महम्मदको मृत्यु भएको हो । महम्मदलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका मलङ्गवा नगरपालिका–९, निवासी १२ वर्षीय असलम सफी गम्भीर घाइते हुनुभएको छ । उहाँको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार चलिरहेको छ । गम्भीर घाइते असलम मोटरसाइकलको पछाडि सवार हुनुहुन्थ्यो । दुर्घटनापछि स्कारपियो फरार रहेको छ । फरार स्कारपियो र त्यसका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय श्रेष्ठले जानकारी दिनुभयो ।

प्रत्यक्षदर्शीका अनुसार दुर्घटनामा परेको उक्त स्कारपियोमा माओवादी केन्द्र पार्टीको झण्डा लगाइएको थियो । सो स्कारपियो सर्लाही क्षेत्र नं. २ बाट माओवादी केन्द्रको चुनाव चिन्ह लिइ चुनावी मैदानमा उत्रनुभएका महिन्द्रराय यादवको प्रचारप्रसारमा हिँडेको आशङ्का गरिएको छ । प्रहरीले भने यस कुराको पुष्टी हुन बाँकी रहेको जनाएको छ ।
देख्नेहरुका अनुसार मोटरसाइकललाई ठक्कर दिनासाथ स्कारपियो तीव्र गतिमा दौडाइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?