शतप्रतिशत साझा उम्मेदवार उठाउन सत्ता गठबन्धन असफल

केही निर्वाचन क्षेत्रमा गठबन्धनका दलबीच नै प्रतिस्पर्धा

अनिल क्षेत्री
Read Time = 12 mins

-अनिल क्षेत्री

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनबीच गत साउन २० गते नै आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा देशभर चुनावी तालमेल गर्ने औपचारिक सहमति भएको थियो । तर, सिट बाँडफाँटको क्रममा सत्तारूढ पाँच दलीय गठबन्धनमा फुट आयो । गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) सिट बाँडफाँटमा असन्तुष्ट रहँदै गठबन्धनबाट नै बाहिरियो । सत्ता गठबन्धनबाट बाहिरिएको जसपा अहिले नेकपा एमालेले नेतृत्व गरिरहेको विपक्षी गठबन्धनमा सहभागी भएको छ । सत्ता गठबन्धनबाट जसपा बाहिरिएसँगै उसको क्षेत्रीय प्रतिस्पर्धी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनमा सामेल भएको छ ।

त्यसो त जसपा बाहिरिएपछि बाँकी रहेका सत्ता गठबन्धनका दलहरू पनि पूर्ववत् घोषणाअनुसार सबै निर्वाचन क्षेत्रमा गठबन्धन गर्न असफल भएका छन् । पाँच दलीय सत्ता गठबन्धन दलहरूबीच नै आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनका क्रममा केही क्षेत्रमा प्रतिस्पर्धा हुने भएको छ । खासगरी दुई वर्षसम्म गठबन्धनमा रहेको जनता समाजवादीले छाडेर नेकपा एमालेसँग तालमेल गर्न पुगेपछि यस्तो अवस्थामा उत्पन्न भएको गठबन्धनकै कतिपय नेताहरूको जिकिर छ । जसपाले गठबन्धन छाडेपछि भित्रिएको महन्थ ठाकुर नेतृत्वको लोसपालाई पनि अटाएर लैजाने क्रममा केही निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारहरूबीच नै प्रतिस्पर्धाको अवस्था आएको हो ।

सत्ता गठबन्धनका दलहरूबीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र भागबण्डा भए पनि ११ स्थानमा भने प्रतिस्पर्धा हुने भएको छ । जसअनुसार सत्ता गठबन्धनकै दलहरूबाट दुईजनाको उम्मेदवारी परेपछि प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ नौ स्थानमा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णयमा गठबन्धन पुगेको छ । सत्तारूढ दलका शीर्ष नेताहरूले शुक्रबार सार्वजनिक गरेको सूचीमा पनि उक्त कुरा उल्लेख छ ।

सत्ता गठबन्धनका दलहरूबीच नै प्रतिस्पर्धा हुने प्रतिनिधिसभा क्षेत्र

सत्ता गठबन्धनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा प्रतिस्पर्धाको समझदारी गरेका छन् । नेपाली कांग्रेसका राजन केसीसँग माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य अञ्जना विसंखेले यो ठाउँमा प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । माओवादीले दाबी गरेको यो ठाउँमा यसअघि पुष्पकमल दाहाललाई हराउनुभएका राजन केसीलाई पछि हटाउन कांग्रेस मानेन ।

अञ्जनाले माओवादी अध्यक्ष दाहालकै सहमतिमा यो क्षेत्रमा उम्मेदवारी दर्ता गराएको बताइएको छ । दाहालले नै दिएको टिकट लिएरै मनोनयन गर्नुभएकी अञ्जनाको उम्मेदवारी कायम भएपछि यहाँ सत्ता गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको छ । त्यसैगरी, जसपाले सत्ता गठबन्धन छाडेपछि भित्रिएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पनि सत्ता गठबन्धनकै उम्मेद्वारसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । सर्लाही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवलाई समर्थन गर्ने निर्णय लिएपछि जसपाको स्थानमा लोसपा बालुवाटार छिरे पनि धनुषाबाट सर्लाही फर्किनुभएका महतोले सत्ता गठबन्धनसँगै प्रतिस्पर्धा गर्नुपर्ने भएको हो ।

प्रदेशसभातर्फ प्रतिस्पर्धा हुने क्षेत्र

सत्तारूढ दलका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने प्रदेशसभा क्षेत्रहरूमा कञ्चनपुर–२ ‘ख’, कञ्चनपुर–३ ‘क’, काठमाडौं–३ ‘ख’, काठमाडौं–५ ‘ख’, काठमाडौं–६‘ख’, काठमाडौं–१० ‘क’, पर्सा–३ ‘ख’, बारा–१ ‘ख’ र सर्लाही–१ ‘क’ रहेका छन् । यी क्षेत्रमा सत्ता गठबन्धन दलहरूले मित्रवत प्रतिस्पर्धा गर्ने लिखित सहमति गरेर सबैजना उम्मेदवारको सूची नै सार्वजनिक गरेका छन् ।

शुक्रबार सार्वजनिक सत्तारूढ दलका साझा उम्मेदवारहरूको सूचीअनुसार कञ्चनपुर–२ ‘ख’ मा नेपाली कांग्रेसका बहादुर सिंह थापा र नेकपा एकीकृत समाजवादीका लालबहादुर खड्काबीच मित्रवत प्रतिस्पर्धा हुने उल्लेख छ । त्यसैगरी, कञ्चनपुर–३ ‘क’ मा नेकपा एकीकृत समाजवादी पार्टीका प्रकाश रावल र नेकपा माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्टबीच मित्रवत प्रतिस्पर्धा हुने भनिएको छ । काठमाडौं–३ ‘ख’ मा नेपाली कांग्रेसका विमल ठकुरी र माओवादी केन्द्रका महेश्वर फुँयाल, काठमाडौं–५ ‘ख’ मा कांग्रेसका श्यामबहादुर खड्का र एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठबीच मित्रवत प्रतिस्पर्धा गराउने शीर्ष नेताहरूबीच सहमति बनेको छ । यस्तै, काठमाडौं–६ ‘ख’ मा कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले माओवादीका प्रकाश फुँयाल र काठमाडौं–१० ‘क’ मा कांग्रेसका पुकार महर्जनले माओवादीका दिलीप महर्जनसँग मित्रवत प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

सत्ता गठबन्धनका शीर्ष नेताहरूले सार्वजनिक गरेको साझा उम्मेदवारहरूको सूचीअनुसार पर्सा–३ ‘ख’ मा कांग्रेसका जनार्दन सिंह क्षेत्री र एकीकृत समाजवादीका प्रह्लाद गिरी, बारा–१ ‘ख’ मा कांग्रेसका नागेन्द्रप्रसाद र एकीकृत समाजवादीका बतहु यादव तथा सर्लाही–१ ‘क’ माओवादीका रामचन्द्र सिंह कुसवाह र लोसपाका उपेन्द्र महतोबीच मित्रवत प्रतिस्पर्धा हुँदैछ ।

माओवादी केन्द्रको चेतावनी : ‘मित्रवत प्रतिस्पर्धाका नाममा सिट खोस्ने सहमति अमान्य’

सत्ता गठबन्धनले काठमाडौं क्षेत्र नम्बर ३ को प्रदेशसभा क्षेत्र नम्बर २ मा मित्रवत प्रतिस्पर्धा गर्ने भनी जारी गरेको सर्कुलरप्रति नेकपा माओवादी केन्द्रको क्षेत्रीय समितिले आपत्ति जनाएको छ । गठबन्धनका शीर्ष नेताहरूको बैठकले जारी गरेको आधिकारिक उम्मेदवारको सूचीमा काठमाडौं ३ मा प्रतिनिधिसभामा कांग्रेसका सन्तोष चालिसे र प्रदेशसभा १ मा कांग्रेसका छिरिङ दोर्जे लामाको नाम राखिएको छ । त्यस्तै, प्रदेशसभा क्षेत्र २ मा कांग्रेसका विमल ठकुरी र माओवादी केन्द्रका महेश्वर फुँयालबीच मित्रवत प्रतिस्पर्धा गर्ने भनिएको छ । गठबन्धनको सिट बाँडफाँटमा सो क्षेत्र माओवादीको भागमा परे पनि कांग्रेसले ठकुरीलाई उम्मेदवार बनाएपछि दोहोरो उम्मेदवारी परेको हो । नेकपा माओवादी केन्द्रको काठमाडौं क्षेत्र नम्बर ३ क्षेत्रीय कमिटीका इन्चार्जसमेत रहनुभएका प्रदेशसभा उम्मेदवार महेश्वर फुँयालले प्रेसविज्ञप्ति जारी गर्दै कांग्रेसले विमल ठकुरीको उम्मेदवारी निष्क्रिय बनाएर प्रदेशसभा २ मा माओवादी केन्द्रलाई समर्थन जनाए मात्र प्रतिनिधिसभा र प्रदेशसभा १ मा कांग्रेसलाई सघाउन सकिने बताउनुभएको छ । माओवादी केन्द्रबाट प्रतिनिधिसभामा बद्री बजगाई र प्रदेशसभा १ तर्फ कपिलमुनी उप्रेती उम्मेदवार हुनुहुन्छ । गठबन्धनका शीर्ष नेताको बैठकले बजगाई र उप्रेतीको उम्मेदवारीलाई गठबन्धनको लिष्टमा नराखे पनि स्थानीय माओवादी नेतृत्वले मित्रवत प्रतिस्पर्धाका नाममा कांग्रेसलाई छाड्न नसकिने जनाएको छ ।

प्रदेशसभा उम्मेदवार महेश्वर फुँयालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यदि नेपाली कांग्रेसले सहमतिबेगर दर्ता गरेको प्रदेश क्षेत्र (२) को उम्मेदवारी फिर्ता लिन्छ भने माओवादी केन्द्र पनि संघ र प्रदेश (१) को उम्मेदवारी फिर्ता लिन तयार छ । यदि नेपाली कांग्रेसले मित्रवत प्रतिस्पर्धाका नाममा माओवादी केन्द्रको भागमा परेको प्रदेश (२) बाट आफ्नो उमेदवारलाई पूर्ण रूपमा निष्क्रिय गर्दैन हाम्रो तीनवटै सिटको उम्मेदवारी कायम रहनेछ र हामी तीनैजना भोट माग्दै मतदाताबीच सशक्त रूपमा जानेछौँ ।’

प्रभु साह रौतहट ३ मा सत्ता गठबन्धनको साझा उम्मेदवार

सत्ता गठबन्धनले नेकपा एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिनुभएका प्रभु साहलाई आफ्नो आधिकारिक उम्मेदवार तोकेको छ । गठबन्धनको शुक्रबार बसेको बैठकले तय गरेको साझा उम्मेदवारको सूचीमा रौतहट–३ मा प्रभु साहको नाम राखिएको छ । यसअघि माओवादी उम्मेदवार रविन्द्र पटेलले प्रभुको लागि आफ्नो उम्मेदवारी निष्क्रिय पार्न असहमति जनाउनुभएको थियो । तर, गठबन्धनको अन्तिम सूचीमा प्रभु साहको नाम राखेर पटेलको उम्मेदवारी निष्क्रिय बनाइदिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?