छठ पर्वको विशेषता र महत्व

Read Time = 8 mins

✍️ इन्द्रबहादुर शाक्य

बेलुकी साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिने, भोलिपल्ट उदाउँदो सूर्यलाई पूजा गरी मनाउने पर्वलाई छठ पर्व भनिन्छ । उज्यालो सूर्यलाई बेलुकी साँझ अस्ताउँदो सूर्यलाई बिदा दिई मनाउने दिनलाई स्वागत गरी पष्ठीको दिन मनाउने पर्व हो छठ । यो अँध्यारोमा व्रत बसी (रातभरि) भोलिपल्ट उदाउँदो सूर्यलाई स्वागत गरी यो पर्वको समापन गरिन्छ । हाम्रो देशमा कार्तिक शुक्ल पक्ष चर्तुर्थीका दिनदेखि सप्तमीसम्म सूर्य देवताको आराधना, उपासना र पूजा गरेर छठ मनाउने गरिन्छ । चर्तुथीका दिनमा स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । संसारमा प्राचीन कालदेखि सबै धर्मले सूर्यलाई प्रकाशको देवताको प्रतीकका रूपमा मानेको छ । सबै प्राणी सूर्यको प्रकाशबाट अलग हुन सक्दैनन् । त्यसैले देवताहरू पनि यसको किरणबाट अलग हुन सक्दैनन् । देवता, मानवलगायत सबै प्राणीहरू सूर्यबाट अलग हुख्न सक्दैनन् । त्यसैले धर्म शास्त्रानुसार सूर्यलाई पहिलो देवताको रूपमा मानिन्छ । सूर्यबाट नै दिन र रात छुट्टिन्छ । सूर्य उदय भएपछि दिन र अस्ताएपछि रात हुन्छ । प्रकाशमा अथवा उज्यालोमा सबै देखिन्छ । विनाप्रकाश वा उज्यालोले केही देखिँदैन, त्यसैले सूर्यको महत्व बुझेर यसको पूजा गरिरहने हो ।

त्रेतायुगमा राजा जनकले पनि सूर्यलाई पूजा गरी छठ पर्व मनाएको र इच्छाएको काम पूरा गरेको भनेर जनमानसमा चर्चा भएको छ । त्यस्तै सीता माताले पनि पष्ठीको दिनमा व्रत बसी सूर्यको आराधना गरी पूजा गरेर रातभरि जाग्राम बसी छठ पर्व मनाएकी थिइन् ।

संसारमा विभिन्न ठाउँमा विभिन्न धर्मले विभिन्न समयमा सूर्यलाई विभिन्न नामबाट पूजा गर्नेगरेका छन् । युरोपेलीहरू सनबाथ भन्ने गर्दछन् । सूर्यको किरणले स्वास्थ्य राम्रो हुन्छ । प्रकाश वा घाममा बसेर शरीरलाई तेल मालिस गरियो भने दुखाइ पनि हराएर जान्छ । सूर्यको किरणले चिसोबाट जोगाउँछ र तातो प्रदान गर्छ । जाडो महिनामा सूर्यको किरण ताप्न घाममा बसिन्छ । घामले शरीरलाई न्यानो पार्दछ । यो अत्यन्त हितकारी हुन्छ । यी विभिन्न फाइदाले गर्दा सूर्यलाई देवता मानिन्छ ।

नेपालको तराई क्षेत्रमा बस्ने नेपाली महिलाहरू र अरू क्षेत्रमा बस्ने नेपाली महिलाहरूले कार्तिक शुक्ल पक्ष चर्तुथीका दिन नदी, तलाउ वा घरमा स्नान गरी मनाउँछन् । यसलाई ‘नहाय–खाए’ भन्दछन् । यो एक छाक खाएरमात्र लिने व्रत हो । दोस्रो दिन कार्तिक शुक्ल पक्ष पञ्चमीका दिनमा सक्खर हालेर बनाएको खीर, पष्ठी मातालाई चढाई अलिकति व्रतालुबाट प्रसादस्वरूप खाइन्छ, त्यो दिनमा व्रतालुले नुन खाँदैनन् । यो खाने विधिलाई ‘खरना’ भनिन्छ । यो पर्वमा आफ्नै स्वदेशमा तयार भएका हस्तकलाका वस्तु प्रयोग गरिन्छ । जस्तो पूजा सामग्री ढाकी, डाला, माटाका हात्ती, केराको पात, माटाका विभिन्न वस्तु, नैवेधका रूपमा विभिन्न परिकार रोटी तथा फलफूल, केरा, नरिवल, उखु आदि प्रयोग गरिन्छ ।

छठपर्वमा व्रत बस्नेले केही नखाई निराहार उपवास बसी पर्व मनाउँदछन् । पष्ठीका दिनमा जलाशयमा नुहाइधुवाइ गरी साँझ अस्ताउने सूर्यको पूजाआराधना गरी नजिकको जलाशय (पोखरी) मा गएर दियो बत्ती बाली रातभर जाग्राम बस्ने गरिन्छ । भोलि सप्तमीको दिनमा बिहान उदाएको सूर्यलाई अघ्र्य र जल चढाएर सूर्यलाई प्राथना गरी सकेपछि यो पर्व विसर्जन गरिन्छ वा विसर्जन भएको मानिन्छ । यसरी मनाइने पर्वलाई छठ पर्व भनिन्छ । यसलाई छठी माईको रूपमा पनि मानिन्छ । यो पर्व मनाउँदा व्रतालुले सूर्य देवसँग प्रार्थना गरी परिवारको सुख समृद्धि धनलाभ र मनोकामना गरेको तथा दुःख कष्ट रोग व्याधि नास होस् भनेर मनाउने पर्व हो ।

यो पर्वमा छुत, अछुत, जाति भेद धनी गरिब भन्ने विभेदको भावना राखिँएको हुँदैन । यसमा सबै समान छन् । यो पर्व मनाउने ठाउँमा अथवा जलाशय, पोखरी, नदीमा सफासुग्घर गरी सजावट गरी, फूलमाला बत्तीले जलाशय सबै नयाँ दुलहीजस्तै सजाइएको हुन्छ । साथै छठ माताका गीत धुन बजाई आरति गीत गाइन्छ भने कोही नाचिरहेका पनि हुन्छन् । कोही उपासना गरी ध्यान गरिरहन्छन् । यो तराई क्षेत्रमा धुमधामका साथ मनाउँदछन् । त्रेतायुगमा राजा जनकले पनि सूर्यलाई पूजा गरी छठ पर्व मनाएको र इच्छाएको काम पूरा गरेको भनेर जनमानसमा चर्चा भएको छ । त्यस्तै सीता माताले पनि पष्ठीको दिनमा व्रत बसी सूर्यको आराधना गरी पूजा गरेर रातभरि जाग्राम बसी छठ पर्व मनाएकी थिइन् भन्ने कुरालाई आधार मानी मिथिलावासी छठ मनाउँछन् ।

बिहान सूर्यको दर्शन गरियो भने सूर्यको किरण हाम्रो शरीरमा आउँदछ, त्यस कारणले हाम्रो शरीरलाई स्वास्थ्य लाभ हुन्छ । आजकाल यसलाई पनि सूर्य दर्शन भनेरसमेत मान्ने गरिन्छ । उज्यालोविना केही लाभ हुँदैन । अँध्यारो भने कालो हो, यसले केही फाइदा दिँदैन । कालरात्रिलाई मारेर उज्यालोले त्यसमाथि विजय प्राप्त गरिन्छ । छठ पर्व हिन्दू संस्कृतिअनुसार नेपालको पूर्वदेखि पश्चिमसम्म दक्षिण भेगमा रहेका तराईवासीहरू, महिलाहरू यो पर्व नदी, तलाउ, पोखरीअगाडि बसी अस्ताएको सूर्य र उदाउँदो सूर्यको पूजा गरी रातभरि जाग्राम बसी सूर्य देवताको आरधना र व्रत गरेर मनाउँदछन् । यो व्रतमा सुस्वास्थ्य लाभ, दीर्घायु, व्यापार वृद्धि आदिको कामना गरिन्छ । सूर्यविना हामी बाँच्न नसकिने भएकाले सबैले सूर्यलाई देवताको रूपमा मान्दछन् । यो छठ पर्व नेपालको राष्ट्रिय पर्व हो । पर्व नै राष्ट्रको धन हो ।

(शाक्य नेपाल हस्तकला महासंघका पूर्वअध्यक्ष हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?