स्थानीयको व्यवस्थापनपछि मात्रै तिनाउ-दानव करिडोरको काम अघि बढ्छः एमाले उपाध्यक्ष पौडेल

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

-चन्द्रकान्त खनाल

रुपन्देही । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्थानीयको उचित व्यवस्थापन पछि मात्रै तिनाउ-दानव नदी करिडोरको काम अघि बढ्ने बताउनु भएको छ ।

करिडोर निर्माणले नदी आसपासका बासिन्दा घरबार बिहीन हुने भ्रम छरिएको भन्दै उहाँले यस्तो कदापी नहुने बताउनु भयो । पूर्वाधार विकास योजनाका काममा जनतालाई भ्रममा पारेर राजनीति गर्न खोजिएको भन्दै उहाँले राजनीतिक स्वार्थ पूर्तिका लागि जनतालाई हरेक कुरामा आतंकित बनाउनु गलत भएको उल्लेख गर्नु भयो ।

सोमबार बुटवल-११ युद्धनगरमा पार्टी कार्यकर्ताहरुसँगको भेटघाटमा तिनाउ-दानव करिडोर बारे छलफल गर्दै उहाँले विकासका नाममा कसैले पनि घर-बास विहिन हुनु नपर्ने बताउनु भयो ।

जनताका लागि नै सुरु गरिएका महत्वकांक्षी र ठूला विकासका आयोजनाहरुमा गलत ढंगले भ्रम फैलाएर आतंकित पार्ने गरिएको भन्दै पौडेलले जनतालाई असर पर्ने कुनै काम अघि नबढ्ने स्पष्ट पार्नु भयो ।

एमाले उपाध्यक्ष पौडेलले तिनाउ नदी कटान रोकथाम तथा सुरक्षित बसोबासका लागि करिडोर निर्माणको काम अघि बढाइएको स्पष्ट पार्दै कोही जनतालाई पनि घर-बासविहिन नबनाइने बताउदै यहाँको बस्तिलाई व्यवस्थित गरी करिडोर क्षेत्रमा पर्ने घर-परिवारलाई व्यवस्थित ठाउँमा उनीहरुकै चाहना अनुसार व्यवस्थापन गरेर मात्रै करिडोर निर्माण हुनेमा ढुक्क हुन आग्रह गर्नु भयो । ‘यहाँको बस्ति सुरक्षाका लागि नै करिडोर निर्माण गर्न लागिएको हो । बिकासका नाममा जनतालाई आतंकित पार्ने र बिस्थापित गर्ने भन्ने हुँदैन ।’-पौडेलले भन्नुभयो भ्रममा नपर्नुहोस यदी यहाँबाट बस्ती हटाउनु पर्ने भएमा योभन्दा थप व्यवस्थित ठाउँमा तपाईहरुलाई व्यवस्थापन नगरी काम अघि बढ्दैन ।

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले आफ्नो ध्यान खुद्रे योजनाभन्दा समग्र क्षेत्रको एकसाथ बिकास गर्नमा बढि केन्द्रित रहेको उल्लेख गर्नु भयो । रुपन्देहीलाई बिकासको रोलमोडल बनाउनका लागि कुनै पनि हालतमा बजेटको कमी हुन नदिने प्रतिवद्धता जनाउँदै उहाँले यसका लागि आगामी निर्वाचनमा एमालेले जित्नै पर्ने उल्लेख गर्नु भयोे ।

आकाश ओढ्ने र धर्ती बिछ्याउने सबैको प्रतिनिधि भएर काम गर्ने प्रतिवद्धता गर्दै पौडेलले अब आफ्नो ध्यान रोजगार सिर्जना र शिक्षामा हुने बताउनु भयो ।

हरेक घर परिवार तथा युवाहरुलाई रोजगार सिर्जना गर्नका लागि ठूला बिकास आयोजनाहरुको सुरुवात, औद्योगिक क्षेत्रको बिकास, कृषिलाई आधुनिकीकरण तथा प्राविधिक शिक्षालाई जोड दिइने पौडेललेको भनाई छ।

कार्यकर्ताहरुसँगको छलफलमा बोल्दै एमाले पोलिटव्यूरो सदस्य पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ ‘१’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार लिला गिरीले बुटवलको योजनावद्ध बिकासका लागि विगतमा आफू सरकामा हुँदा सुरु गरेका योजनालाई पूर्णता दिन बाँकी नै रहेको उल्लेख गर्नु भयो ।

विगतमा आफूले सुरु गरेका योजनाहरुलाई वर्तमान सरकारले बेवास्ता गरेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले ती योजनाहरु पूरा भएमा यहाँको जनजीवनमा उल्लेख्य परिवर्तन आउने दाबी गर्नु भयो ।

यहाँको पर्यटकीय क्षेत्रको बिकास, खेलकूद क्षेत्रमा पूर्वाधार निर्माण, प्राविधिक शिक्षामा लगानी लगायतका मुद्दाहरु आफ्नो प्राथमिकतामा रहेको उहाँले बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?