खोटाङको प्रदेशसभा ‘ख’ : भुपेन्द्र राई भर्सेस राम दंगाल, यस्तो छ अंक गणित

हिमालय टाइम्स
Read Time = 6 mins

-चिसाङ शेर्पा
खोटाङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत खोटाङको प्रदेशसभा ‘ख’ मा कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । त्यस निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदेश नं. १ का महामन्त्री भूपेन्द्र राई र नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद दंगालको प्रतिस्पर्धा हुदैछ ।

महामन्त्री राई बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार हुन् । दंगाल एमालेको उम्मेदवार हुन् । राई र दंगाललाई मतदाता भेट्न र भोट माग्न भ्याईनभ्याई छ । सामाजिक सञ्जालहरु राई र दंगालका आ–आफ्नो पक्षबाट रंगिएका छन् ।
चुनावी नतिजा राई र दंगाल कतातर्फ जान्छ त्यो भन्न सकिने अवस्था त छैन । तर, २०७९ को स्थानीय तह(चार पालिका अध्यक्षलाई र छ वडाध्यक्षलाई आएको) मत परिणामलाई आधार मान्दा एमाले उम्मेदवार दंगालभन्दा गठबन्धनका उम्मेदवार राई ४ हजार २६१ मतले अघि देखिन्छ ।

स्थानीय तहमा गठबन्धनको चार पालिका अध्यक्ष र छ वडाध्यक्ष गरी १८ हजार २२१ मत आउँदा एमालेको चार पालिका अध्यक्ष र छ वडाध्यक्ष गरी १३ हजार ९६० मत आएको थियो ।
३० बैशाख स्थानीय तहको मत परिणाम अनुसार गठबन्धनसहित बराहपोखरी गाउँपालिका अध्यक्षमा कांग्रेसले ३ हजार १८१ मत ल्याउँदा अध्यक्ष पदमा एमालेले २ हजार ३३० तथा गठबन्धनसहित जन्तेढुंगा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रले २ हजार ८८१ मत ल्याउँदा अध्यक्ष पदमा एमाले २ हजार ५७५ मतमा खुम्चिनु परेको थियो ।

गठबन्धनसहित खोटेहाङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रले ३ हजार ७२८ मत पाउँदा एमालेले ३ हजार ६९० र दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्षमा कांग्रेसले २ हजार १६२, माओवादी केन्द्रले २ हजार ९३, नेकपा एकीकृत समाजवादीले ६० मत ल्याउँदा एमालेले अध्यक्षमा २ हजार ८०३ मत पाएको थियो । दिप्रुङमा गठबन्धन थिएन सबै पार्टीले एकल प्रतिस्पर्धा गरेका थिए । आसन्न प्रदेशसभा निर्वाचनमा दिप्रुङबाट तीनै पार्टीको मत राईलाई आउँनेछ ।

स्थानीय तह निर्वाचनको मत परिणामकै आधारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको छ वडामा गठबन्धनका वडाध्यक्षहरुले ४ हजार ७१ मत पाउँदा एमालेका वडाध्यक्ष उम्मेदवारहरुले २ हजार ५६२ मत पाएका थिए । खाल्ले, लफ्याङ, नेर्पा, बुवालुङ, दोर्पा र निर्मलीडाँडाबाट मात्रै पनि गठबन्धनका उम्मेदवारले १ हजार ५०९ भोट बढी ल्याएको थियो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गत खाल्ले वडाध्यक्षमा कांग्रेसलाई २१५, माओवादी केन्द्रलाई ४७३, नेकपा एसलाई ११ र एमालेलाई ३५८, लफ्याङमा कांग्रेसलाई ३६५, माओवादी केन्द्रलाई १८५, नेकपा एसलाई २८८, एमालेलाई २७३, नेर्पामा कांग्रेसलाई ११७, माओवादी केन्द्रलाई ६०१ र एमालेलाई ५४१ मत आएको थियो ।

यस्तै, दोर्पा ७ मा कांग्रेसलाई ५५८, माओवादी केन्द्रलाई ९०, एमालेलाई ३८०, दोर्पा ८ मा माओवादी केन्द्रलाई ५६८, एमालेलाई ५९७ र निर्मलीडाँडामा कांग्रेसलाई १५४, माओवादी केन्द्रलाई ४३७ तथा एमालेलाई ४१३ मत आएको थियो ।

स्थानीय तहकै आधारमा गठबन्धन र एमालेलाई मत आउने हो भने गठबन्धनका उम्मेदवार अगाडी बढ्ने देखिन्छ । यद्यपी, स्थानीय निर्वाचनमा जसरी मतदाता भोट हाल्न जान्छ्न,जादैनन्÷जिल्ला बाहिरबाट आउँछन्आ/उँदैनन् भन्ने चाँहि महत्वपूर्ण प्रश्न हो ।
गएको स्थानीय निर्वाचनमा भन्दा यो निर्वाचनमा एमालेको मत धेरैले बढ्ने एमालेका उम्मेदवार दंगालले बताउँछन् । अन्य पार्टीबाट नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । जनतामा गठबन्धनप्रति वितृष्णा बढेका कारणले हिजोको मतमा धेरै अन्तर हुनेछ । जित सुनिश्चित छ , दंगालले भन्नुभयो ।

स्थानीय तह निर्वाचनमा भन्दा केही मत तलमाथि भए पनि मत आउने कुरामा कुैन पनि समस्या नभएको गठबन्धनका उम्मेदवार राईले बताउनुभयो । भोट झर्ने कुरामा गठबन्धनमा कुनै समस्या हुंदैन । इमान्दारपूर्वक भोट झर्छ । मैत्रीपूर्ण प्रतिस्पर्धा गरेका ठाउँबाट पनि गठबन्धनलाई भोट झर्छ , राईले भन्नुभयो, भारी मतान्तरले जित निश्चित छ । जित्ने कुरामा कुनै शंका छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?