मतदातामा देखिएन उत्साह

Read Time = 6 mins

गुल्मीे । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश निर्वाचनका लागि स्वतन्त्र र राजनीतिक दलका उम्मेदवारहरु गाउँ–गाउँमा चुनावी प्रचार–प्रसारमा हिडेका छन् । दलका उम्मेदवारहरु र स्वतन्त्र उम्मेदवारहरुले समूह बनाएर गुल्मीका विभिन्न टोलहरुमा पुगेका हुन् ।

दलका नेता तथा कार्यकर्ताहरुमा निकै उत्साह थपिएता पनि आम मतदातामा त्यस्तो उत्साह देखिएको छैन् । विगतमा जस्तो यो पटकको चुनावी चहल–पहलमा मतदातामा उत्साह देखिएको छैन् । चुनावको समयमा मात्र जनताको घरदैलोमा उम्मेदवार, नेता तथा उनीहरुका कार्यकर्ता पुगेको गुनासो गरेका छन् । जिल्लाका अधिकांश मतदाताले उम्मेदवारहरु चुनावको समयमा सबै जनताको घरदैलोमा पुग्ने जनतालाई आश्वासन दिने तर विजयी पश्चात् जनतालाई दिएका ती आश्वासनहरुलाई बिर्सने गरेको बताएका छन् ।

गुल्मीको मदाने गाउँपालिका–१, अग्लुङ्गका धनबहादुर विश्वकर्माले विगतमा जस्तै राजनीतिक दलका उम्मेदवार, नेता तथा कार्यकर्ताहरु चुनावी प्रचार–प्रसारमा हिड्दै विभिन्न आश्वासन दिने तर कहिल्यै पुरा गर्न नसकेको बताउनुभयो । “विगतको निर्वाचनमा पनि उम्मेदवार तथा नेता कार्यकर्ताले जनतासँग भोट माग्दा विभिन्न आश्वासन दिए तर विजयी पश्चात् जनताको घरमा कोही पनि फर्केर आउनु भएन ।” उहाँले भन्नुभयो, “चुनावको समयमा मात्र जनता आवश्यक पर्ने अरु समयमा जनतालाई नखोज्ने, जनताको समस्या समाधानमा कोही पनि लाग्नुभएन् ।” सबै भाषणमा मात्र सीमित भए काम केही पनि नभएको उहाँले गुनासो गनुभयो ।

जिल्लाकै रेसुंगा नगरपालिका–१, पुतलीबजारका चुरामणी पन्थीले चुनाव जितेर गएपछि प्रतिनिधि जनताका सुख, दुःख र हरेक विपत्तिमा मलम लगाउन आउँछन् जस्तो लाग्छ, तर उही निर्वाचन आएपछि मात्रै नेताको तथा प्रतिनिधिहरु अनुहार देख्न पाइने भएको बताउनुभयो । “नेपालमा पछिल्लो समय राजनैतिक दलहरु कुहिरो भित्रको काग जस्तै बनेका छन् ।”उहाँले भन्नुभयो, “अब चुनाव जितेर गएपछि प्रतिनिधिले बेला–बेलामा जनताका समस्या बुझ्न भोट माग्न अहिले गाउँ आए जसरी आउनुपर्छ ।”

तम्घास नयाँबजारका कमल प्रसाद पाण्डेले नेता तथा उम्मेदवारहरुले चुनावको बेला मात्रै जनतासँग भेट्न मात्रै आउने प्रवृतिले जनतामा नैराश्यता छाएको बताउनुभयो । “नेताहरु चुनावका बेला घर–घरमा गएर विकास गर्छौ भनेर जनलाई आश्वासन दिने गरेका छन् । उहाँले भन्नुभयो, “चुनाव जितेर गएपछि पटकै गाउँ फर्केर नआउने चाड–पर्वमा विवाह भएका छोरीबेटी माइत आएजस्तै नेताहरु पनि कहिलेकाँही जिल्लामा आएपनि आफ्ना आसे–पासेलाई मात्रै भेटेर फर्कने गर्दा सर्वसाधारण जनता निराश छन् ।” त्यसो हुँदा यस पटक सर्वसाधारण जनतामा उत्साहि नदेखिएको उहाँले बताउनुभयो ।

त्यस्तै, तम्घास क्याम्सरोडका प्रेमनारायण पन्थी जनताले चुनेका प्रतिनिधिले सुशासन दिन नसकेको बताउनुहुन्छ । “सानो समस्या परेपनि सांसद गुहार्नु पर्छ ।” उहाँले भन्नुभयो, “सर्वसाधारण जनताले भनेको कसैले सुन्दैन् । मौलिक अधिकार सबैलाई समान हुनुपर्ने हो ।” ठुला अस्पतालमा बिरामी भएर जाँदा एउटा बेड पाउन सांसद गुहार्नु पर्छ । अहिले प्रश्न गर्ने बेला आएको पन्थीले बताउनुभयो ।

क्याम्पसरोडकै मोतिप्रसाद खनालले जनप्रतिनिधिहरुले जनताका समस्याहरु बुझ्न नसकेको बताउनुभयो । “हाम्रा सांसदहरु विजयी भएपछि प्रदेश र केन्द्र (काठमाण्डौ) मा जानुहुन्छ । गाउँलाई बिर्सनुहुन्छ ।” उहाँले भन्नुभयो, “प्रत्येक वर्ष संसद सुरु हुनुभन्दा एक महिना पहिले जनतासँग आएर उनीहरुका समस्याहरु बुझ्नुपर्छ जनताबाट समस्या संकलन गरी संसदमा बुलन्द रुपमा प्रस्तुत हुनुपर्छ ।” यसो गरे मात्र जनप्रतिनिधि र जनताको सम्बन्ध प्रगाढ हुने खनालले बताउनुभयो ।

सुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डेले जनताले जति पटक निर्वाचित गरेर प्रतिनिधि पठाए पनि निराशा बाहेक केहि नपाएको बताउनुभयो । “चुनावको समयमा जनतालाई ठुला आश्वासन दिने निर्वाचित भएपछि फर्केर हेदैनन् ।” उहाँले भन्नुभयो, “जुनसुकै निर्वाचनमा पनि एउटै अनुहार मात्र दोहोरी रहने प्रवृतिले जनता दिक्क भएका छन् ।” मतदातामा उत्साह छैन् । निराशा मात्र भरिएको उहाँको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?