बाजुरामा छैनन् एमडिजिपी डाक्टर

हिमालय टाइम्स
Read Time = 5 mins

-मानबहादुर विश्वकर्मा

बाजुरा । जिल्ला अस्पताल बाजुरामा एमडिजिपी डाक्टर नहुँदा समस्या भएको छ । अस्पतालमा एमडिजिपी डाक्टर नहुँदा सामान्य खाले अप्रेसनका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता रहँदै आएको छ । सामान्य घाउदेखि हड्डीको अप्रेसनका लागि पनि जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर कार्कीले बताउनुभयो ।

बाजुरामा एमडिजिपी नभएको तीन वर्ष भयो तर मन्त्रालयले पनि पठाउन नमान्ने गरेको पाइएको छ । एमडिजिपीको अवधारणा दुर्गमका अस्पतालका लागि हो तर दुर्गम जिल्लामा सरकारले पठाउन नै नमान्ने गरेको पाइएको हो ।

बडिमालिका नगरपालिका–१ बस्ने २० वर्षीया सुजाता रोकायालाई अस्पताल बाजुराले केही महिनाअगाडि अस्पतालबाट रेफर ग¥यो । पैसा नभएर उहाँका आफन्तलाई बयलपाटा लिन पनि धेरै सकस भयो । अस्पतालमा एमडिजिपी डाक्टर भएको भए जिल्ला अस्पतालमै उपचार हुने थियो, एमडिजिपी चिकित्सक नहुँदा जिल्लाबाहिर पठाउनुपरेको अस्पतालका एक चिकित्सकले बताउनुभयो ।

सुजातालाई आफन्तले ऋण काढेर बयलपाटा अस्पताल हुँदै काठमाडौं लगेका छन् । जिल्ला अस्पताल बाजुरामा तीन वर्षयता एमडिजिपी चिकित्सक नहुँदा सुजाताजस्तै धेरै बिरामी जिल्लाबाहिर जानुपर्ने बाध्यता रहँदै आएको छ । तीन वर्षपहिला स्वास्थ्य मन्त्रालयको सहकार्यमा निक साइमन्स इन्स्टिच्युटले जिल्ला अस्पताल बाजुरामा एकजनामात्रै एमडिजिपी चिकित्सक डा. दुर्गा महर्जनलाई खटाएको थियो । उहाँ गइसकेपछि नयाँ डाक्टर नआउँदा बाजुरावासीले समस्या भोग्दै आएका छन् ।

सामान्य बिरामीको जाँच तथा अन्यत्र पु¥याएर उपचार गराउनुपर्दा आर्थिक व्ययभार खेप्नुपरेको छ । पहिला जिल्लामा एमडिजिपी हुँुदा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, पाइल्स, हड्डी भाँच्चिएका लगायत अप्रेसन सेवा जिल्ला अस्पतालबाटै प्रदान भइरहेको थियो । तीन वर्षदेखि यो कुनै पनि रोगको जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसकेको अस्पताल स्रोतले बताएको छ ।

भौगोलिक विकटता र स्वास्थ्य सेवाबाट विमुख रहेको बाजुरामा स्वास्थ्य मन्त्रालयले पनि बाजुरा एमडिजिपी डाक्टर पठाउन निकै आनाकानी गर्ने गरेको यहाँका नागरिकको भनाइ छ । बाजुरामा चिकित्सक पठाउन राज्यले पनि चासो नगरेको यहाँका नागरिक अगुवाहरूले बताउँदै आएका छन् ।

जिल्ला अस्पताल बाजुरा प्रदेश सरकारअन्तर्गत भए पनि प्रदेश सरकारले एमडिजिपी पठाउन सकेको छैन । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर कार्कीले जिल्ला अस्पताल बाजुराले कहिल्यै दरबन्दीअनुसार जनशक्ति पाउन नसकेको गुनासो गर्नुभयो । आफूले पटक–पटक माग गर्दा पनि मन्त्रालयले वास्ता नगरेको र बाजुरामा चिकित्सक पठाउन मन्त्रालयले त्यसबारे चासो नदेखाएको कार्कीले बताउनुभयो ।

बाजुरामा विशेषज्ञ डाक्टर नहुँदा सामान्य अप्रेसनका लागिसमेत रिफर गर्नुपर्ने अवस्था छ । अहिले बाढीपहिरोका कारण सडकमार्ग अवरुद्ध हुँदा उद्धारका लागि हेलिकप्टरको विकल्प नभएको उहाँले बताउनुभयो । बाजुरामा तीन वर्षयता दक्ष चिकित्सक नहुँदा बाजुरा राज्यको नजरमा पर्न नसकेको स्थानीयको बुझाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?