दलहरूका घोषणापत्र र प्रतिबद्धता

Read Time = 6 mins
A A- A+

निर्वाचन नजिकिएसँगै दलहरूले आ–आफ्ना दलका घोषणापत्र धमाधम सार्वजनिक गरिरहेका छन् । यो निर्वाचनको प्रतिस्पर्धाको परम्परामा अस्वाभाविक होइन । आफ्नो दलले विजय गरेका खण्डमा आगामी पाँच वर्षमा आफूले तथा आफ्नो दलले यस्ता–यस्ता काम गर्नेछौँ भनेर प्रस्तुत गर्ने प्रतिज्ञापत्र वा प्रतिबद्धतापत्र हो घोषणापत्र । त्यसकारणले गर्दा पनि घोषणापत्र सार्वजनिक गर्ने प्रचलन छ । चुनावी प्रतिस्पर्धामा यो प्रचलनलाई सकारात्मक रूपमा लिनुपर्ने हुन्छ तर हाम्रोमा भने पश्चिमा मुलुकहरूमा जसरी दलहरूका घोषणापत्र हेरेर, त्यसको अध्ययन गरेर र त्यसमा लेखिएका कुरामाथि विश्लेषण गरेर मत दिने प्रचलन छैन । यो न त सबै नेपाली मतदाताहरूको सामथ्र्यको कुरा हो न त उनीहरूले यसो गर्ने नै गरेका छन् । अझै नेपाली मतदाताहरू सबै शिक्षित छैनन् ।

पार्टीहरूले व्यक्त गरेका प्रतिबद्धताहरूका बारेमा पढ्न र त्यसको तुलनात्मक अध्ययन गर्न उनीहरू सबै सक्षम छैनन् । जो जति मतदाता शिक्षित छन् र दलका घोषणापत्रमा लेखिएका कुरा पढ्न सक्छन्, त्यसको व्याख्या विश्लेषण गरी भाव बोध गर्न सक्छन्, तिनमा त्यसप्रति चासो वा रुचि रहेको पाइँदैन । उनीहरूमा दलप्रतिको वितृष्णा छ, जो आए पनि आफूले काम नगरी खान पाइँदैन । जुनसुकै पार्टीले जितोस् वा हारोस् केही फरक पर्दैन भन्ने उनीहरूले ठानेका हुन्छन् । अर्को कुरा के पनि छ भने हाम्रा दलहरूका यसरी घोषणापत्रमा लेखिने प्रतिबद्धता भनेको पूरा गर्नभन्दा तत्कालका लागि मतदाता आकर्षित गर्नमात्र हो ।

ती घोषणापत्रमा लेखिएका कुरा कहिल्यै पूरा भएका छैनन् र अब पनि त्यस्तै त हुने हो नि ! भन्ने आममतदातालाई लाग्ने गरेको छ । अर्कातिर यसरी घोषणपत्रमा लेखिएका कुरा पूरा गर्नका लागि होइनन् जनतालाई देखाउनमात्र हुन् भन्ने कुरा बुझेर नै दलहरूले पूरा गर्न नसकिने श्वैरकाल्पनिक हावादारी कुरा आफ्ना घोषणापत्रमा लेख्ने गरेका छन् । यसपटक पनि मुख्य केही ठूला दलहरूका हालै सार्वजनिक भएका घोषणापत्र हेर्ने हो भने ती घोषणापत्र निर्वाचनमा आफ्नो जित हात पार्नका लागि मात्र हो भन्ने देख्न सकिन्छ । पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएका यस्ता घोषणापत्रमा लेखिएका कुरा पूरा नहुने खालका छन् ।

नयाँ र पहिलोपटक आएका दलहरूका घोषणापत्रमा लेखिएका प्रावधान भए मतदाताको केही न केही विश्वास प्राप्त हुनसक्थ्यो, तर २०४६ सालपछि निरन्तर सरकारमा बसिरहेका वा मूलधारमा आइरहेका पार्टीहरूले सधैँ असम्भव कुरा घोषणापत्रमा लेख्दै आएका छन् वा पूरा गर्न सकिने कुरा भए पनि निर्वाचन जितेर गएपछि तिनलाई पूरा गर्नेतर्फ चासो देखाएका छैनन् । त्यसैले जनतामा पार्टीका घोषणापत्रको अध्ययनप्रति त्यति रुचि छैन । यी कुरालाई उनीहरूले सोचेरै लेखेका हुनसक्लान् तर आममतदाता उनीहरूका यस्ता कुराले कति प्रभावित बन्न सक्लान् ? माथि नै भनियो अधिकांश नेपाली मतदाताहरू पार्टीका घोषणापत्र हेरेर मतदान गर्दैनन् । पार्टी वा नेताहरूका नाम सुनेका भरमा वा आफ्ना कोही नातेदार वा परिवारजनको आग्रहमा मतदान गर्छन् । ८० प्रतिशत भन्दा बढी मतदाता यस प्रकारका छन् ।

तर, यसो भन्दैमा घोषणापत्र जाहेर नगरेको भए पनि हुन्थ्यो भन्ने होइन । केही थोरै मतदाताले घोषणापत्रमा भएका प्रवधान हेर्छन्, पढ्छन् र त्यसका आधारमा मत नदिए त्यसलाई अभिलेख गरेर राख्छन् । अनि ती दलहरूले आगामी पाँच वर्षमा आफ्नो जाहेर प्रतिबद्धताबमोजिम काम गरे÷नगरेको हेर्छन् । त्यसैले दलहरूले आफ्ना दलहरूका पूरा गर्न नसकिने श्वैरकल्पना होइन यथार्थको धरातलमा उभिएर पूरा गर्न सकिने कुरामात्र लेख्नु उचित हुन्थ्यो । र ती प्रतिबद्धता आफ्नो कार्यकालमा पूरा ग¥यौँ भनेर पाँच वर्षे कार्यकालको अन्त्यमा भन्नसक्दा त्यस पार्टीको उचाइ अझै अग्लिएर जानेथियो । नत्र सबैले महसुस गरिरहेकै झैँ दलहरूका यी घोषणापत्रहरू असम्भव आश्वासनका पुलिन्दामात्र हुन् र भोलिका दिनमा यी यस्तै पूरा हुन नसक्ने आश्वास नामका पुलिन्दाकै रूपमा मात्रै रहिरहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?