प्रसिद्ध उग्रतारा मेला यो वर्ष २३ कात्तिकमा लाग्ने

हिमालय टाइम्स
Read Time = 3 mins

-टेकराज अवस्थी

डडेलधुरा । सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिर डडेलधुरामा हरेक वर्ष लाग्ने मेला ‘देहिजात’ कात्तिक २३ गते हुने भएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) मा छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार) बाट देउरो भगवती मन्दिरमा लगिन्छ र दोस्रो दिन (दिँउसेडी) मेला लाग्ने गर्दछ ।

जिल्ला सदरमुकामबाट चार किलोमिटरको दूरीमा रहेको प्रसिद्ध उग्रतारा परिसरमा महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा पूजाअर्चना र दर्शन गर्न लाखौं भक्तजनको घुइँचो लाग्ने गर्दछ । देहिजातका रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौंको संख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिनुभयो ।

किंबदन्तीअनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरूपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास छ । वर्षमा एकपटक र एक दिन भव्यरूपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ति, मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ ।

परिवारजन, इष्टमित्र, साथीसंगी तथा विभिन्न व्यक्तित्वसँगको अपूर्व भेटघाट र दुःखसुख साटासाट गरिने सुदूरपश्चिमको जनजीवन झल्किने यो मेलालाई डडेलधुरावासीले विशेष पर्वका रूपमा पनि मनाउने गर्दछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?