निर्यातका लागि पूर्वाधारलाई तीव्रता दिँदै प्राधिकरण

Read Time = 6 mins

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बढी भएको विद्युत् भारत र बंगलादेशमा निर्यात गर्न थप प्रसारण पूर्वाधार विस्तार गर्ने भएको छ । साथै विद्युत् खपत वृद्धिको सम्भावना रहेका प्रदेश १ अन्तर्गतका सुनसरी, मोरङ र झापा जिल्लालाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउने भएको छ । त्यस्तै, भारत र बंगलादेशमा विद्युत् निर्यातका लागि थप प्रसारणलाइन पूर्वाधारको निर्माण गरिने जनाएको छ ।

प्राधिकरणले उत्पादित विद्युत् आन्तरिकरूपमै खपत बढाउन अल्पकालीन र दीर्घकालीन योजनासहित प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण तथा पूर्वाधार विस्तारलाई अभियानकै रूपमा चलाइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार विद्युत् खपत बढाउन तथा निर्यातका लागि सुनसरी, मोरङ र झापामा आवश्यक पर्ने पूर्वाधारका विषयमा स्थलगत अवलोकन भ्रमण गरी जानकारी लिएको छ ।

टोलीले भारतको पश्चिम बंगाल राज्यबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणको सम्भावना, बंगलादेशतर्फ विद्युत् निर्यातका सबैभन्दा छोटो रुट, प्रसारणलाइन तथा सबस्टेसन निर्माणका लागि उपयुक्त स्थानलगायतको पहिचान गर्न स्थलगत अध्ययन गरेको छ । साथै सुनसरी, मोरङ र झापामा निर्माणाधीन र हाल सञ्चालनमा रहेका विद्युत् प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचनाका विषयमा पनि स्थलगत अध्ययन गरी जानकारी लिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् आपूर्ति भरपर्दो तथा विश्वसनीय बनाउन र बस्ती विस्तार तथा औद्योगिक करिडोर स्थापनाको सम्भावना भएका स्थानलाई लक्षित गरी प्रसारण तथा वितरण पूर्वाधार विस्तार गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दीर्घकालीनरूपमा भारत र बंगलादेशतर्फ विद्युत् निर्यातका लागि भारतको सिलीगुढी, पूर्णिया र किशनगञ्ज बिन्दुहरू नजिक पर्ने देखिएको छ । त्यसैले चार सय केभीको इनरुवा सबस्टेसनबाट हुलाकी राजमार्गको आसपास हुँदै चार सय केभी प्रसारणलाइन निर्माण गरी झापाको अनारमनि क्षेत्रमा चार सय केभी सबस्टेसन बनाएर प्रसारण सञ्जाल विस्तार गर्नुपर्ने देखिएको छ, यो लाइन अत्यावश्यक छ, यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र विश्वसनीय भई खपत बढ्नेछ भने भारत र बंगलादेशमा विद्युत् निर्यातका लागि थप प्रसारण सञ्जाल तयार हुनेछ ।’

घिसिङ नेतृत्वको टोलीले पावर ग्रिड भारतको पश्चिम बंगालको सिलीगुढीस्थित चार सय÷दुई सय २० केभी विनागुढी सबस्टेसनको भ्रमण गरी विद्युत् आयात निर्यातको जानकारी लिएको थियो । सबस्टेसनमा भुटानको ताला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् जोडिएको छ ।

खपत बढाउने अल्पकालीन योजनाअन्तर्गत विद्युत् माग गरेका उद्योगलाई प्रसारण तथा वितरण लाइन सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र निर्माणाधीन आयोजनाको काम जतिसक्दो छिटो सम्पन्न गर्ने प्राधिकरणको रणनीति छ । दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्न सक्ने सम्भावित स्थान पहिचान गर्ने र आन्तरिकरूपमा खपत गरी बढी भएको विद्युत् निर्यातका लागि ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको उच्चस्तरीय टोलीले झापाको ग्वालडुब्बा, मोरङको केरौन, सुनसरीको इनरुवा तथा कुशहामा निर्माणाधीन सबस्टेसन निर्माण प्रगतिका विषयमा आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?