सेयर बजार दोहोरो अंकले बढ्यो

Read Time = 3 mins

काठमाडौं । तिहारपछि सेयर बजार दोहोरो अंकले बढेको छ । तिहारपछिको पहिलो कारोबार दिन सोमबार नेप्से १६.३९ अंकले बढेर १८७४.८७ अंकमा पुगेको छ । कारोबारमा आएका विकास बैंकबाहेक सबै सूचक बढेका छन् । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ४.९३ अंकले बढेर ३७०.८६ अंकमा पुगेको छ । होटल तथा पर्यटनमूलक, अन्य, बैंकिङ र व्यापार उपसमूहगत सूचक एक प्रतिशतभन्दा बढीले बढेका छन् । यस दिन दुई सय २४ कम्पनीका २५ लाख ७४ हजार नौ सय ७५ कित्ता सेयर ६९ करोड ७३ लाख १७ हजार छ सय ११ रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

कारोबार रकमका आधारमा वाणिज्य बैंक समूह अगाडि रहेका छन् । सर्वाधिक कारोबार भएको एनआइसी एसिया बैंकको छ करोड १७ लाख रुपैयाँभन्दा बढी कारोबार भएको छ । एभरेष्ट बैंक चार करोड ३९ लाख, नबिल बैंक तीन करोड ८० लाख, प्रभु बैंक दुई करोड ७६ लाख, शिवम् सिमेन्ट्स एक करोड ६२ लाख, साइन रेसुंगा डेभलपमेन्ट बैंक एक करोड ५६ लाख, नेपाल एसबिआई बैंक एक करोड ५६ लाख, हिमालयन डिष्टिलरी एक करोड ४४ लाख, अरुण काबेली पावर एक करोड ३८ लाख र स्ट्याण्डर्ड चार्टर्ड बैंकको एक करोड २६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

सयपत्री हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल एसबिआई बैंक ८.२४ प्रतिशत, साइन रेसुंगा ७.०७, एनआइसी एसिया बैंक ६.८०, एभरेष्ट बैंक ५.५७, इमर्जिङ नेपाल लिमिटेड ५.३९, मञ्जुश्री फाइनान्स ४.९१, प्रभु बैंक ४.९०, सेन्ट्रल फाइनान्स ४.७३ र स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयरमूल्य ३.७२ प्रतिशतले बढेको छ । तर, अपर हेवाखोलाको सेयरमूल्य भने ८.१६ प्रतिशतले घटेर ३३९.८० रुपैयाँमा झरेको छ । रुरु जलविद्युत्को ६.५८ प्रतिशत, अभियान लघुवित्त ४.७१, नबिल ब्यालेन्स फण्ड–३ को ३.५८, दिव्यश्वरी हाइड्रोपावर ३.५५, कामना सेवा विकास बैंक २.९०, महालक्ष्मी विकास बैंक २.८२, बलेफी हाइड्रोपावर २.७९, पिपुल्स पावर २.७८ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयर पनि २.७३ प्रतिशतले घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?