ढोरपाटनका बाढीपीडित भन्छन्-‘हाम्रो पीडाबुझ्नेलाई भोट’

हिमालय टाइम्स
Read Time = 8 mins

-डम्मर बुढा मगर

बागलुङ । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै बागलुङमा चुनावी सरगर्मी बढेको छ । गाउँदेखि सहरसम्म जताततै उम्मेदवार र राजनीतिक दलका नेता मतदाता रिझाउन ब्यस्त छन् । तर ढोरपाटनका बाढीपीडितलाई कुनै रौनकले छुन सकेको छैन । एक सातायता उनीहरुका घरमा उम्मेदवारहरु विभिन्न आश्वासन देखाएर भोट माग्न पुगि रहेकाछन् ।

तर, यसपटक ढोरपाटनका बाढीपीडितले सजिलै भोट दिने छैनन् । पटक-पटक चुनाव जिताएर पठाएका प्रतिनिधिले आफ्ना लागि केही काम गर्न नसकेपछिउनीहरुले अहिले गरिब दुःखीको पक्षमा काम गर्ने उम्मेदवारलाई भोट दिने योजना बनाएका छन् । बाढीपीडित कुलबहादुर विकभन्नुहुन्छ-“नेताहरु चुनावका बेलामात्रै भोट माग्न आउँछन्, अनेक प्रलोभन देखाउँछन्, धेरै पटक चुनाव जिताएर पठायौँ, हाम्रा लागि भने केही गरेनन्, यस पटक जसले हाम्रो पीडा बुझ्छ उसैलाई भोट दिने छौँ ।”

उहाँले आफूहरु अशिक्षित र दुर्गममा भएका कारण अनेक समस्या सँग झेल्नु परेको भन्दै चुनावका बेला आउने नेताहरुले आशा मात्रै देखाउने तर काम भने नगरेको बताउनुभयो । बाढीले सिङ्गो भूजिखोला वासीलाई घरबास र आफन्त विहीन बनाउँदा पनि आफूहरुले जिताएको प्रतिनिधिले दुखेको घाउमा मलम लगाउन नसकेको विकले गुनासो पोख्नु भयो ।

विकभन्नुहुन्छ-“हामीअनपढ छौँ, दुर्गम गाउँमा छौँ, हाम्रो गाउँ ठाउँमा विकास हुन सकेको छैन, जब चुनाव आउँछ तब नेताहरु दिनरात घरमा आएर धर्ना दिन्छन्, चुनाव सकियो भने फर्किएर पनि आउँदैनन्, दुई वर्ष अगाडि बाढीले हामीलाई घर न घाटको बनायो, आफन्त बगायो, त्यो बेला कोही आएनन्, केहीले त थोरै सहयोग गरे तर नेता हुँ भन्नेले नाकमुख देखाएनन्, अहिले भोट माग्न दिनदिनै आउँछन्, उनीहरुलाई किनहाम्ले भोट दिने ?”

बाढीले विकको घर, जग्गा जमिनसहित २२ वर्षका जेठो छोरो, २१ वर्षकीबुहारी, १८ वर्षकीछोरी र चार वर्षीया नातिनीगरि चार जना बगाएको थियो । आफन्त र भएभरको सम्पत्ति गुमाएपछि विकले ऋणधन घरेर ढोरपाटनमा सानो घर बनाएको भन्दै त्यसको ऋणतिर्न अहिले हम्मेहम्मे भएको बताउनुभयो । विकले विभिन्न संघ संस्थाले सहयोग गरेको दुई लाख रुपैयाँ राहत पाए पनि घर बनाएको अझै चार लाख रुपैयाँ ऋण थुप्रिएको बताउनुभयो ।

“सुरुमा केही समयोग पाएर घर बनाइयो, थप सहयोग पाइन्छ भने पनि अहिलेसम्म पाउन सकिएको छैन, विभिन्न संघ संस्थाले सहयोग गरेको दुई लाख रुपैयाँ त पाईयो, प्रदेश सरकारले दिने भनेको ५० हजार रुपैयाँ आएन, घर बनाउँदा छ लाख ऋण लाग्यो, चार लाख त मेरो काँधमाथि छ, बरु घर बनाएर सानो छाप्रो बनाएर बस्नु पर्ने रैछ,”उहाँले निरास हुँदै भन्नुभयो ।

अर्का बाढीपीडित लिलमाया विकले पनि यसपाली भोट नहाल्ने योजना बनाएको बताउनुहुन्छ । उहाँले भोट हाल्नै परे बाढीपीडितलाई सहयोग गर्ने उम्मेदवारलाई मात्रै हाल्ने बताउनुभयो । आफूहरुलाई नेताहरुले चुनावका बेला भ्रममा पारेर भोट माग्ने गरेको भन्दै अब भ्रममा नपर्ने उहाँको भनाई छ । “यहीलेसम्म मैले धेरै पटक भोट हालेँ, भोट हालेर मैले केही पाएन, गाउँले केही पाउन सकेन, नेतामात्रै बने, गरिब, पीडितको दुःख जहाँको त्यही भयो, अहिले भोट हाल्नै परे बाढीपीडितलाई जसले सहयोग गर्छ, उसैलाई भोट दिने हो ।

बाढीले विकको घरसहित छोरा, बुहारी बगाएको थियो । उहाँले पनि अहिलेसम्म पाउनु पर्ने राहत पुरै पाउन नसकेको गुनासो गर्नुभयो । केही नेताले बाढी आएको बेला राहत दिलाई दिने आश्वासन दिए पनि अहिले सम्म दिन लाउन नसकेको बताउनुभयो । “सरकारले दिने राहत त अहिलेसम्म पाउन सकेका छैनौँ, अरु त झन् हामीलाई कसले दिन्छ र ?, बाढी आएको धेला केही नेता आएर हामी राहत दिलाई दिन्छौँ भनेर आश्वासन दिए तर अहिलेसम्म उनीहरुले दिलाउन सकेनन्” विकले भन्नुभयो ।

बाढीमा जीवन संगीनीसहित तीन सन्तान गुमाउनु भएका निमप्रकाश विकले पनि आफूहरुका माग पूरा गर्ने नेतालाई भोट दिने बताउनुभयो । उहाँले बाढीले भए भरको सम्पत्ति र परिवारका सबै सदस्य बगाएको दुई वर्ष बिति सक्दा पनि कुनै नेताले सहयोग नगरेको दुखेसो गर्नु भयो । उहाँले अहिले दिनदिनै नेताहरु भोट माग्न आएको भन्दै उनीहरुलाई भोट नदिने भनेर फर्काइ दिएको बताउनुभयो ।

“आफ्नो दुःखका बेला कसैले हेर्ने होइन, चुनाव आयो भने घरमा आएर काम गर्नै उछार दिँदैनन्, आफ्नो पीडा एकातिर छ, उनीहरुले बुझ्ने होइन, हाम्रो भोट उनीहरु नेता बन्ने, मन्त्री बन्ने हामीलाई केही न केही,”विकले भन्नुभयो “मैले त घरमा आउने सबैलाई भोट दिन्न भनेर फकाई दिन्छु, केहीले त घर बनाइदिन्छौँ, सहयोग गर्छौँ पनि भन्छन्, चुनाव जितेपछि उही होला पारा ।”

बाढीले विकको श्रीमति, तीन छोरा भए भरको जायजेथा सबै बगाएको थियो । २०७७ भदौ १७ गते भूजीखोलामाआएको बाढीमा परि ३८ बढीकाे ज्यान गएको थयो । २३ जनाको शव फेला परे पनि १५ जना अहिले सम्म वेपत्ता छन् । बाढीले एक सय ३१ घरमा क्षति पुर्‍याएको थियो भने ११ वटा जलविद्युत आयोजनाको गृह तथा नहर, एक स्वास्थ्य इकाई, ११ झोलुङ्गे पुल, ढलानपुल ५ वटा काठेपुल १० र दुई विद्यालय समेत बगाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?