पूर्वसहयात्री छविलाल र घनश्यामबीच रोचक प्रतिष्पर्धा

हिमालय टाइम्स
Read Time = 7 mins

बुटवल । केही समयअघिसम्म एउटै पार्टीमा सहयात्री रहेका एमाले सचिव छविलाल विश्वकर्मा र पूर्वएमाले नेता घनश्याम भुसाल अहिले एकअर्काका प्रतिष्पर्धी हुनुहुन्छ । एउटै पार्टी कमिटीमा काम गरेका उहाँहरू अहिले भने एक अर्काको आलोचनामा सबभन्दा बढी समय बिताउने गर्नुभएकाे छ ।

रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार बन्नुभएका घनश्याम भुसालले एमालेले प्रतिष्पर्धी उम्मेदवार छविलालमाथि तीखो टिप्पणी गर्दै चुनाव प्रचार गरिरहनु भएकाे छ भने विश्वकर्माले भुसालमाथि राजनीतिक चरित्र नभएको र पार्टी छाड्दै हिंड्नेको कुनै विश्वास् नहुने भन्दै मत मागिरहनु भएकाे छ ।

एमालेको नवौं महाधिवेशनबाट घनश्याम भुसाल उपमहासचिवमा निर्वाचित हुँदा छविलाल विश्वकर्मा स्थायी कमिटी सदस्य हुनुहुन्थ्याे । गतवर्ष चितवनमा सम्पन्न १० औं महाधिवेशनमा विश्वकर्मा सचिवमा निर्विरोध निर्वाचित हुनुभयाे भने भुसाल उपाध्यक्षमा पराजित हुनुभयाे । भुसाल पराजित भए पनि स्थायी कमिटीमा पुग्नुभयाे । भुसाल र विश्वकर्माको अर्को संयोग के भने २०६५ सालमा वुटवलमा सम्पन्न एमालेको आठौं महाधिवेशनबाट उहाँहरू दुबैजना पहिलोपटक केन्द्रीय सदस्यमा निर्वाचित भएर सँगै पोलिटब्यूरोमा उक्लिनुभएकाे थियाे ।

एमालेमा लामो समय एउटै कमिटीमा रहेर काम गर्नुभएका विश्वकर्मा अहिले एमालेकाे सचिव हुनुहुन्छ भने भुसालले टिकट नपाएकै कारण एमाले छाडेर गठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएकाे छ । एमालेका विश्वकर्मालाई जनता समाजवादी पार्टी  र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन छ । एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका भुसाललाई सत्तागठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले समर्थन गरेका छन् । भुसाल र विश्वकर्माको रोचक प्रतिस्पर्धा सत्तागठबन्धन र विपक्षी गठबन्धनका कारण थप रोचक बनेको छ ।

पृष्ठभूमि फरक भए पनि एउटै पार्टीबाट राष्ट्रिय राजनीतिमा स्थापित दुई नेता आमनेसामने बन्दा रुपन्देही-१ का मतदाताहरू भने अलमलमा परेका छन् । यही क्षेत्रमा पर्ने देवदहका मतदाता लक्ष्मण न्यौपानेले दुवै नेताका आ-आफ्नै विशेषता भएकाले अलमलमा परेको बताउनुभयाे । 'उहाँहरूबीच कडा प्रतिस्पर्धा कडा हुने देखिन्छ,' उहाँले भन्नुभयाे, 'स्थानीय तह निर्वाचनको गणितले विश्वकर्माको पल्लाभारी देखिन्छ ।'

स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतअनुसार भुसाललाई सघाएको सत्तागठबन्धन भन्दा एमाले, जसपा र राप्रपाको गठबन्धन करिब १० हजार मतले अगाडि छ । रुपन्देही-१ मा देवदह नगरपालिका, तिलोत्तमा नगरपालिकाका ७, ८, ९, १०, ११, १२, १५, १६ र १७ नम्बर वडा, ओमसोतिया र रोहिणी गाउँपालिका पर्छन् ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रुपन्देही-१ बाट माओवादी केन्द्रका घनश्याम यादव निर्वाचित हुनु'भएकाे थियाे । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका अब्दुल रज्जाक विजयी हुनुभएकाे थियाे । त्यसबेला रज्जाकका निकटतम प्रतिद्वन्द्वी छविलाल विश्वकर्मा हुनुहुन्थ्याे । २०७४ मा वामगठबन्धनबाट एमालेका विश्वकर्मा विजयी हुँदा कांग्रेस निकटतम प्रतिद्वन्द्वी थियो ।

यो क्षेत्रमा कांग्रेस बलियो शक्ति मानिन्छ । कांग्रेसबाहेक एमालेबाट आफूलाई ‘क्रस’ हुनसक्ने मत र माओवादी केन्द्रको मतबाट जित निकाल्न भुसाल प्रयत्नरत हुनुहुन्छ। यहीकारण पछिल्लो समय भुसालको सम्बन्ध रुपन्देही-३ बाट उम्मेदवार रहेका कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाणसँग बाक्लिएको छ ।

प्रतिनिधिसभामा कांग्रेसको उम्मेदवार नभएकाले कांग्रेसले पाउने सबै मत आफूतिर तान्न भुसालको प्रमुख जोड छ । मार्क्सवादका व्याख्यामा आफूलाई केन्द्रित गर्दै आएका भुसालले स्थानीय समस्या र कार्यकर्ताको गुनासोलाई ध्यान नदिएको गुनासो छ, त्यसले उहाँलाई चुनौती थप्न सक्छ ।

एमाले उम्मेदवार विश्वकर्मा स्थानीय तह निर्वाचनको मतका आधारमा बलियो देखिए पनि स्थानीय निर्वाचनमा जसपा र राप्रपाले पाएको सबै मत उहाँलाई आउन कठिन छ । भुसाल २०७४ मा रुपन्देही क्षेत्र नम्बर ३ मा एमालेबाट चुनाव लड्डनुभएकाे थियाे । राप्रपाका नेता बोहोरा र भुसालबिच प्रतिस्पर्धा हुँदा भुसालले फराकिलो मतान्तरले जित्नुभएकाे थियाे । भुसालले ३२ हजार ८६६ मत ल्याउँदा बोहराले २७ हजार ४२२ मत पाउनु भएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?