सरकारी सम्पती प्रयोग गरी प्रचारप्रसार गर्दा समानता र स्वच्छता कायम हुँदैनः आयुक्त भण्डारी

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाण्डौं । निर्वाचन आयोगले सरकारी सम्पतीको दुरुपयोग गरी चुनाव प्रचारप्रसार नगर्न सम्बन्धित पक्ष र निकायलाई सचेत गराएको छ ।

निर्वाचन प्रचारप्रसारमा सरकारी साधन स्रोतको दुरुपयोग भएको गुनासो बढीरहेका बेला आयोगले चुनाव प्रचारमा सरकारी सम्पतीको दुरुपयोग साधनश्रोत प्रयोग गरिनु निर्वाचन आचारसंहीता विपरित हुने भन्दै त्यसतर्फ पुनः ध्यानाकर्षण गराएको हो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन प्रचार प्रयोजनका लागि केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका विभिन्न तहमा काम गर्ने व्यक्तिहरुले पदीय हैसियतले प्राप्त गरेका सेवासुविधा प्रयोग गर्न नपाउने बताउनु भयो ।

सरकारी सम्पतीको प्रयोग नगरी निर्वाचन प्रचारप्रसारमा सहभागी हुने बाटो खुला रहेपनि साधनश्रोत प्रयोगलाई आचारसंहीताले रोकेको बताउनु भयो । उहाँले आयोगले पदीय हैसियतमा चुनाव प्रचारप्रसार गर्दा विपक्षी उम्मेदवारहरुको समान हैसियत नहुने भएकाले निर्वाचनमा समानता र स्वच्छता कायम गर्न सरकारी सम्पतीको प्रयोग गर्न आचारसंहीतामा नै रोकिएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘कुनै पालिकाको मेयर कुनै एउटा पार्टीको रहेछ भने उहाँले आफ्नो पालिका भित्र आफ्नो पार्टीको तर्फबाट उम्मेदवारहरुको सन्दर्भलाई लिएर प्रचारप्रसार गर्न पाउनुहुन्न । अन्यत्र जान पाउनुहुन्छ । त्यसरी प्रयोग गर्दा पनि पदीय हैसियतले जोजो सरकारमा आसिन हुनुहुन्छ । केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार जो जो आसिन हुनुहुन्छ, उहाँहरुले पदीय हैसियतले प्राप्त गर्नुभएको जुन सेवासुविधाहरु छन्, त्यो सबै अलग्ग राखेर व्यक्तिगत हिसावले तपाई जान पाउनुहुन्छ । सरकारी सम्पतीको दुरुपयोग गर्न पाइँदैन । सरकारी सम्पती प्रयोग गरेर पार्टीको प्रचारप्रसार गर्न पाइँदैन । किनभने एउटा पार्टीको त्यहाँ निर्वाचित पदाधिकारीको हैसियतले त्यो सम्पतीको दुरुपयोग गर्दा सँगै प्रतिष्पर्धी अर्कोले त्यो सम्पती त प्रयोग गर्न पाउँदैन । त्यसबाट वञ्चित हुन्छ । जसकारण समान र स्वच्छ स्तरको प्रतिष्पर्धा नै हुन सक्दैन । त्यसैले कसैले पनि सरकारी सम्पतीको दुरुपयोग गरेर प्रचारप्रसार गर्न पाउँदैन । सबै पदाधिकारीले सरकारबाट पाउने वा स्थानीय तहबाट पाउने, प्रदेश सरकार, संघीय सरकारबाट पाउने सबै सेवा सुविधा अलग्गै राखेर व्यक्तिगत हैसियतले प्रचारप्रसार गर्न पाउनुहुन्छ । जान सक्नुहुन्छ र सरकारी सम्पतीको दुरुपयोग गरेर प्रचारप्रसार गर्न पाइँदैन ।’

निर्वाचन आयुक्त भण्डारीले हरेक व्यक्तिले निर्वाचन आचारसंहीताभित्र रहेर स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न सहयोग पुर्‍याउने विश्वास आयोगले लिएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?