आकाशिँदो मूल्यले जुम्लाका उपभोक्ता मर्कामा

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । गएको असोज १९ गतेदेखी २५ गतेसम्म परेको अविलर बर्षा र बाढीले कर्णाली राजमार्ग लामो समयसम्म बन्द हुँदा जुम्ला लगायत हिमाली जिल्लाको बजार मूल्य आकाशिएको छ । सडक अवरुद्ध भएको २० दिनपछि मात्र कात्तिक ८ गते मङ्गलबार कर्णाली राजमार्ग खुलेको छ । राजमार्ग त खुलेको छ तर सबै सवारी साधन सहजै आवतजावत हुन सकेका छैनन् । सडकको अवस्था अत्यन्तै जोखिमपूर्ण रहेकाले आवश्यक उपभोग्य समानको आयात सहज बन्न सकेको छैन । अवरुद्ध राजमार्गलाई देखाएर मनोमानी तरिकाले बढाइएको उपभोग्य वस्तुको मूल्य व्यापारीले कायमै राख्दा उपभोक्ता मर्कामा परेका छन । उपभोक्ता चामल, दाल, तेल, चिनी, मैदा लगायत वस्तु महँगोमा मूल्य किन्न बाध्य छन । सडक अवरुद्ध हुनुअघि प्रतिकिलो रु ७० मा पर्ने मैदा यतिबेला प्रतिकिलो रु १६० मा बिक्री हुने गरेको छ ।

रोटी हाल्नका लागि तिहारको मुखमा प्रतिकिलो रु १६० हालेर पनि मैदा किन्न नपाइएको जुम्लाको तिला गाउँपालिका-१ की सुन्देरी पाण्डेले बताउनुभयो । खाना पकाउने ग्यासको मूल्य रु दुई हजार तीन सय पुगेको छ भने खाने तेल प्रतिपोका रु १६० पुर्याइएको छ । बजारमा उपभोग्य वस्तु छोइ नसक्नु अवस्थामा पुगेको छ । मूल्य तेब्बरले बढेको रावतले बताउनुभयो । हिजोका दिनमा खसीको मासु विस्थापित गरेको ब्रोइलर कुखुरा हिमाली जिल्लामा पाइन छोडेको छ । खसीको मूल्य आकाशिँदो छ । ब्रोइलर कुखुराको मासु पाइँदासम्म प्रतिकिलो रु. एक हजारसम्म पर्ने खसीको मासु सडक अवरुद्ध भएसँगै अहिले एक हजार ३०० सम्म पुगेको उपभोक्ता जयशङ्कर धितालले जानकारी दिनुभयो ।

बजारमा सामान अभाव भएर व्यापारी होइन, उपभोक्तालाई ठूलो मर्का परेको छ । व्यापारीले विपद्का कारण अवरुद्ध कर्णाली राजमार्गलाई माध्यम बनाएर रातारात कमाउने अवसर लिइरहेका छन । बजारमा कृत्रिम अभाव देखाएर कालाबजारी गर्ने व्यापारीलाई स्थानीय प्रशासनले कारबाही गर्नेपर्ने यहाँका सरोकारवालाहरु बताउँछन् ।

सवारी साधनमा प्रयोग हुने डिजेल र पेट्रोल अभाव भएको भन्दै गाडी सञ्चालकले रु. २०-२५ प्रतिशत भाडा बढाएका छन । प्रतिकिलो रु ५० पर्ने तरकारी बढेर रु १०० पुगेको छ । मसलाजन्य सबै वस्तुको मूल्य पनि दोब्बरले बढेको उपभोक्ताले बताएका छन । यो समस्या कर्णालीका हुम्ला, डोल्पा, मुगु, जुम्ला लगायत जिल्लामा बढी छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले कर्णाली राजमार्ग खुलि सकेकाले अब बजार पहिलेकै अवस्थामा आउने जानकारी दिनुभयो । उहाँका अनुसार भर्खरै गरेको बजार अनुगमन तथा निरीक्षणका क्रममा म्याद गुज्रेका सामान बरामद गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?