नेपालले युएईसँग क्रिकेट सिरिज खेल्ने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली क्रिकेट टोलीले घरेलु मैदानमा युएईसँग तीन एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेट खेलको सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले युएईसँग खेल्ने तीन सिरिजको मितिसमेत सार्वजनिक गरेको हो । नेपालले पहिलो खेल कात्तिक २८ (नोभेम्बर १४) मा पहिलो खेल खेल्नेछ । नेपालले दोस्रो खेल कात्तिक ३० (नोभेम्बर १६) मा खेल्नेछ । तेस्रो खेल मंसिर २ (नोभेम्बर १८) मा खेल्नेछ । सबै खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने तालिका छ ।

नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबिया भ्रमणअघि युएईसँग खेल्न लागेको हो । नेपालले डिसेम्बरमा नामिबिया भ्रमण गर्नेछ । नेपाल, नामिबिया र स्कटल्याण्डबीच हुने उक्त सिरिज डिसेम्बर २ बाट सुरु हुनेछ ।

नेपाल हाल विश्वकप लिग-२ मा आठमा जित र ११ मा हारसहित १७ अंकका साथ छैटौँ स्थानमा छ । ओमान ३६ खेलमा २१ जित र १३ मा हारसहित शीर्ष स्थानमा छ । स्कटल्याण्ड २८ खेलमा १९ मा जित र सातमा हारसहित ४० अंकका साथ दोस्रो स्थानमा छ ।

अमेरिका ३२ खेलमा १३ मा जित र १६ मा हारसहित तेस्रो स्थानमा छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ चौथो स्थानमा छ । नामिबिया २२ खेलमा १३ मा जित र नौ हारसहित पाँचौँ स्थानमा छ । पपुवा न्युगिनी २४ खेलमा दुईमा जितसहित पुछारमा छ ।

नेपालले अब विश्वकप लिग-२ मा १६ खेल खेल्न बाँकी छ । जसमा आठ घरेलु मैदान टियु र आठ विदेशी भूमिमा छन् । विदेशी भूमिमा नामिबिया र पपुवा न्युगिनीसँग हुनेछ । नेपालले शीर्ष तीनमा परे सोझै एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ । अन्यथा क्वालिफायर खेल्नुपर्ने हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?