रूसको आक्रमणले किभको खानेपानी प्रणाली ध्वस्त

Read Time = 4 mins

किभ । रूसले युक्रेनमाथिको आक्रमणलाई तीव्र गतिमा अघि बढाइरहेको छ । निरन्तरको क्षेप्यास्त्र आक्रमणबाट उत्तरपूर्वी शहर खार्किभ र चेर्कसीका आधारभूत भौतिक पूर्वाधारमा क्षति भएको छ । फलस्वरूप ८० प्रतिशतभन्दा बढी किभका जनता बिजुली र पानीबाट वञ्चित हुनुपरेको छ ।

रूसी आक्रमणका कारण देशका धेरै स्थानमा नागरिक प्रभावित भएका तथा किभको ८० प्रतिशतभन्दा बढी जनसंख्याले पानी र बिजुली कटौतीको सामना गर्नुपरेको युक्रेनी अधिकारीले बताएका छन् । किभ नगरका प्रमुखले युद्धको चपेटामा परेको देशको परिस्थितिलाई दृष्टिगत गरी आफूलाई आवश्यक पर्ने पानीको भण्डारण एवं व्यवस्थापन गर्न नगरवासीलाई आग्रह गर्नुभएको छ । किभका अग्ला आवासीय भवनहरूमा पानी आपूर्तिमा कठिनाइ भएको छ ।

ब्ल्याक सीमा ड्रोन हमला गरेको बदलामा रूसले युक्रेनी पूर्वाधारलाई आक्रमण निशाना बनाएको हो । ब्ल्याक सी हमलालाई लिएर क्रमलिनले युक्रेनको बन्दरगाहबाट अनाजले भरिएका १७६ वटा जहाजलाई गन्तव्यतर्फ जान दिएको छैन । उसले युक्रेनमा मात्र नभई विश्वभर खाद्य संकटको जोखिम बढाएको छ । संयुक्त राष्ट्रसंघसँगको मध्यस्थतामा गरिएको अनाज आपूर्तिको सम्झौता रूसले अस्वीकार गरेपछि त्यसको विश्वव्यापी रूपमा आलोचना भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी अन्न बोक्ने जहाजहरूलाई सुरक्षित मार्ग नदिएकामा आपत्ति जनाउँदै त्यसलाई क्रेमलिनको अर्थहीन एवं अपमानजनक कदम भन्नुभएको छ ।

युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले निर्णय फिर्ता लिन आग्रह गर्नुभएको छ भने संयुक्त राष्ट्रसंघ महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले विश्व संस्था राष्ट्रसंघ रूसी अधिकारीहरूसँग सम्पर्कमा रहेको बताउनुभएको छ । उहाँले अनाज आपूर्तिका प्रयासमा कुनै पनि पक्षबाट बाधा पु¥याउन नहुनेमा जोड दिनुभएको छ ।

ऊर्जा प्रणालीमा भएको क्षेप्यास्त्र आक्रमणबाट राजधानी किभका दुई लाख ७० हजार घरमा विद्युत् सेवासमेत अवरुद्ध भएको छ । देशभर भएको आक्रमणमा १३ जना घाइते भएको जनाइएको छ । रूसले युक्रेनको सैन्य नियन्त्रण र ऊर्जा प्रणाली लक्षित आक्रमण थालिएको र त्यसमा सफल भएको बताएको छ । युक्रेनी सैनिकले रूसले सोमबारमात्रै ४५ देखि ५५ वटा शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । करिब १० महिनादेखि युक्रेनमाथि आक्रमण गरिरहेको रूसले पछिल्लो समय ऊर्जा, खानेपानीलगायत अत्यावश्यकीय क्षेत्रलाई निशाना बनाइरहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?