दीपककुमार शर्मा/हिटा
बर्दिया । आसन्न मंसिर ४ गते हुने प्रतिनधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलका नेताहरूको चासो बाँके क्षेत्र नं. ३ मा देखिएको छ । कुनै बेला नेकपा एमालेको बलियो क्षेत्र मानिएको यो निर्वाचन क्षेत्रमा गठबन्धनबाट नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर चुनावी मैदानमा हुनुहुन्छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विश्वास पात्रमध्येका एक राठौर बर्दियाबाट समानुपातिक सभासद रहनुभएको थियो । उहाँ यसपटक बाँके क्षेत्र नं. ३ बाट निर्वाचन लड्दै हुनुहुन्छ । त्यसो त बाँके तथा बर्दिया दुवै ठाउँमा घर हुनुभएका उहाँ बर्दियामै बसेर राजनीति गर्दै आउनुभएको हो । विद्यार्थीकालमा केही समय नेपालगञ्जमा बिताउनुभएका उहाँले आफ्नो अध्ययन काठमाडौंमा पूरा गर्नुभएको थियो ।
सोही क्षेत्रबाट राप्रपाको तालमेलमा नेकपा एमालेले एमालेका जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतीलाई चुनावी मैदानमा उतारेको छ । जानकी गाउँपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका र नेपालगञ्ज उपमहानगर पालिकाका दुईवटा वडासमेत रहेको यस क्षेत्रमा स्थानीय तहको निर्वाचनमा दलले पाएको मतको संख्या हेर्ने हो भने गठबन्धनका उम्मेदवार बलियो देखिएका छन् । स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले २५ हजार ६८९ मत प्राप्त गरेको थियो भने नेकपा एमालेले २२ हजार १५९, माओवादी केन्द्रको १४ हजार ८१८, राप्रपाको चार हजार ६४१, जसपाको चार हजार १९९, नेकपा एकीकृत समाजवादीको दुई हजार ३४८ र लोसपाको एक हजार ३७ मत छ । यसरी हेर्दा सत्ता गठबन्धनका किशोरसिंह राठौर १७ हजार मतले अगाडि देखिनुहुन्छ । जसपाबाट नयन्द्र धिताल चुनावी मैदानमा रहनुभएको छ । स्थानीय तहको नेतृत्वमा जानकी गाउँपालिका र बैजनाथ गाउँपालिकामा नेपाली कांग्रेस र खजुरा गाउँपालिकामा नेकपा माओवादीले जितेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा यी तीनवटै पालिकामा नेकपा एमालेले जितेको थियो ।
निर्वाचनमा यसै भन्न सकिने अवस्था छैन । गठबन्धन दलका कार्यकर्ता र मतदाता इमान्दार भए भने राठौरको जित्ने सम्भावना बलियो देखिन्छ । तर, सो क्षेत्रमा नेपाली कांग्रेसभित्र र माओवादीभित्र नै असन्तुष्टि देखिएको छ । त्यसको फाइदा उठाउन सके एमालेलाई फाइदा हुने देखिन्छ । तर, त्यो सम्भावना कम भएको माओवादीको भनाइ छ । गएको प्रदेशसभा निर्वाचनमा पनि दुवै स्थान नेकपा एमालेले जितेको थियो । नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य लड्नुभएका चन्तराम थारु अहिले नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेपछि कांग्रेसको केही मत उहाँले काट्ने देखिन्छ । गएको प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट उम्मेदवार हुनुभएका बादशाह कुर्मीले यसपटक प्रदेशसभामा उम्मेदवारी दिनुभएको छ । स्वतन्त्र उम्मेदवारी दिनुभएका नेकपा एकीकृत समाजवादीका नेता दलबहादुर सुनार माओवादी केन्द्रमा प्रवेश गरेपछि गठबन्धन थप बलियो देखिएको छ । सुनार २०७० सालमा सोही निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट निर्वाचन लड्दै सांसद हुनुभएको थियो ।
२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभामा नेकपा एमालेका नन्दलाल रोकाय ३१ हजार ६०१ मत ल्याउँदै विजयी हुनुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बादशाह कुर्मीले २६ हजार ६१७ मत ल्याउनुभएको थियो । २०७४ सालमा नेकपा एमाले र माओवादीको गठबन्धन रहेको थियो । अहिले नेकपा एमालेले राप्रपासँग चुनावी तालमेल गरेको छ भने नेपाली कांग्रेस, माओवादी केन्द्र, लोसपा र नेकपा एकीकृत समाजवादी पार्र्टी गठबन्धन गरेर निर्वाचन लडिरहेका छन् । बाँकेमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यो निर्वाचन क्षेत्र पनि सबैको चासोको विषय बनेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका