गाउँमा भेटिन छाडे घुमाउने घर

हिमालय टाइम्स
Read Time = 8 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । पहिले-पहिले ग्रामीण क्षेत्रमा पुग्दा ढुंगाले बान्की मिलाएर छाएको छानो । ढुंगाकै गारो । रातो माटो र सेतो कमेरोले पोतेर सजिएका घुमाउने घरहरू भेटिन्थे । तर, अहिले यस्ता घरहरू भेट्टाउनै मुस्किल पर्छ । यदाकदा भेटिए पनि जीर्ण अवस्थामा भेटिन्छन् । मौलिकतासँग जोडिएका घुमाउने घर बनाउने सिकर्मी डकर्मीसमेत पाइँदैनन् । घरका झ्यालढोकामा कलात्मक शैलीमा विभिन्न आकृतिहरू र मूर्तिहरू कुँदिएका हुन्थे ।

पछिल्लो समय प्रविधिको विकासका कारण यस्ता मौलिक घर लोप हुँदै गएको स्थानीयको बुझाइ छ । मगर र गुरुङ समुदायको पहिचानसँग जोडिएको घुमाउने घर संरक्षण अभावमा लोप हुँदै गएको निसीखोला गाउँपालिका-१ का तीर्थराम गुरुङले बताउनुभयो । उहाँ परम्परागतभन्दा आधुनिक शैलीका घर बनाउन सहज हुने भएपछि घुमाउने घर संकटमा परेको बताउनुहुन्छ ।

‘१२÷१५ वर्षअघिसम्म गाउँका धेरै स्थानमा घुमाउने घरहरू भेटिन्थे, अहिले एक/दुई वटा पनि भेट्टाउन मुस्किल पर्छ, घुमाउने घर बनाउन अलिकति सीप हुनुपर्छ, धेरै मिहिनेत गर्नुपर्छ, अहिलेको जस्तो सिमेन्ट, गिट्टी बालुवाले बनाइन्नथ्यो, ढुंगा, माटो र काठले बनाइन्थ्यो,’ गुरुङले भन्नुभयो, ‘अहिलेका मान्छेले झन्झटिलो काम गर्नै चाहन्नन्, त्यही भएर पनि घुमाउने घर हराउँदै गएको हो ।’

गुरुङले घुमाउने घर बनाउने मिस्त्री पाइन छोडेको र नयाँ पुस्तामा यस्ता घर संरक्षण गर्नुपर्छ भन्ने सोच नआउँदा लोप हुँदै गएको बताउनुभयो । गुरुङ भन्नुहुन्छ, ‘घुमाउने घर बनाउनलाई काम जानेको मिस्त्री हुनुपर्ने हो, पहिलेको जस्तो अहिलेका मिस्त्रीले बनाउन जान्दैनन्, पहिले-पहिले बुढा पुरानाले संरक्षण गरेर राखेका थिए, अहिलेका पुस्ताले यस्तो घर मन पराउन छोडे, पक्की घर रोज्न थाले, त्यही भएर घुमाउने घरहरू लोप भए ।’

अर्का स्थानीय पूर्णबहादुर घर्ती मगरले घुमाउने घरसँगै मौलिक संस्कृति पनि हराउँदै गएको बताउनुभयो । उहाँले आदिवासी जनजाति समुदायको पहिचानसँग घुमाउने घर जोडिएको भन्दै अहिले गाउँघरमा यस्ता घरहरू पाइन छोडेको बताउनुभयो । घर्ती मगर भन्नुहुन्छ, ‘हामी मगर गुरुङको अस्तित्वसँग जोडिएको छ घुमाउने घर तर के गर्ने सुरक्षा गर्न सकिएन, सबै हराउँदै गए, अब त झन् कसले ध्यान देला र ?’
आफू घुमाउने घरमै जन्मेहुर्केको भन्दै पछिल्लो समय गाउँमा भएका एक/दुईवटा त्यस्ता घरहरू पनि प्रयोगविहीन हुँदा जीर्ण बनेको बताउनुहुन्छ । उहाँले स्थानीयहरूले यस्ता घरलाई संरक्षण गर्न सके मौलिक संस्कृतिको संरक्षण हुने बताउनुभयो ।

निसीखोला गाउँपालिका-६ का नरसिंह बुढा मगरले घुमाउने घरको संरक्षण गर्न सके आन्तरिक तथा बाहृय पर्यटकलाई आकर्षित गर्न सकिने बताउनुभयो । उहाँले परम्परागत घरहरूलाई नयाँ ढंगले पनि संरक्षण र मर्मतसम्भार गर्न सकिने बताउनुभयो । गाउँठाउँमा भएका घुमाउने घरको तथ्यांक संकलन गर्ने र पुनर्निर्माण गरी संग्रहालयका रूपमा विकाससमेत गर्न सकिने उहाँले बताउनुभयो ।

बुढा मगर भन्नुहुन्छ, ‘घुमाउने घर देख्दै निकै आकर्षक हुन्छ, यसले आन्तरिक तथा बाहृय पर्यटकलाई भित्र्याउन निकै सहयोग पु¥याउँछ, अहिले धेरै जस्तो मान्छेहरूले पुराना संस्कार, संस्कृतिहरू मन पराउँछन्, घुमाउने घर पनि उनीहरूका लागि रम्ने ठाउँ बन्न सक्छ, आन्तरिक तथा बाहृय पर्यटक आउन थालेपछि स्थानीयको पनि आयआर्जनको माध्यम बन्ने थियो, यसमा स्थानीय सरकार र जनताले चासो दिए राम्रो हुने थियो ।’

अहिलेका घरहरूभन्दा घुमाउने घरको स्वरूप नै फरक हुँदा धेरैको ध्यान केन्द्रित हुने उहाँको भनाइ छ । उहाँले घुमाउने घर अरू घरभन्दा न्यानो हुने हुँदा गुरुङ मगरहरूले बनाउने गरेको बताउनुभयो । बुढा मगरले ग्रामीण भागको माथिल्लो क्षेत्रमा जनजाति समुदायको बसोबास बढी हुने र त्यस्ता स्थानहरूमा बढी जाडो हुने हुँदा न्यानोका लागि यो घर बनाउने गरेको बताउनुभयो ।

‘घुमाउने घरहरू शहरबजारभन्दा गाउँमा बढी देखिन्थे, अझ बढी त गाउँको पनि सबैभन्दा माथि हुने गर्थे, त्यस्तो ठाउँमा चिसो हुने र न्यानोका लागि यो घर बनाएर बस्ने गरेको बुढापाकाले बताउनुहुन्थ्यो, मलाई पनि यो वास्तविक नै जस्तो लाग्यो, किनकि माथिल्लो क्षेत्रमा अलि बढी नै जाडो हुन्छ, घुमाउने घर अरूभन्दा न्यानो नै हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यही भएर पनि होला पहिले-पहिले गाउँमा बढी घुमाउने घर भएको ।’

उहाँले ग्रामीण क्षेत्रमा शहरबजारमा जस्तै आधुनिक शैलीका घर भवन बन्न थालेपछि घुमाउने घर ओझेलमा परेको बताउनुभयो । घुमाउने घरसँगै खरको घर र ढुंगे घरहरू पनि विस्तारै हराउन थालेको उहाँको भनाइ छ । उहाँले गाउँ-गाउँमा मोटरबाटो पुगेपछि सिमेन्ट, रड र इँटाका घरहरू धमाधम बनिरहेको बताउनुभयो ।

‘गाउँ-गाउँमा मोटरबाटो नपुग्दासम्म त घुमाउने घरहरू भेटिन्थे, जब गाउँमा मोटरबाटो आयो, त्यसपछि पक्की घर, भवन बन्न थाले र घुमाउने घर हराउँदै गए, अहिले त खर र ढुंगाले छाएको घर पनि कम हुन थालेका छन्,’ उहाँले भन्नुभयो, ‘गाउँमा पनि बजारका जस्ता ठूला-ठूला घर ठडिन थाले, पुराना घरहरूलाई मान्छेहरूले संरक्षण गर्नुको सट्टा भत्काउनतिर लागे ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?