ढोरपाटनका बाढीपीडित भन्छन्- ‘हाम्रो पीडा बुझ्नेलाई भोट’

हिमालय टाइम्स
Read Time = 8 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै बागलुङमा चुनावी सरगर्मी बढेको छ । गाउँदेखि सहरसम्म जताततै उम्मेदवार र राजनीतिक दलका नेता मतदाता रिझाउन व्यस्त छन् । तर, ढोरपाटनका बाढी पीडितलाई कुनै रौनकले छुन सकेको छैन । एक सातायता उनीहरूका घरमा उम्मेदवारहरू विभिन्न आश्वासन देखाएर भोट माग्न पुगिरहेका छन् ।

तर, यसपटक ढोरपाटनका बाढी पीडितले सजिलै भोट दिने छैनन् । पटक-पटक चुनाव जिताएर पठाएका प्रतिनिधिले आफ्ना लागि केही काम गर्न नसकेपछि उनीहरूले अहिले गरिब दुःखीको पक्षमा काम गर्ने उम्मेदवारलाई भोट दिने योजना बनाएका छन् । बाढीपीडित कुलबहादुर विक भन्नुहुन्छ– ‘नेताहरू चुनावका बेला मात्रै भोट माग्न आउँछन्, अनेक प्रलोभन देखाउँछन्, धेरैपटक चुनाव जिताएर पठायौँ, हाम्रा लागि भने केही गरेनन्, यसपटक जसले हाम्रो पीडा बुझ्छ उसैलाई भोट दिनेछौँ ।’

उहाँले आफूहरू अशिक्षित र दुर्गममा भएका कारण अनेक समस्या झेल्नु परेको भन्दै चुनावका बेला आउने नेताहरूले आशा मात्रै देखाउने तर काम भने नगरेको बताउनुभयो । बाढीले सिंगो भुजिखोलावासीलाई घरबास र आफन्तविहीन बनाउँदा पनि आफूहरूले जिताएको प्रतिनिधिले दुःखेको घाउमा मलम लगाउन नसकेको विकले गुनासो पोख्नुभयो ।

विक भन्नुहुन्छ- ‘हामी अनपढ छौँ, दुर्गम गाउँमा छौँ, हाम्रो गाउँ ठाउँमा विकास हुन सकेको छैन, जब चुनाव आउँछ तब नेताहरू दिनरात घरमा आएर धर्ना दिन्छन्, चुनाव सकियो भने फर्किएर पनि आउँदैनन्, दुई वर्ष अगाडि बाढीले हामीलाई घर न घाटको बनायो, आफन्त बगायो, त्यो बेला कोही आएनन्, केहीले त थोरै सहयोग गरे तर नेता हुँ भन्नेले नाक मुख देखाएनन्, अहिले भोट माग्न दिनदिनै आउँछन्, उनीहरूलाई किन हाम्ले भोट दिने ?’

बाढीले विकको घर, जग्गा जमिनसहित २२ वर्षका जेठो छोरो, २१ वर्षकी बुहारी, १८ वर्षकी छोरी र चार वर्षीया नातिनी गरी चारजना बगाएको थियो । आफन्त र भए भरको सम्पत्ति गुमाएपछि विकले ऋण धन घरेर ढोरपाटनमा सानो घर बनाएको भन्दै त्यसको ऋण तिर्न अहिले हम्मेहम्मे भएको बताउनुभयो । विकले विभिन्न संघ संस्थाले सहयोग गरेको दुई लाख रुपैयाँ राहत पाए पनि घर बनाएको अझै चार लाख रुपैयाँ ऋण थुप्रिएको बताउनुभयो ।

‘सुरुमा केही सहयोग पाएर घर बनाइयो, थप सहयोग पाइन्छ भने पनि अहिलेसम्म पाउन सकिएको छैन, विभिन्न संघ संस्थाले सहयोग गरेको दुई लाख रुपैयाँ त पाइयो, प्रदेश सरकारले दिने भनेको ५० हजार रुपैयाँ आएन, घर बनाउँदा ६ लाख ऋण लाग्यो, चार लाख त मेरो काँधमाथि छ, बरु घर बनाएर सानो छाप्रो बनाएर बस्नुपर्ने रैछ,’ उहाँले निराश हुँदै भन्नुभयो ।

अर्का बाढीपीडित लिलमाया विकले पनि यसपालि भोट नहाल्ने योजना बनाएको बताउनुहुन्छ । उहाँले भोट हाल्नै परे बाढी पीडितलाई सहयोग गर्ने उम्मेदवारलाई मात्रै हाल्ने बताउनुभयो । आफूहरूलाई नेताहरूले चुनावका बेला भ्रममा पारेर भोट माग्ने गरेको भन्दै अब भ्रममा नपर्ने उहाँको भनाइ छ । ‘अहिलेसम्म मैले धेरैपटक भोट हालेँ, भोट हालेर मैले केही पाइनँ, गाउँले केही पाउन सकेन, नेता मात्रै बने, गरिब, पीडितको दुःख जहाँको त्यहीँ भयो, अहिले भोट हाल्नै परे बाढी पीडितलाई जसले सहयोग गर्छ, उसैलाई भोट दिने हो ।

बाढीले विकको घरसहित छोरा, बुहारी बगाएको थियो । उहाँले पनि हिलेसम्म पाउनुपर्ने राहत पूरै पाउन नसकेको गुनासो गर्नुभयो । केही नेताले बाढी आएको बेला राहत दिलाई दिने आश्वासन दिए पनि अहिलेसम्म दिन लाउन नसकेको बताउनुभयो । ‘सरकारले दिने राहत त अहिलेसम्म पाउन सकेका छैनौँ, अरू त झन् हामीलाई कसले दिन्छ र ?, बाढी आएको बेला केही नेता आएर हामी राहत दिलाइदिन्छौँ भनेर आश्वासन दिए तर अहिलेसम्म उनीहरूले दिलाउन सकेनन्’ विकले भन्नुभयो ।

बाढीमा जीवन संगीनीसहित तीन सन्तान गुमाउनुभएका निमप्रकाश विकले पनि आफूहरूका माग पूरा गर्ने नेतालाई भोट दिने बताउनुभयो । उहाँले बाढीले भएभरको सम्पत्ति र परिवारका सबै सदस्य बगाएको दुई वर्ष बितिसक्दा पनि कुनै नेताले सहयोग नगरेको दुःखेसो गर्नुभयो । उहाँले अहिले दिनदिनै नेताहरू भोट माग्न आएको भन्दै उनीहरूलाई भोट नदिने भनेर फर्काइदिएको बताउनुभयो ।

‘आफ्नो दुःखका बेला कसैले हेर्ने होइन, चुनाव आयो भने घरमा आएर काम गर्न दिँदैनन्, आफ्नो पीडा एकातिर छ, उनीहरूले बुझ्ने होइन, हाम्रो भोट उनीहरू नेता बन्ने, मन्त्री बन्ने हामीलाई केही न केही,’ विकले भन्नुभयो, ‘मैले त घरमा आउने सबैलाई भोट दिन्नँ भनेर फकाइदिन्छु, केहीले त घर बनाइदिन्छौँ, सहयोग गर्छौँ पनि भन्छन्, चुनाव जितेपछि उही होला पारा ।’

बाढीले विकको श्रीमती, तीन छोरा भएभरको जायजेथा सबै बगाएको थियो । २०७७ भदौ १७ गते भुजिखोलामा आएको बाढीमा परी ३८ बढीले ज्यान गएको थयो । २३ जनाको शव फेला परे पनि १५ जना बेपत्तै रहे । बाढीले एक सय ३१ घरमा क्षति पुर्‍याएको थियो भने ११ वटा जलविद्युत् आयोजनाको गृह तथा नहर, एक स्वास्थ्य इकाई, ११ झोलुंगे पुल, ढलान पुल पाँचवटा काठेपुल १० र दुई विद्यालयसमेत बगाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?