ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ

रासस
Read Time = 3 mins

ताप्लेजुङ । ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ छ । तिहार र छठ पर्व सकिएसँगै अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् ।

असोजदेखि मंसिर महिना अलैँची थक्याउने मुख्य समय हो । ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गर्दै आएको छ । बेंसी क्षेत्रमा साउन महिनादेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैँची टिपाइ हुन्छ ।

अहिले अलैँची थन्क्याउन मुख्य मौसम भएकाले किसानलाई चटारो हुने गरेको हो । अलैँची संकलन गर्ने समय भएपछि केही समय मात्र ढिलो गरेमा वन्यजन्तुले खाएर क्षति पुर्याइदिने हुँदा किसानलाई अलि बढी चटारो लागेको पाथीभरा याङवरक गाउँपालिका–१ थेचम्बुका अलैँची किसान ज्ञानबहादुर गुरुङले बताउनुभयो ।

अलैँची सिजनका कारण दशैँ, तिहारजस्ता चाडपर्व सहज गरी मनाउन नै नपाएको गुरुङले बताउनुभयो । मुख्य सिजन भएकाले चाडपर्वमा पनि अलैँची बारी (बगान)मै बिताउनुपरेको फक्ताङलुङ गाउँपालिका–६ मादिबुङका अलैँची किसान बसन्त लिम्बूले बताउनुभयो ।

उहाँले दशैँ घरमै मनाए पनि तिहारमा भने अलैँची बगानमै बिताउनुभएको थियो । फुङ्लिङ नगरपालिका–६ बिहिवारेका किसान खाङ्डु शेर्पाले पनि अलैँची टिप्न, छोडाउन र सुकाउनमै तिहार बितेको बताउनुभयो ।

घरमा बसेर चाडपर्व मनाउन थाल्दा जङ्गली जीवजन्तुले धेरै क्षति गर्ने भएकाले चाडपर्व नभनी अलैँची टिप्न र थन्क्याउनमा व्यस्त हुनुपरेको शेर्पाले बताउनुभयो । यि त केही प्रतिनिधि मात्र हो ।

अलैँची खेतीमा संलग्न जिल्लाभरका किसानलाई अहिले अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएका छन् । जिल्लाका नौ स्थानीय तहका ६१ वटा वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७, ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती हुन्छ ।

जिल्लामा करिब चार हजार चार सय ५० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । प्रमुख नगदेबाली भएकाले धान, मकैजस्ता खाद्यान्न बाली उत्पादन हुने जग्गा नै मासेर किसानले अलैँची खेती गर्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?