आज कुष्माण्डा नवमी पर्व

रासस
Read Time = 3 mins

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल पक्ष नवमी तिथिका दिन मनाइने कुष्माण्डा नवमी पर्व आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

कार्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् लक्ष्मीनारायण अमलाको बोटमा निवास गर्नुहुनेछ । यो दिन अमला अथवा पिपलको विवाह गरिदियो भने धेरै पुण्य प्राप्त भएर जन्मान्तरसम्म नाश हुँदैन भन्ने विश्वास रहिआएको छ ।

यो दिन अमलाको बोटमा अमृत प्राप्त हुने भएकाले प्रत्येक व्यक्तिले अमलाको पूजा गर्नु राम्रो मानिन्छ । अमलाको पूजा गर्दा पूर्वाभिमुख भएर जल, चन्दन, अक्षता, फूल, आदिले पूजा-अर्चना गर्नुपर्छ । पूजा गरिसकेपछि पहेँलो धागोले अमलाको रूखको परिक्रमा गराइन्छ ।

आयुर्वेदिक औषधिका रूपमा उपयोग गरिने अमला अमृत मानिन्छ । त्रिफला चूर्ण बनाउँदा आवश्यक पर्ने तीन जडीबुटीमध्ये अमला एक हो । हर्रो, बर्रो र अमला मिलाएर बनाइने त्रिफला चूर्ण धेरै रोगको उपचारमा प्रयोग गरिने आयुर्वेदिक चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहुन्छ ।

पद्मपुराणअनुसार कार्तिक शुक्ल नवमीको दिन द्वापर युगको आरम्भ भएको थियो । यसै दिन भगवान् विष्णुले कूष्माण्ड नाम गरेको दैत्यको वध गर्नुभएको हुनाले यो दिनलाई कूष्माण्ड नवमी भनिएको हो । कूष्माण्ड दैत्यको शरीरबाट कुभिन्डो उत्पन्न भएको हुनाले यो दिन कुभिन्डो दान गर्नाले अनन्त कोटी फल प्राप्त हुन्छ ।

आजको दिन कुभिन्डो, सुन, चाँदी, पहेँलो कपडा, तामाको भाँडामा तिल राखेर दान गर्ने मनुष्यले आफूले चिताएको फल प्राप्त गर्ने विभिन्न धार्मिकग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटा बताउनुहुन्छ । कुष्माण्डा नवमीका अवसरमा आज मकवानपुर जिल्लामा रहेको कुष्माण्डा सरोवरमा मेला लाग्ने गर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?