रुपन्देही-५ लाई तिलोत्तमा जस्तै नमूना बनाउछु: एमाले उम्मेदवार घिमिरे

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । नेकपा एमाले, जसपा र राप्रपाका साझा उम्मेदवारहरुले रुपन्देहीको गैडहवा गाउँपालिकामा महिला तथा युवाहरुसँग अन्तरक्रिया गरेका छन् । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका सन्दर्भमा आफ्ना चुनावी एजेण्डाका बारेमा जानकारी दिँदै मतदाताका सुझाव लिन उम्मेदवारहरुले अन्तरक्रिया गरेका हुन् ।

अन्तरक्रिया कार्यक्रममा विभिन्न सामाजिक संघ संस्था, क्लव, आमा समूहका प्रतिनिधिहरुका साथैं पार्टीका जनवर्गीय संगठन र अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा निर्वाचन परिचालन कमिटीका संयोजक खिमलाल भट्टराईले क्षेत्र नं. ५ मा एमाले, जसपा र राप्रपाका साझा उम्मेदवारको जीत सुनिश्चित भएको बताउँदै मंसिर ४ पछि विकासको नयाँ लहर आउने दाबी गर्नु भयो । उहाँले पार्टीका एजेण्डा मतदाताको घर-घरमा लगेर बुझाउन अगुवा कार्यकर्तालाई निर्देशन समेत दिनु भयो ।

यस्तै प्रतिनिधि सभाका उम्मेदवार बासुदेव घिमिरेले लुम्बिनी र आसपासका पर्यटकीय क्षेत्रको योजनाबद्ध विकासले समग्र प्रदेशकै विकासमा टेवा पुर्‍याउने बताउँदै यस क्षेत्रका जनताको आर्थिक, सामाजिक रुपान्तरणको लागिआफू सधैं प्रतिबद्ध रहने बताउनु भयो । नगर प्रमुख हुँदा रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई मुलुककैं नमूना नगरपालिका बनाएका उम्मेदवार घिमिरेले आफ्नो विगतको अनुभवको आधारमा क्षेत्र नं. ५ लाई समेत नमूना बनाउने बताउनु भयो । यो क्षेत्रमा नेपाली काग्रेसका तर्फबाट भरत कुमार शाह गठबन्धको साझा उम्मेदवार बन्नु भएको छ ।

क्षेत्र नं. ५ मा विकासका थुप्रैं सम्भावना रहे पनि विगतमा सोअनुसारका काम हुन नसकेको बताउँदै उहाँले यहाँका तमाम समस्या समाधानका लागि आफूले योजनाबद्ध रुपमा काम गर्ने बताउनु भयो । कार्यक्रममा प्रदेशसभा सदस्य पदका उम्मेदवार भुमिश्वर ढकाल र रामचन्द्र यादव लगायतका नेताहरुले क्षेत्र नं. ५ को आमूल विकासका लागिआफूहरुलाई मत दिन मतदाताहरुलाई आग्रह गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?