एमसिसीमाथि नेपाली महिला क्रिकेट टोलीको जित

हिमालय टाइम्स
Read Time = 3 mins

पोखरा । नेपाली महिला राष्ट्रिय क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट संघ (क्यान-११) ले बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) सँगको मैत्रीपूर्ण क्रिकेट प्रतिस्पर्धामा जित हासिल गरेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको एकदिवसीय खेलमा क्यान-११ ले एमसिसीमाथि दुई विकेटले जित निकालेको हो । खेलमा नेपाली टोलीका नेरी थापाले व्यक्तिगत ५५ रनको योगदानसँगै दुई महत्वपूर्ण विकेट हात पार्दै ‘प्लेयर अफ दी म्याच’ तथा ‘प्लेयर अफ दी सिरिज’ को ट्रफीसमेत हात पार्नुभयो । जितसँगै नेपाली महिला क्रिकेट टोली क्यान–११ ले सिरिजसमेत हात पारेको छ । क्यान ११ ले टी-२० मा समेत एमसिसीलाई पराजित गरेको थियो ।

खेलमा टस जितेर ब्याटिङ रोजेको एमसिसीले छ विकेटको नोक्सानीमा १५५ रन जोडेको थियो । एमसिसीका लागि क्लारा टेलरले ५५ र अमान्दा पोटगिजरले २६ रन तथा जेनी किटजिंगरले २५ रनको योगदान दिनुभयो ।

नेपालका लागि बलिङतर्फ नेरी थापा र सोनी पाख्रिनले समान दुई/दुई विकेट लिँदा सीता राना र इन्दु बर्माले एक/एक विकेट लिनुभयो । खेलमा जितका लागि १५६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोलीले ३९ ओभरमा आठ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

नेपाली टोलीका नेरी थापाले ५५, कविता कुँवरले १८, रुविना क्षेत्रीले १६, सम्झना खड्काले ११ र रोमा थापाले १० रन बनाउनुभयो । एमसिसीका लागि अमान्दा पोटजिंगरले तीन विकेट लिँदा एलिगा हुवार्ड र इशाबेल गुर्नीले समान दुई÷दुई विकेट लिनुभयो । रिचेल पोर्टरले एक विकेट लिनुभयो ।

विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङ, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वनकुमार गुरुङ, सदस्य-सचिव घनश्याम पौडेललगायतले पुरस्कार वितरण गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?