पिएम कप क्रिकेट : लुम्बिनी र गण्डकी विजयी

हिमालय टाइम्स
Read Time = 6 mins
A A- A+

काठमाडौं । लुम्बिनी र गण्डकी प्रदेशले प्रधानमन्त्री कप (पिएम) एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । लुम्बिनीले प्रतियोगितामा विजयी सुरुवात गर्दा गण्डकीले लगातार दोस्रो जित हात पारेको हो ।

बागमती प्रदेशलाई आठ विकेटले हराउँदै लुम्बिनीले विजयी सुरुवात गर्‍यो । यो बागमतीको तेस्रो हार हो । तेस्रो हारसँगै टोली प्रतियोगिताबाट बाहिरिएको छ । बागमतीले दिएको १५५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले ३५.४ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

लुम्बिनीको जितमा कप्तान देव खनालले ११९ बलमा आठ चौका र दुई छक्कासहित सर्वाधिक ७७ रन जोड्नुभयो । त्यस्तै, सन्दीप रजालीले ४१ बलमा दुई चौकासहित २९ रन थप्नुभयो । बागमती प्रदेशका प्रतिश जिसी र रिजन ढकालले एक-एक विकेट लिनुभयो ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बागमतीले ३८.१ ओभरमा सबै विकेट गुमाएर १५४ रन बनायो । बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४६ बलमा चार चौका र एक छक्कासहित ३३ रन बनाउनुभयो ।

यस्तै, विकेटकिपर दुर्गेश थापाले ३९ बलमा चार चौका र एक छक्कासहित ३२, ओपनर आशुतोष २२, रित गौतम ६, इशान पाण्डे शून्य, सूर्य तामाङ १७, नन्दन यादव एक, प्रतिश जिसी १५ र रामनरेश गिरीले १० रन जोड्नुभयो ।

लुम्बिनीका अनिल खरेलले १० ओभरमा तीन मेडनसहित ३० रन खर्चेर चार विकेट तथा विशालविक्रम केसीले ३.१ ओभरमा एक मेडनसहित पाँच रन खर्चेर दुई विकेट लिनुभयो । लुम्बिनीले बिहीबार टियु मैदानमा पुलिससँग खेल्नेछ । बागमतीले अन्तिम खेल कात्तिक २१ मा मधेशसँग खेल्नेछ ।

यस्तै, त्रिवि क्रिकेट मैदानमा भएको अर्को खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३२ रनले हरायो । गण्डकीले दिएको २०९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णाली ४७ ओभरमा सबै विकेट गुमाएर १७६ रनमा रोकियो ।

कर्णालीका हिमांशु शाहीले ६९ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । यस्तै, कप्तान रविन्द्र शाहीले ४२, प्रकाश जैसीले १५ थप्नुभयो । गण्डकीका सुवास भण्डारी र चन्द्र पौडेलले तीन-तीन विकेट लिनुभयो । विपिन खत्रीले दुई विकेट लिनुभयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ५० ओभरमा नौ विकेट गुमाएर २०८ रन बनाएको थियो । गण्डकीका लागि अभिषेक बस्नेतले ५१, अर्जुन कुमालले ४९ तथा विधान श्रेष्ठले ४६ रन बनाउनुभयो ।

कर्णालीका अनुज चुनाराले चार तथा प्रकाश जैसी र दिनेश अधिकारीले दुई विकेट लिनुभयो । जितसँगै समूह ‘ए’ को गण्डकीले दुई खेलमा चार अंक जोडेको छ । गण्डकी समूहको दोस्रो स्थानमा रहेको छ । कर्णालीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेश गरी कुल १० टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, मधेश र प्रदेश १ रहेका छन् ।

आयोजक नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रधानमन्त्री कपको विजेताले १० लाख र उपविजेता टोलीले पाँच लाख पाउनेछन् । सेमिफाइनलमा पुग्ने टोलीले ५०-५० हजार पाउनेछन् । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको उत्कृष्ट ब्याटर र बलरले समान २० हजार पाउनेछन् । प्रतियोगिताको उदीयमान खेलाडीले १० हजार प्राप्त गर्नेछन् । प्लेयर अफ द म्याचले पाँच हजार पाउनेछन् । प्रतियोगिताको अनुमानित कुल बजेट एक करोड ५० लाख छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ६० लाख सहयोग गर्नेछ भने बाँकी रकम क्यानले जुटाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?