दाङ क्षेत्र नम्बर २ को निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ । प्रतिनिधिसभा सदस्यका लागि एमाले महासचिव शंकर पोखरेल र पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्माबीच प्रतिस्पर्धा हुन लागेको यो क्षेत्रमा रोचक भिडन्त हुने देखिएको छ । गठबन्धनको साझा उम्मेदवारका रूपमा प्रस्तुत हुनुभएकी शर्मा गठबन्धनको मत आफ्नो जितका लागि काफी हुने बताउनुहुन्छ । गठबन्धनको मतका आधारमा आफ्नो जित सुनिश्चित गर्न खोज्नुभएकी रेखा शर्मासँग दाङ संवाददाता विवेक खड्काले गर्नुभएको कुराकानी :-
मतदाताहरूको अपेक्षा के पाइरहनुभएको छ ?
हामीहरू लामो राजनीतिक प्रक्रियाबाट यहाँसम्म आइपुग्यौँ । अहिले पनि विकास निर्माणको अपेक्षा नै पहिलो छ । सक्ने कुराहरूमात्रै गर्नुस्, सकिँदैन भने सकिँदैन भन्नुस् भनेर सुझाव दिनुभएको छ । समग्रमा मतदाताहरूका अपेक्षा त्यति ठूला छैनन् । सामान्य जीवन यापनका कुराहरू, दैनिक जीवनसँग जोडिएका विषयहरू नै उहाँहरूको अपेक्षा केन्द्रित छ । यी दैनिक समस्याका कुराहरू कसरी समाधान हुन्छ भन्ने नै उहाँहरूको चिन्तन छ ।
मतदाताको नजरमा उपयुक्त पात्र तपाईं हो भन्ने आधार के छ ?
संविधान, लोकतन्त्र यसको पक्ष विपक्ष, हिजोका घटनाक्रम, गणतन्त्र प्राप्तिको आन्दोलन, त्यसपछि भएको अहिलेको खतरा, अहिलेको गठबन्धनको विश्लेषण गरेर हेर्ने र एजेण्डागतरूपमा कसको एजेण्डा बलियो छ भन्ने ढंगले हेर्ने मतदाता पनि हुनुहुन्छ । यो विश्लेषणसँगै आगामी निर्वाचनका लागि उपयुक्त पात्रका रूपमा मलाई हेरिरहनुभएको छ । यससँगै मसँगको सहजै पहुँच कायम हुनसक्छ, पहुँच कायम हुन सके दैनिक समस्या समाधान सहज हुन्छ भन्ने मतदाताको भावले पनि मलाई रोजेको अवस्था छ । मैले २०५० सालसम्म दाङमै रहेर काम गरेँ तर त्यसपछि पार्टीमा मेरो राष्ट्रियस्तरको जिम्मेवारी रहृयो । राष्ट्रिय महिला संगठनको केन्द्रीय नेतृत्व सम्हाल्ने परिस्थितिमा म बढी काठमाडौंमै केन्द्रित भएँ । जनयुद्धका बेलामा पनि म दाङमा हुन पाइनँ । त्यसपछि २०७० देखि २०७४ सम्म मैले जनप्रतिनिधि बनेर काम गर्ने अवसर पाएँ । तर, त्यो पनि प्रत्यक्ष निर्वाचित नभएर समानुपातिकतर्फबाट जनप्रतिनिधि बनेँ । यसर्थ म आमनागरिकसँग नजिक हुन पाइनँ । त्यो नभएपछि मतदाताहरूले प्रत्यक्ष भेटघाट गर्न नपाएको अवस्था बन्यो । तर, अहिले पछिल्लो अवधिसम्म आइपुग्दा म आममतदाताको नजिक बन्न सक्रिय छु । म जहाँ-जहाँ पुगेकी छु त्यहाँ मैले मप्रति असाध्यै सकारात्मक ‘रेस्पोन्स’ पाएकी छु ।
मतदाताहरूका गुनासालाई राजनीतिप्रतिको वितृष्णा भन्न मिल्छ ?
यसलाई राजनीतिप्रतिको वितृष्णा भन्दा पनि यो राजनीतिकर्मीप्रतिको वितृष्णा हो भन्न मिल्छ । राजनीतिकर्मीहरू बढी इमानदार बन्नुपर्ने अवस्था आएको छ भन्ने सन्देश मतदाताहरूले व्यक्त गरिरहेको भन्न मिल्छ । जोसुकै आए पनि केही भएन भन्ने गुनासो कायमै छ । यी गुनासा अन्त्यका लागि राजनीतिकर्मी बढी जिम्मेवार भएर लाग्नुपर्ने टड्कारो आवश्यकता छ । र, सत्य के पनि हो भने जहिल्यै राजनीतिक आन्दोलनभन्दा पनि नागरिकका दैनिक समस्या समाधानका लागि पनि राजनीतिक दल वा राजनीतिकर्मीहरूले भूमिका खेल्नुपर्छ ।
मतदाताहरूले दलहरूलाई बाटो हिँड्न सिकाइरहेका छन् भन्न मिल्यो ?
बाटो पहिल्याउने दलहरूले हो । तर, यो बाटोमा यसरी हिँड भनेर आमनागरिकबाट आउने सुझावलाई मार्गनिर्देशन मान्न सकिन्छ । मतदाताहरूले यसो गर, यदि गरेनौ भने राजनीतिक दलको पनि भविष्य छैन र राजनीतिकर्मीको पनि भविष्य छैन भन्नु दलहरू र हामीहरूका लागि खबरदारी पनि यो हो । यसबाट हामीले बुझ्नुपर्ने कुरा के हो भने हिजोसम्म जुन निष्ठाको राजनीति थियो, त्यो निष्ठा अहिले राजनीतिमा ओझेलमा पर्दै गएको छ । निष्ठाको राजनीतिलाई कसरी जोगाउने भन्ने चिन्तन अब राजनीतिमा जरुरी भइसकेको छ ।
राजनीतिमा कसरी यो विचलन आयो ?
मैले अघि पनि भनेँ, हिजोको जस्तो निष्ठा, हिजोको जस्तो आदर्श, मूल्यमान्यता जुनसुकै क्षेत्रमा हेर्नुस् आ-आफ्ना कामहरूप्रति समर्पित हुने कुरामा समस्याहरू छन् । जुनसुकै क्षेत्रमा पनि जुनबेला सकारात्मक प्रवृत्ति हावी भयो, त्यो सकारात्मक भएरै जाँदो रहेछ, जुनबेला नकारात्मक प्रवृत्ति हावी भयो, त्यो बेला नकारात्मकै भएर जाँदो रहेछ । यसर्थ राजनीति सही बन्दा सबै पाटो सहज भएर जान्छ तर राजनीति गलत भयो भने सबै क्षेत्रले बाटो बिराउँछन् । यसर्थ सकारात्मक बाटोलाई सबै राजनीतिक दलहरूले स्थापित गर्ने र नकारात्मक पाटोलाई किनारा लगाउने काम गर्न सकिएन भने यो बढेर जान्छ । यति भन्दै गर्दा राजनीतिमा सकारात्मक पाटाहरू छैनन् भन्न खोजेको हैन । हरेक पार्टीमा इमानदार, निष्ठावान राजनीतिकर्मीहरू पनि हुनुहुन्छ । यस्ता राजनीतिक पात्रहरूलाई अगाडि ल्याएर निष्ठाको राजनीतिलाई स्थापित गर्नु जरुरी छ । यसो हुन सक्यो भने फेरि राजनीतिप्रतिको आकर्षण बढेर जानेछ ।
तपाईंलाई ‘हेभिवेट’ नेतासँग भिडेको ‘सामान्य’ उम्मेदवार भन्छन् नि ?
अहिले निर्वाचनमा आउँदा हेभिवेटको कुरा गरिरहेका छन् । मेरो एउटा प्रश्न छ हेभिवेट केलाई मान्ने हो ? हाम्रो दृष्टिकोणलाई परिवर्तन गर्न जरुरी छ जस्तो मलाई लाग्छ । हाम्रो एजेण्डालाई हेभिवेट मान्ने हो कि, व्यक्तिको पदीय हैसियतलाई हेभिवेट मान्ने हो ? हिजो गणतन्त्र प्राप्तिको आन्दोलनमा भूमिका निर्वाह गरेको हिसाबले हेर्ने हो कि, संविधान निर्माणमा भूमिका निर्वाह गरेको हिसाबले हेर्ने हो कि, उत्पीडित समुदायको अधिकार प्राप्तिका लागि गरेका हाम्रा योगदानको हिसाबले हेर्ने होे भने म हेभिवेट हो । हेभिवेट केलाई मान्ने भन्ने कुरा आ–आफ्नो ठाउँमा छ जस्तो लाग्छ मलाई ।
चुनावी अंकगणितको सम्भावित आँँकलन कसरी गरिरहनुभएको छ ?
मैले अघि पनि भनेँ, हामी गठबन्धनमा आबद्ध चार राजनीतिक दलका मतदाताहरूको संख्यामात्रै जोड्यौँ भने हाम्रो जित सुनिश्चित छ । यो चुनावी गणितका हिसाबले गरिएको आँकलन हो । तर, चुनाव गणितका हिसाबले मात्रै हुँदैन, चुनाव कला पनि हो । चुनावमा अरू पक्ष पनि हुन्छन् । यसर्थ अरूले भने जस्तो चुनावमा प्रतिस्पर्धा छैन, म यसो भन्दिनँ । म अरूले जस्तो कसैलाई मिनिमाइज गर्ने पक्षमा छैन । तर, के हो भने हामीले हाम्रो मतलाई बदर हुनबाट जोगाउन सक्नुपर्छ । हिजो स्थानीय तहको निर्वाचनमा मत बदरका कारणले घोराही, तुलसीपुर उपमहानगरमा हारेको तितो यथार्थता हाम्रासामु छ । अहिले त्यो बेलाको मतदानको जस्तो भन्झट र अलमल छैन । फलतः त्यो मत बदरको दुर्भाग्य हामीले बेहोर्नुपर्ने छैन । यसका लागि हामीहरूले अहिले मिहिनेत गरिरहेका छौँ । अहिले सचेत मतदाताहरूमा मैले के पनि देखिरहेकी छु भने यो त कुनै व्यक्तिलाई हराउने, जिताउने भन्दा पनि यो त संविधानलाई हराउने कि जिताउने ? लोकतन्त्रलाई हराउने कि जिताउने ? गणतन्त्रलाई हराउने कि जिताउने भन्ने चुनाव पनि हो भन्ने बुझाइ विकसित छ । यसर्थ व्यक्तिगतरूपमा रेखा शर्मा जित्छे कि हार्छे भन्ने कुरामात्रै ठूलो हैन, हाम्रो एजेण्डा ठूलो कुरा बन्यो, संविधान ठूलो कुरा बन्यो, लोकतन्त्र, गणतन्त्र ठूलो कुरा बन्यो । यसर्थ हाम्रो जित निर्विकल्प नै हो ।
गठबन्धन कार्यान्वयनको पाटो कति बलियो बन्ला ?
मैले गठबन्धन कार्यान्वयनमा कुनै असहजता देखेकी छैन । राष्ट्रिय स्वार्थका निम्ति हामीहरूले दलीय स्वार्थ त्याग गरेको कुरा हो । नत्र अहिले गठबन्धनमा भएका सबै पार्टीका अलग-अलग उम्मेदवार हुने थियौँ होला नि त । पार्टीभित्रकै केही साथीहरूका गुनासा पनि सम्बोधन हुन्थे होला । धेरै आकांक्षीहरू उम्मेदवार बन्ने अवस्था आउने थियो । तर, हिजोको प्रतिगमन कुनै एउटा पार्टीले मात्रै रोक्न सकेन, त्यो कांग्रेसले मात्रै पनि सकेन । माओवादीमात्रैले पनि सकेन । अन्य पार्टीले पनि एक्लै सक्ने कुरा थिएन । राष्ट्रिय स्वार्थका निम्ति गठबन्धन गरेका छौँ भन्ने कुराको राम्रो बुझाइ भइसकेको हुनाले हाम्रा मतदाताहरू प्रभावित नहुनेमा म ढुक्क छु ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका