आइतीमाया सार्कीको पाँच जनाको परिवार

आवासको कन्तविजोग, गाँसको छैन भर

हिमालय टाइम्स
Read Time = 12 mins

राधिका बुढाथोकी/हिटा
सिन्धुली । भोक मेट्न गाँस, शरीर छोप्न लुगा अत्यावश्यक छ । त्यस्तै, बासका लागि आवास चाहिन्छ । सुरक्षित आवास नहुँदा मानव जीवन अत्यन्तै कष्टकर बदन्छ । यसैको अभावमा कष्टकर मात्रै होइन, कन्तविजोग अवस्थामा गुज्रिरहेको छ, आइतीमाया सार्कीको परिवार । सिन्धुलीको दुधौली नगरपालिका-३ चारघरेमा अवस्थित झुँगा-जगाडी-धनसरी सडकमुनि तथा कमला नदीमाथि एउटा झुप्रो छ । जंगली हात्ती, हावाहुरी र पानीले त्यसलाई पूर्ण रूपमा क्षति गरेको छ । जंगलमा निःशुल्क पाइने थाकलले छाएको छानो मकिएर ठाउँठाउँमा प्वालैप्वाल बनेको छ ।

छानो घाम छेक्छ, पानी छेक्दैन । रातमा परेको सीतलेसमेत अचेल बस्ने ठाउँ ओसिएको छ । भुइँ ओभानो छैन । झुप्रो घरको घेराबेरा काम चलाउसमेत छैन । सुत्केरी आइतीमाया, श्रीमान् दिलबहादुर र उहाँका तीनजना काखैका सन्तान असुरक्षित झुप्रोमा गुजारा चलाउन बाध्य छन् । यही झुप्रो पनि वर्षमा दुई पटकसम्म जंगली हात्तीले भत्काइदिने, कहिले हावाहुरी र पानीले उदांगो बनाइदिने गरेकोे सार्कीले हिमालय टाइम्ससँग दुःखेसो पोख्नुभयोे । ‘पानी पर्दा खाटमुनि छिरेर बस्छौँ,’ आइतीमायाले भन्नुभयो ।

पानीले नभिजियोस् भनेर खाटमाथि थोत्रे त्रिपाल टाँगिएको छ । त्यसले रातमा पर्ने शीत अलीअली छेके पनि आकाशबाट दर्किने पानीबाट बचाउँदैन । सुत्केरी, शिशुसहित पाँचजना सुत्ने साँघुरो खाटमा बोरा ओछ्याइएको छ । बोरामाथि पातलो तन्ना बिछ्याइएको छ । जहाँबाट खाटको पट्टा छर्लङ्गै देखिन्छ ।

जेठो सन्तान नौ वर्षीय रमेश सार्कीले बस्न, खान, लगाउन दुःखै दुःख भइरहेको गुनासो गर्नुभयो । आफ्नोमा बसिरहँदा हावाहुरी चल्यो, ठूलो पानी पर्‍यो भने ओत लाग्न दौडिएर ओल्लोपल्लो घर जाने गर्दाको पीडा सुनाउँदा उहाँ भक्कानिनुभयो । यस्ता अभावले दिएको दबाबका थुप्रै पीडाबाट यो परिवार जसोतसो जीविका चलाउँदै आइरहेको छ ।

उहाँको झुप्रो घर छिमेकीहरूको घरबाट अलि टाढा छ । छिमेकीहरूको घर सडक नजिकै छ । उहाँको झुप्रो सडकबाट देखिन्छ । छिमेकीहरूको खेतीयोग्य जग्गाको बीचमा उहाँको झुप्रो घर मात्र छ । यो झुप्रो बनाउने ठाउँ पनि हजुरआमाले दिनुभएको आइतीमायाको श्रीमान् दिलबहादुर सार्कीले जानकारी दिनुभयो । पैसा नभएर घर बनाउन नसकेको उहाँले बताउनुभयो । ‘पाँच जनाको परिवार गाउँलेकोमा बनिबुतो गरेर पाल्नै धौधौ छ । मजदुरी नगरेको दिन भोकै बस्नुपर्ने अवस्था आउँछ,’ उहाँले भन्नुभयो ।

हप्ता दिनको सुत्केरी र साना बालबच्चा बस्दै आएको झुपडीमा बुधबार दिउँसो थोत्रामैला लुगा, बच्चाको थाङ्ना, केही भाँडाकुँडा र एउटा खाट मात्रै देखियो । ढोकानजिक एउटा रित्तो बोरा थियो । अर्को एउटा रित्तो पहेँलो रङको बोरा हातमा लिएर सुत्केरी आइतीमाया साँझको छाक टार्न चामलको खोजीमा हुनुहुन्थ्यो ।

स्थानीयवासी संसारीमाया सार्कीले गाँस, बास र कपासको अभावले यो परिवारको कन्तबिजोग भएको बताउनुभयो । उहाँका अनुसार श्रीमान् श्रीमती नै सुस्त मनस्थितिको हुनुहुन्छ । घर व्यवहार चलाउन बनिबुतोको भर छ । यसको अलवा मागेरै खानुपर्ने दयनीय अवस्था रहेको उहाँले सुनाउनुभयो ।

वर्षौंसम्म एउटा साँघुरो झुपडीमा यसैगरी कन्तबिजोगका वर्षहरू बिताएको ५९ वर्षीय राम पुकार कुमरको अर्को एउटा परिवार हो । दुई महिना अघिसम्म दुधौली नगरपालिका-३ खुट्टेपानीमा अवस्थित झुङ्गा–जगाडी–धनसरी सडक छेवैमा धराशयी बनेको एउटा झुपडी थियो । जंगल फँडानी गरेर बनाइदिएको झुप्रो घरको छानोबाट चुहिएको पानीले लुगाफाटो भिजेर कैयौँ रातहरू आगो तापेर बिताएको उहाँलाई अहिले जस्तो लाग्छ । किरा फट्याङ्ग्राले दुःख दिएको, सानो घरमा कोचाकोच गरेर बस्नु परेको, बिजुली बत्ती जोड्न नसक्दा रातमा उज्योलो हेर्न नपाएको जस्ता थुप्रै अभाव, दुःख र पीडा भोगाई अहिले पनि उहाँहरूसँग ताजै छन् । ‘हाम्रो ऊ त्यहाँ एउटा झुप्रो थियो, बिजोगले बसेका थियौँ,’ उहाँले भन्नुभयो ।

राम पुकारसहित सात जनाको परिवार छ । श्रीमती ४७ वर्षीया भुइती कुमर दनुवार अपांगता हुनुहुन्छ । उहाँमा हिँडाइ, सुनाइ र बोलाइसम्बन्धी समस्या छ । गरिबीका कारण जेठी छोरीलाई कलिलै उमेरमा विवाह गरिदिनु पर्‍यो । दुई छोरी, दुई छोरा आफूसँगै रहेका उहाँले बताउनुभयो । यो परिवार अहिले चिटिक्क परेकोे पक्की घरमा बस्छन् । सडकमाथि जंगल छेउमा दुई कोठे पक्की घर छ । यही घरमा भेटिनुभएको कुमर परिवारले आजसम्म कसैले नगरेको सहयोग गरेर क्षेत्रबहादुर बमजनले आफूहरूको उद्धार गर्नुभएको भन्दै खुसी व्यक्त गर्नुभयो । सहयोगी तथा समाजसेवी बमजन आगामी मंसिर ४ मा हुने निर्वाचनमा कांग्रेसबाट गठबन्धन दलको साझा उम्मेदवार हुनुहुन्छ । उहाँले प्रदेशसभा क्षेत्र नं. २ (क) सिन्धुलीबाट उम्मेदवारी दिनुभएको छ ।

बमजनले सडक निर्माणका क्रममा आफूहरूको लागि सुरक्षित घर बनाइदिनु भएको कुरा उहाँलाई जानकारी छ । घर बनाउन कति खर्च लाग्यो उहाँलाई थाहा छैन । जमिन सम्याएर घर बनाउँदा पाँच/६ लाख लागेको उहाँको अनुमान छ । ‘जति लागेको भए पनि घर बनाइदिएर सहयोग गर्नुभयो, खुसी लागेको छ,’ उहाँले भन्नुभयो, ‘क्षेत्र बमजन मेरो ठूलो भगवान् हो । उहाँले हामीलाई चामल, तरकारी, नुनतेल र लुगा पनि ल्याउनुभएको थियो ।’ बिजोक गरी बस्दै आएको झुपडी विस्थापित गरेर कुमर परिवार नयाँ घरमा सर्नुभएको तीन महिना पुग्नै लाग्यो । उहाँहरू यो घरमा बस्न थालेसँगै समाजसेवी बमजनको वडावासीले खुलेर प्रशंसा गरेका छन् ।

दुधौली नगरपालिका-३ की वडा अध्यक्ष भद्राकुमारी माझीले जनजाति र दलित समुदायको बाहुल्यता रहेको आफ्नो वडा हरेक हिसाबले पछाडि परेको बताउनुभयो । आर्थिक, सामाजिक, शैक्षिकलगायत सबै हिसाबले यहाँका अधिकांश परिवारको अवस्था दयनीय रहेको उहाँले सुनाउनुभयो । वडाध्यक्ष माझीका अनुसार वडामा गाँसको जोहो गर्दा गर्दै आवासको जोहो गर्न नसकेर बिजोग लाग्दो अवस्थामा बसिरहेका अरू घरपरिवारहरू पनि छन् । त्यसमध्येमा पनि तुरुन्तै सुरक्षित घर बनाएर उद्धार गर्नुपर्ने अवस्थामा आइतीमायाको परिवार छ । आजै, अहिले नैै घर बनाउन अति आवश्यक रहेको, घर बनाइदिने मन भएर पनि आर्थिक अवस्थाका कारण नसकेको उहाँले बताउनुभयो ।
जाडो याम सुरु भइसकेको छ । कमला नदी र जंगल तर्फबाट चिसो सिरेटो चल्छ । पानी छिट्याएझँै शीत झर्छ । यसले सुत्केरी र काखका बालबालिकाको स्वास्थ्य झनै बढी असर गरिरहेको छ । बस्दै आएको घर अहिले ढल्छ कि भरे ढल्छको अवस्थामा छ । यस्तो खतरा अवस्थामा गुज्रिरहेको परिवारलाई घर बनाएर सुरक्षा प्रदान गर्न आजको दिनसम्म आफूले नसकिरहेकोमा आफँैलाई पीडा भइरहेको उहाँले बताउनुभयो ।

‘मैले मेयर, उपमेयरलाई सँगै राखेर नगरले आइतीमायाको परिवारलाई सुरक्षित आवासको लागि कुनै व्यवस्था गरिदिनु हुन्छ या म वडाको बजेटले बनाइदिऊँ ? भनेर कुरा गरेको थिएँ । उहाँहरूले विवादमा पर्ने काम नगर्नु, त्यसलाई जनता आवास कार्यक्रममा मिलाउँला भनेर आश्वासन दिनुभएको छ,’ उहाँले सुनाउनुभयो ।

सरकारी काम प्रक्रिया मिलाउँदै ढिला हुने उहाँको बुझाइ छ । गोजीमा भएको पैसा फुत्त निकालेर दिएको जस्तो सजिलो नहुने रहेछ, सुस्त मनस्थिति भएका, शिक्षाबाट वञ्चित रहेका, पछाडि परेका समुदाय सरकारले दिएको सुविधा लिन कागजात मिलाउन, पुर्‍याउनै नसक्ने रहेछन् । यसैकारण हरेक अवसरबाट यस्तै परिवार छुट्ने, छुटिरहेका उहाँले बताउनुभयो ।

यस्तै, समुदायको जीवनस्तर उठाउन, उहाँहरूलाई हर तवरले सहयोग गर्न आफू वडाध्यक्षमा निर्वाचित भएको उहाँले बताउनुभयो । यसका लागि आफ्नो योग्यता, क्षमता र पहुँचले भ्याएसम्म पहल गरिरहेको उहाँको भनाइ छ । व्यक्तिगत ठूलो आर्थिक सहयोग गरेर आइतीमायाको परिवारलाई घर बनाउन आफैँ ऋणै ऋणमा डुबेकाले नसकिरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

सरकारी काममा प्रक्रिया मिलाउँदै ढिलासुस्ती हुने भएकाले व्यक्तिगत रूपमा सबैबाट थोरै थोरै सहयोग संकलन गरेर तत्कालै उहाँको घर बनाउन आवश्यक रहेको वडाध्यक्ष माझीले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘एकले थुकी सुकी, सयले थुकी नदी भनेझैँ सबैको सानो सानो सहयोगले सार्की परिवारको उद्धार चाँडै गर्न सकिन्छ । म आफूले सकेको पहल र सहयोग गर्ने प्रयास गरिरहेकी छु । तपाईंहरू पनि आ-आफ्नो ठाउँबाट सकेको सहयोग गरिदिनुहोस् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?