सुशासनबाट मुलुकको समृद्धि कायम हुन्छ: डा कोइराला

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा शेखर कोइरालाले मुलुकमा सुशासन कायम गरी समृद्ध नेपाल निर्माणका लागि गठबन्धन दललाई विजयी गराउन आग्रह गर्नुभयो ।

विराटनगर महानगरपालिका-४ स्थित राजवंशी चोकमा आज आयोजित कोणसभामा उहाँले कांग्रेस भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न अत्यन्त गम्भीर रहेको र यसमा कुनै किसिमको शङ्का नगर्न आग्रह गर्नुभयो । नेता कोइरालाले विराटनगरलाई व्यवस्थित सहर निर्माण गर्ने जिम्मा गठबन्धनले लिएको उल्लेख गर्नुभयो । नगर भएर बग्ने दुई खोला केशलिया र सिंघियामा तटबन्ध निर्माण गरी व्यवस्थित र रमणीय बनाउनेतर्फ आफ्नो प्रयास रहने उहाँले धारणा राख्नुभयो ।

केशलिया खोलामा सुनसरीको दुहवीदेखि विराटनगरको रानीसम्म सडक करिडोर निर्माण गर्न रु १४ अर्बको योजना अगाडि बढेको डा कोइरालले सो अवसरमा जानकारी दिनुभयो । उहाँले लोकतन्त्रलाई सुदृढीकरण गर्न, संविधानको रक्षा गर्न र भ्रष्टाचार नियन्त्रणका लागिसमेत आगामी निर्वाचनमा गठबन्धन दलले जित्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राष्ट्रियसभामा कांग्रेसका नेता रमेशजङ्ग रायमाझीले नगरलाई दोस्रो ठूलो सहरको रुपमा विकासमा गर्न गठबन्धन दलका उम्मेदवारको विजयी सुनिश्चित गराउन आग्रह गर्नुभयो । राष्ट्रियसभाका सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता गोपी अछामीले मुलुकमा विकास र समृद्धिको यात्रा पूरा गर्न गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताउनुभयो ।

मोरङ क्षेत्र नं ६ मा कांग्रेसबाट समानुपातिकतर्फका उम्मेदवार चुमनारायण तवदारले रोजगारी सिर्जनाका लागि उद्योगको स्थापना, प्राविधिक शिक्षा र बाढीबाट नगरको संरक्षणका लागि तटबन्ध निर्माण गर्न गठबन्धनको जित आवश्यक रहेको धारणा राख्नुभयो । मोरङ क्षेत्र नं ६ ‘क’ मा माओवादी केन्द्रका उम्मेदवार जीवन आचार्यले शिक्षा, स्वास्थ्य, सुकुम्बासी समस्या समाधान र नगरको भौतिक पूर्वाधार निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?