आधारभूत पूर्वाधार निर्माणमा ध्यान दिन उम्मेदवारलाई मतदाताको आग्रह

हिमालय टाइम्स
Read Time = 8 mins

ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीका मतदाताहरूले घरदैलो अभियानमा गाँउमा आएका उम्मेद्वारसँग विकासका ठूला र महत्वकांक्षी योजनाहरु भन्दापनि आधारभूत पूर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरेका छन् ।

उनीहरूले घरदैलोका लागि गाउँ केन्द्रित भएका उम्मेदवारसँग पहिले आधारभूत आवश्यकता पूरा गर्न आग्रह गरेका छन् । “हामीले खेती समयमा रासायनिक मल र विऊ पाउँदैनौ, सहज रुपमा मल र विऊ पाउने व्यवस्था मिलाउनुहोस्” बेनी नगरपालिका-२ बगरफाँटका पदमपाणी शर्माले भन्नुभयो“ गाउँमा खानेपानी, सिंचाइ र रोजगारीको व्यवस्था गरिदिनुहोस्, ठुलाठूला योजनाका कुरा गर्नु भन्दापनि आधारभूत आवश्यकताका कुराहरु पैसा तिरेर भएपनि सहज रुपमा पाउन सक्ने व्यवस्था गरिदिनु भयो भने हाम्रा लागि ठूलो कुरा हुन्छ ।”

त्यसैगरी मालिका गाउँपालिका-३ बेलीका स्थानीय टेकबहादुर विकले खानेपानी, सिंचाइ, सडक र विरामी पर्दा नजिकमा रहेका स्वास्थ्य संस्थामा उपचार गर्न पाउने व्यवस्था मिलाइ दिए राम्रो हुने विचार व्यक्त गर्नुभयो ।

गठवन्धनको तर्फबाट प्रदेश सभा म्याग्दी (२) का उम्मेदवार रेशम जुग्जालीले जनतालाई विकास र समृद्धिको आवश्यक भएको बताउनुभयो । उहाँले गठबन्धनको लक्ष्य नै मुलुकको समृद्धि भएकाले जनताले साथ दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

“जिल्लाको समग्र विकासका लागि हामीले दीर्घकालीन गुरुयोजना बनाउन आवश्यक छ,”जुग्जालीले भन्नुभयो, “मुलुकको आर्थिक विकासका लागि कृषि उत्पादनमा ध्यान दिनुपर्छ ।” कृषि उत्पादन बढाउन किसानलाई मल, विउ र कृषि उपज अनुदानमा दिनुपर्ने धारणा व्यक्तगर्नुभयो ।

त्यस्तै मंगला गाउँपालिकाको रणबाङका हरिकृष्ण पौडेलले चुनावको बेला बाहेक अरु समयमा पनि गाउँमाआएर जनताका दुःख सुख बुझ्न नेताहरुलाई आग्रह गर्नुभयो । नेताहरुले आफ्ना कार्यकर्ता बाहेक जनताको वास्ता नगर्ने गरेको वताउँदै उहाँले, “आफ्ना कार्यकर्ता वाहेक अरु जनताको नेताहरुलाई अघिपछि वास्ता नै हुँदैन,चुनाव आयो भने वल्ल जनता चाहिन्छ ।” उहाँले भन्नुभयो, “चुनावजितेर गएपछि पटकै गाउँ फर्केर नआउने चाड-पर्वमा विवाह भएका छोरीबेटी माइत आएजस्तै नेताहरु पनि कहिलेकाँही जिल्लामा आएपनि आफ्नाआसे-पासेलाई मात्रै भेटेर फर्कने गर्दा सर्वसाधारण जनता निराश छन् ,”उहाँले भन्नुभयो ।

रघुगंगा गाउँपालिका-३ कलेजावाङका मतदाता पदमबहादुर खत्रीले गाउँमा उत्पादन भएका कृषि अनाज, तरकारी, दूध, फलफूल आदिको उचित मूल्य पाउने वातावरणसहित सजहरुपमा कृषि बजारको व्यवस्था मिलाइदिन सके कृषकहरुलाई ठूलो राहत हुने वताउनुभयो । त्यसका साथै कृषि उपकरण र मलविऊको समयमा नै सहज रुपमा कृषकले पाउन सक्ने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो ।

मतदाता संगको छलफलको क्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार खमबहादुर (खमबीर) गर्वुजाले आफू र गठवन्धनका उम्मेदवार विजयी भएपछि कृषकहरुका समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै उत्पादन मुखी कार्यमा ध्यान दिन किसानहरुलाई आग्रह गर्नुभयो ।

त्यस्तै गठवन्धनको तर्फबाट प्रदेश सभा १ का उम्मेदवार हरी भण्डारीले आफू गाउँ ठाउँमा हुर्के बढेको मान्छे भएको हुनाले किसानहरुका समस्यासँग राम्रोसँग परिचितभएको बताउँदै परिवर्तित अवस्था र चुनौतिपूर्ण विकासको गतिलाई अघि बढाउन गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्नुपर्ने बताउनुभयो ।

उता नेकपा एमालेका उम्मेदवारहरुसँग पनि ग्रामीण भेगका मतदाताहरुले किसानका समस्यालाई समाधान गर्न आग्रह गरेका छन् ।

बेनी नगरपालिका-३ भकिम्लीको मुसुङका टीका मगरले बेनी-भकिम्ली सडकको स्तरोन्नति, कृषी उत्पादनको बजारीकरणका साथै कृषकलाई गाउँमा नै गरिखाने वातावरण मिलाइदिन सके राम्रो हुने वताउनुभयो ।

नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार हरिकृष्ण श्रेष्ठले गाउँका सडकहरुको मापदण्ड तयार गरेर सबै सडकहरुको स्तरीकरण गरी सुविधाजनक गराउने, कृषकहरुको जीवनस्तर वृद्धिका लागि आधुनिक कृषि प्रणाली विकास गर्नेलगाएतका योजनाहरु सुनाउनु भयो ।

त्यसैगरी नेकपा एमालेको तर्फवाट प्रदेशसभा १ का उम्मेदवार देवेन्द्रबहादुर कटुवालले जिल्ला समन्वय समितिमा पाँचवर्ष समन्वय प्रमुख भएर कामगर्दा आफूले कृषकहरुका समस्या र वाध्यताहरु बुझेको बताउँदै कृषकहरुलाई उत्पादन सँग जोडेर जीवनस्तर उकास्ने काममा आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिनिधी सभामा एक र प्रदेश सभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधि सभामा ३ जना स्वतन्त्र सहित ९ जना, प्रदेश सभा क्षेत्र (क) र (ख) मा पाँच/पाँचजना उम्मेद्वार छन् । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल र ११९ वटा मतदान केन्द्र छन् । बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको प्रदेश सभा क्षेत्र (क) मा ४८ हजार ४७२, मंगला, मालिका र धवलागिरी गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेश सभा क्षेत्र (ख) मा ३७ हजार ६४८ गरी जिल्लाभरी जम्मा ८६ हजार १२० जना मतदाता छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?