सुरु भयो नेपालमै अनौठो पाल्पाको सत्यवती मेला, जहाँ सत्यवती बज्यैसँग चिच्याएर वर मागिँदै

पाल्पाको सत्यवती मन्दिरमा चिच्याएर वर माग्दै भक्तजनहरु । तस्बिर : रामचन्द्र रायमाझी

हिमालय टाइम्स
Read Time = 6 mins

-रामचन्द्र रायमाझी

पाल्पा । नेपालमै अनौठो पाल्पाको सत्यवती मेला आज (शुक्रबार)देखि सुुरु भएको छ । प्रायः मन्दिरमा भगवान्सँग मनमनै वर तथा आशीर्वाद माग्ने गरिन्छ । अरूले आफ्नो वर भरसक थाहा नपाऊन् भनेर कामना सबैले गर्छन् तर पाल्पामा एउटा यस्तो दैवी शक्ति रहेको विश्वास छ जहाँ भक्तजनहरू मनमनै होइन अरूलाई सुनाएरै आफ्नो वर माग्ने गर्छन् । पाल्पाको तिनाउ गाउँपालिका-४ सत्यवतीमा रहेको सत्यवती मन्दिरमा आजदेखि भक्तजनले चिच्याएरै वर माग्नेछन् । यहाँ पुुग्ने जो कोहीले सत्यवती बज्यैसँग चिच्याएरै वर माग्ने चलन छ ।

सत्यवती बज्यैदेवी कानले नसुन्ने भएकाले भक्तजनले चिच्याएर वर माग्ने चलन रहेको हो । ‘हे सत्यवती बज्यै मैले राम्रो श्रीमान्श्री/मती पाऊँ, छोरा पाएमा फेरि तिम्रै शरणमा आउनेछु, मैले यसै वर्षभित्र सरकारी जागिर पाऊँ, पढाइमा सफल हुन पाऊँ, मनले चिताएका सबै कुरा पुगोस्, सबै कुराले भरिपूर्ण हुन पाऊँ आदि आदि ।’ यी र यस्तै वर माग्ने पाल्पाको प्रसिद्ध सत्यवती मेला यस वर्ष कात्तिक २२ गतेसम्म लाग्नेछ । हरेक वर्ष यहाँ कात्तिक पूर्णिमासम्म तीन दिन मेला लाग्दै आइरहेको छ । यसवर्ष भने दुई दिन थप गरेर पाँच दिनसम्म मेला लाग्ने भएको हो । विगतका केही वर्ष कोभिडका कारण चहपहल नभएको मेला यो वर्ष भने भव्य हुने जनाइएको छ । यस वर्ष सत्यवती बज्यैको दर्शन तथा पूजाआजा गर्न विशेष साइत जुरेकाले गत वर्षभन्दा धेरै भक्तजन सहभागी हुने मन्दिर व्यवस्थापन समितिको अपेक्षा छ ।

यहाँ बाँसको लिंगो लिएर आवाज निकाल्ने गरी चिच्याउँदै वर माग्ने र सत्यवती मन्दिर परिसरको पोखरीमा लिंगो गाडेर पूजा गर्ने चलन छ । सत्यवती तालको वरपर तीनपटक घुमेर सार्वजनिक रूपमै वर माग्नुपर्छ । स्थानीय संस्कृतिअनुसार चिच्याएर वर जसले माग्छ, उसलाई पूरा हुने विश्वासका साथ चिच्याउने गर्छन् । त्यसपछि तालको छेउमा बाँसको लिंगोे गाडेर पूजा गरिन्छ ।

विगतमा प्रायः कात्तिक चतुर्दर्शीका दिन भक्तजन सत्यवती बज्यैको मन्दिरमा वास बस्ने, पूजा पाठ गर्ने, बिहान देवीसँग चिच्याएर वर मागी झिसमिसेमै बाटो लाग्ने चलन रहेको थियो । तर, हिजोआज भने यो परिमार्जित भएको छ । यो बेलाको पूजा विशेष हुने भएकाले पनि मेलाको महत्व रहेको छ । यहाँ एक बज्यै उत्पत्ति भएको र ती बज्यैसँग एक युवाले मनोकांक्षा मागेको बज्यैले कसैलाई नसुनाए फल पाउने र सुनाए उसको मृत्यु हुने वचन दिएकोमा ती युवाले घर फर्किएलगत्तै सुनाउँदा उनको मृत्यु भएकाले कसैलाई नभन्ने र बज्यैलाई चिच्याएर वर माग्ने चलन बसेको स्थानीय बुढापाका बताउँछन् । परापूर्व कालमा सत्यवती बजैले कुभिण्डोको भाडामा पिउने पानी लिएर हिँडेको र सोही क्रममा यहाँ विश्राम गर्दा पोखिएर बनेको पोखरी पनि कुभिण्डो आकारकै बनेको किम्वदन्ती छ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सत्यवती मेलामा दर्शन गर्न र भाकलअनुसार पूजा गर्न आउनेहरूको घुइँचो लाग्दछ । पाल्पा जिल्लासहित छिमेकी जिल्लाहरूका विभिन्न स्थान र भारतको सुनौली, नौतुना, गोरखपुर लगायतका क्षेत्रबाट समेत यहाँ भक्तजन आउने गर्दछन् ।

मेलामा दर्शन गर्न र भाकलअनुसार पूजा गर्न विभिन्न स्थानबाट ठूलो संख्यामा दर्शनार्थी भित्रिने हुनाले पूजालाई व्यवस्थापन गर्न स्वयंसेवकहरू खटाइएको सत्यवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुुभयो । यो वर्ष मेलामा आउने भक्तजनलाई सहज रूपमा मन्दिरसम्म पुग्न यातायातको व्यवस्था र सुरक्षाको प्रबन्ध मिलाइएको वडा अध्यक्ष तुलबहादुर गाहाले बताउनुुभयो ।

उहाँका अनुसार मन्दिर पुग्ने सडक मर्मत, मन्दिरमा पिउने पानी, ट्वाइलेटको थप व्यवस्थापन गरिएको छ । यस वर्ष डेढ लाख दर्शनार्थी आउने र सो अवधिमा ६ लाख भेटी उठ्ने अनुमान मन्दिर व्यवस्थापन समितिको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?