सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, आज पनि बहस हुने

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस बिहीबार पनि नसकिएपछि आज (शुक्रबार) का लागि हेर्दहेर्दैमा राखिएको छ । प्रतिवादी सन्दीपका तर्फबाट बिहीबारसम्म आठजना अधिवक्ताले बहस गरेका छन् । बिहीबार प्रतिवादी सन्दीपका तर्फबाट चार वरिष्ठ अधिवक्तासहित ६ जनाले बहस गरेका छन् । बुधबार दुईजनाले सन्दीपका तर्फबाट बहस गरेका थिए । शुक्रबार निवेदक पक्षले जवाफी बहसका लागि समय पाएपछि आदेश आउनेछ ।

कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबार बयान भएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस नसकिएपछि अब शुक्रबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

पूर्व-महान्यायाधिवक्ता रमन श्रेष्ठपछि सन्दीप लामिछानेको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता शम्भु थापा पनि थपिनुभएको छ । दुई दिनअघिमात्रै श्रेष्ठ सन्दीपको पक्षमा जोडिनुभएको थियो । श्रेष्ठ जोडिएसँगै सन्दीपको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता लभ मैनाली, कृष्ण सापकोटा र सरिता भण्डारी तथा अधिवक्ता मुरारी सापकोटा, सरोज घिमिरे र रोशनी पौड्यालको टिम तयार भएको थियो । सन्दीपका पक्षमा बहस गर्ने वकिलहरूले बलात्कार नै नभएको, केटी बालिग रहेकाले सन्दीपले सफाइ पाउनुपर्ने दाबी गरेका थिए । सन्दीपलाई बलात्कारको आरोप लगाउने किशोरीमाथि बालिग भएको प्रमाण नै पेश भएकाले नाबालिग भन्दै दायर भएको अभियोग नै खारेज हुनुपर्ने उनीहरूको तर्क छ । बहस सकिएपछि अदालतले थुनछेक आदेश सुनाउनेछ । अदालतले थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने आदेश गर्नेछ ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ । संहिताको दफा २१९ को उपदफा (३) देहाय (घ) मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन् भने पीडितले आफूमाथि बलात्कार भएको बयान दिएकी छिन् । लामिछानेविरुद्ध नाबालिकमाथि जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले गत असोज २० गते उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?