आइएमएफ प्रतिनिधिसँग सिएनआईको गुनासो

Read Time = 3 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष विष्णुकुमार अग्रवाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) नेपालका प्रतिनिधि टेरेसा डबान सांचेजबीच नेपालको अर्थतन्त्रका विषयमा छलफल भएको छ ।

सिएनआई सचिवालयमा बिहीबार भएको भेटवार्तामा मुलुकको पछिल्लो अर्थतन्त्र, उद्योगी व्यवसायीले भोगेका समस्या, अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमलगायतका विषयमा छलफल भएको बताइएको छ । सिएनआईका अध्यक्ष अग्रवालले लगानीयोग्य रकम अभाव, उच्च ब्याजदर, कम पुँजीगत खर्च, नेपाल राष्ट्र बैंकले हालै लागू गरेको चालु पुँजी कर्जा निर्देशिकालगायतका कारण उद्योगी व्यवसायीको आत्मविश्वासमा निकै कमी आएको गुनासो गर्नुभयो ।

उहाँले मागमा आएको संकुचनका कारण उद्योगको प्रकृतिका आधारमा ३० देखि ७० प्रतिशतसम्म उत्पादन र मागमा गिरावट आएको भन्दै अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्रको आत्मबल बढाउने खालको नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । एकैपटक सबै सुधारका उपकरण लागू गर्दा अर्थतन्त्रमा थप समस्या बढ्न सक्नेतर्फ सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।

सिएनआईका अनुसार आइएमएफ प्रतिनिधि सांचेजले कोरोना असरबाट विस्तारै बाहिर आउने क्रममै रसिया–युक्रेन युद्धले विश्व अर्थतन्त्रलाई नै समस्यामा पारेको बताउनुभयो । तथापि विभिन्न चुनौती रहे पनि एसियाको अर्थतन्त्र तुलनात्मकरूपमा राम्रो रहेको बताउनुभयो । नेपालप्रति अन्तर्राष्ट्रिय समुदाय निकै सकारात्मक रहेको भन्दै आगामी दिनमा त्यसले नेपाललाई फाइदा गर्ने पनि उहाँले बताउनुभयो । सो अवसरमा सिएनआईका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, मानार्थ उपाध्यक्ष अनुज अग्रवाल, बैंक तथा वित्तीय समिति सभापति अनलराज भट्टराई, महानिर्देशक दीपकराज जोशीलगायत हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?