मुगु र हुम्लामा डिजेल प्लान्टमार्फत् विद्युत्, प्रतियुनिट उत्पादन लागत ८० रुपैयाँ

Read Time = 8 mins

काठमाडौं । गत असोजमा आएको भारी वर्षाका कारण साना जलविद्युत् गृहहरूमा ठूलो क्षति पुर्‍याएपछि नेपाल विद्युत् प्राधिकरणले मुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति व्यवस्था गरेको छ ।

क्षति पुर्‍याएका विद्युत् गृह पुनर्निर्माण तथा मर्मत नगरी त्यो क्षेत्रमा विद्युत् उपलब्ध नहुने अवस्था आएपछि प्राधिकरणले तत्कालका लागि डिजेल जेनेरेटरमार्फत् विद्युत् उत्पादन गरी आपूर्ति गर्ने भएको हो । प्राधिकरणले जेनेरेटर ती जिल्लामा पुर्‍याइसकेको छ ।
प्राधिकरणका अनुसार बाढीपहिरोले मुगुस्थित चार सय किलोवाटको गमगाढ र हुम्लास्थित पाँच सय किलोवाटको हेल्दुङ साना जलविद्युत् गृहको नहरमा ठूलो क्षति पुर्‍याएको छ । नहरमा क्षति पुगी विद्युत् उत्पादन बन्द भएपछि मुगु र हुम्ला जिल्ला विद्युत्विहीन भएका थिए । भौगोलिक कठिनाइ तथा विकटताले गर्दा दुई जिल्लामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छैन ।

प्राधिकरणले गमगढी र आसपास क्षेत्रमा विद्युत् आपूर्तिका लागि कालिकोटमा रहेको तीन सय केभिएका जेनेरेटर मुगुमा पु¥याएको छ । हुम्लाको सिमिकोट र आसपासका क्षेत्रमा विद्युत् आपूर्तिका लागि एक सय २५ र सय केभिएका जेनेरेटरको व्यवस्था गरेको छ । मुगुमा तीन हजार एक सय र हुम्लामा दुई हजार तीन सय ग्राहक छन् ।

जेनेरेटर कुलेखानी विद्युत् गृह र नयाँ बुटवल सबस्टेसनबाट सिमिकोट लगिएका हुन् । प्राधिकरणले ती जेनेरेटर सडकबाट ढुवानी गरी मुगुको गमगढीसम्म लगेको थियो । राष्ट्रिय सडकले हालसम्म नजोडिएको हुम्लामा गमगढीबाट जेनेरेटर र त्यसका लागि आवश्यक पर्ने डिजेल हेलिकोप्टरमार्फत् ढुवानी गरी सिमिकोट पुर्‍याइएको प्राधिकरणले जनाएको छ ।

‘जेनेरेटरमार्फत् विद्युत् उत्पादन गर्दा लागत प्रतियुनिट ८० रुपैयाँभन्दा बढी पर्छ तर यहाँका अधिकांश ग्राहकबाट न्यूनतम ३० रुपैयाँमात्र उठ्छ ।’

प्राधिकरण र हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियार नेतृत्वको टोलीले पहिरोले क्षति पुर्‍याएको हेल्दुङ विद्युत् गृहको संरचना र त्यहाँ भइरहेको पुनर्निर्माणको स्थलगत निरीक्षण गरेको थियो । साथै एक महिनाभित्र पुनर्निर्माणको काम सम्पन्न गर्न निर्माण व्यवसायीलगायतलाई निर्देशनसमेत दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘जेनेरेटरमार्फत् विद्युत् उत्पादन गर्दा लागत प्रतियुनिट ८० रुपैयाँभन्दा बढी पर्छ तर यहाँका अधिकांश ग्राहकबाट न्यूनतम ३० रुपैयाँमात्र उठ्छ, यहाँ खपत हुने विद्युत्को आम्दानीभन्दा लागत दोब्बरभन्दा महँंगो छ तर सबैको घरमा उज्यालो पुर्‍याउने राज्यको दायित्व भएकाले नाफानोक्सान नहेरी विद्युत्लाई आधारभूत आवश्यकताको वस्तुका रूपमा लिएर हेलिकोप्टरमार्फत् सामान ढुवानी गरेरै भए पनि आपूर्तिको व्यवस्था गरेका छौँ । क्षति पुगेका विद्युत् गृह जतिसक्दो छिटो पुनर्निर्माण तथा मर्मत गर्नेछौँ तर त्यस स्थानको भौगोलिक अवस्थिति र बनावट हेर्दा त्यो पनि दीर्घकालीन हुने जस्तो देखिएको छैन । तसर्थ सौर्य ऊर्जा केन्द्रको स्थापना गर्ने र दुई वर्षभित्रमा कर्णाली प्रदेशका सबै जिल्लामा राष्ट्रिय प्रसारण लाइन लाइन पुर्‍याउने गरी काम गरिरहेका छौँ ।’

हुम्लाकी प्रमुख जिल्ला अधिकारी परियारले स्थानीय सरकारी कार्यालय तथा प्राधिकरणबाट रकम जोहो गरिएको र जनश्रमदानमार्फत् समेत पहिरोले क्षति पुर्‍याएको विद्युत् गृहको नहरको पुनर्निर्माण भइरहेको बताउनुभयो । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले गमगाढ विद्युत् गृहको पुनर्निर्माण जतिसक्दो छिटो सम्पन्न गरी विद्युत् आपूर्तिको व्यवस्था गर्न आग्रह गर्नुभयो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशमा पर्ने जिल्लाको विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताउनुभएको छ ।

घिसिङका अनुसार कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा कम्तीमा पनि दुई/दुई मेगावाटका सौर्य ऊर्जा प्लान्ट राख्ने, एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) र युरोपेली लगानी बैंक (इआइबी) बाट करिब २८ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विद्युतीकरण गर्न सरकारको लगानी र प्राधिकरणले आफूले कमाएको नाफाबाट केही अंश छुट्याएर सो क्षेत्रमा विद्युत्को पहुुँच विस्तारमा खर्च भइरहेको छ ।

प्राधिकरणले कर्णाली प्रदेशका सुर्खेत, दैलेख, सल्यान, रुकुम पश्चिम, जाजरकोट, कालिकोट र जुम्लामा राष्ट्रिय प्रसारण प्रणालीमार्फत् (ग्रिड) र हुम्ला, मुगु र डोल्पामा लघु जलविद्युत््मार्फत विद्युत् आपूर्ति गरिरहेको छ । मुगुमा यस वर्षभित्रै राष्ट्रिय प्रसारण लाइन पुग्नेछ । कर्णाली प्रदेशमा ५६.७९ प्रतिशत विद्युतीकरण भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियत यादव सम्मिलित टोली बुधबार जेनेरेटर लिएर सिमिकोट पुगेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?