देश दौडाहमा शीर्ष नेताहरू : देउवा डडेल्धुरा, ओली दार्चुलामा

अनिल क्षेत्री
Read Time = 14 mins

अनिल क्षेत्री/टेकराज अवस्थी/हिटा
काठमाडौं, डडेल्धुरा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि बिहीबारदेखि चुनावी प्रचारप्रसार खुला भएसँगै राजनीतिक दलका शीर्ष नेताहरूले देश दौडाह थालेका छन् । राजनीतिक दल र उम्मेदवारहरू बिहीबारदेखि चुनावी सभामा केन्द्रित हुन थालेका छन् । प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबारदेखि चुनावी सभा सुरु गर्नुभएको छ । चुनाव प्रचारको अभियानको लागि बुधबार कैलालीको धनगढी पुग्नुभएका सभापति देउवाले बिहीबार आफ्नो निर्वाचन क्षेत्र डडेल्धुरामा पहिलो चुनावी सभा गर्नुभएको छ । विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार कैलालीको धनगढी पुग्नुभएको छ ।

आगामी निर्वाचनको लागि चुनावी अभियान सुरु गर्न दार्चुला जाने क्रममा अध्यक्ष ओली बिहीबार धनगढी पुग्नुभएको हो । नेकपा एमालले आसन्न चुनाव केन्द्रित चुनावी अभियान भारतसँग मुख्य सीमा विवाद रहेको जिल्ला दार्चुलाबाट थाल्ने भएको छ । अध्यक्ष ओलीले शुक्रबार बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । अध्यक्ष ओली शुक्रबार नै दिउँसो २ बजे बैतडी र अपराहृन ४ बजे कञ्चनपुरमा पार्टीको चुनावी अभियानमा सहभागी हुने एमालेले जनाएको छ । आफ्नो चुनावी निर्वाचन क्षेत्र गोरखा २ मा केही दिन बिताउनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार काठमाडौंमा भएको सत्ता गठबन्धनको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्नुभयो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नै निर्वाचन क्षेत्र तनहुँमा केन्द्रित हुनुभएको छ । उम्मेदवारी दिनुभएका राजनीतिक दलका शीर्ष नेताहरू मुख्य गरी आ-आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भए पनि आवश्यकताअनुसार पार्टीका उम्मेदवारहरूको चुनावी सभामा जाने समय तालिका बनाएका छन् ।

देउवाले डडेल्धुराबाट सुरु गरे चुनावी सभा
प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ को निर्वाचन लक्षित चुनावी सभा आफ्नै गृहजिल्ला डडेल्धुराबाट सुरु गर्नुभएको छ । बिहीबार धनगढीबाट डडेल्धुरा पुग्नुभएका देउवाले पहिलो चुनावी सभा डडेल्धुराको सदरमुकाम अमरगढी बजारमा आयोजना चुनावी सभालाई सम्बोधन गरेर सुरु गर्नुभएको हो । देउवाको चुनावी भाषण सुन्न नेपाली कांग्रेससहित अन्य दलका कार्यकर्ता र सर्वसाधारण पनि ठूलो संख्यामा सभास्थलमा जम्मा भएका थिए । चुनावी सभाको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै सभापति देउवाले डडेल्धुरावासीलाई धन्यवाद दिनुभएको छ । उहाँले मतदाता फकाउँदै न्यानो स्वागत र मायाका लागि आभार व्यक्त गर्नुभएको छ । देउवालाई स्वागतका लागि ठूलो संख्यामा कांग्रेस कार्यकर्ता सभास्थलमा जम्मा भएका थिए । देउवा आगामी ४ दिनसम्म डडेल्धुरामा व्यस्त रहनु हुनेछ ।

गठबन्धन १०/१५ वर्ष जारी रहनुपर्छ : देउवा
कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन १०-१५ वर्षसम्म हुनुपर्ने आफ्नो मान्यता रहेको बताउनुभएको छ । डडेल्धुरामा आमनिर्वाचन लक्षित पहिलो चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै देउवाले समृद्धि र आर्थिक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक भएकाले पनि गठबन्धनको राजनीतिले निरन्तरता पाउनुपर्ने बताउनुभएको हो । राजनीतिक पद्धति र विकासलाई संस्थागत रूपमा विकास गर्न पनि गठबन्धन आवश्यक भएको प्रधानमन्त्री देउवाको भनाइ छ । स्थानीय तह निर्वाचनपछि पहिलोपटक आफ्नो चुनावी क्षेत्रमा पुग्नुभएका प्रधानमन्त्री देउवाले सीमा समस्या दुई देशबीच हुने मित्रवत् व्यवहारले मात्र समाधान हुन सक्ने बताउनुभयो । विपक्षी एमाले नेता केपी ओलीको शुक्रबार दार्चुलामा हुने कार्यक्रमलाई लक्षित कांग्रेस सभापतिसमेत रहनुभएका देउवाले राजनीतिक नाफा, घाटाका लागि अनावश्यक रूपमा सीमा जस्तो संवेदनशील विषयलाई मुद्दा बनाउनु उचित नभएको जिकिर गर्दै भन्नुभयो, ‘लिपुलेक के खोसेर फिर्ता ल्याउन सकिन्छ ?’

प्रधानमन्त्री देउवाले सुदूरपश्चिमको पर्यटन विकासका लागि आफूले सक्दो प्रयास गर्ने आश्वासन दिँदै भन्नुभयो, ‘भारतीय पर्यटकलाई लक्षित गरी सुदूरपश्चिमका महत्वपूर्ण पर्यटकीय क्षेत्र विकास मेरो पहिलो प्राथमिकता हुनेछ । सत्ता गठबन्धनले जितेपछि राजनीतिले स्थायित्व पाउने र विकास पनि सम्भव हुन्छ ।’ सातौँपटक प्रतिनिधिसभाको उम्मदेवारी दिएपछि देउवा पहिलोपटक डडेल्धुरा आइपुग्नु भएको हो ।

देउवालाई स्वागत गर्न प्रतिस्पर्धी उम्मेदवार ढकाल पनि लाइनमा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव प्रचारका लागि गृहजिल्ला डडेल्धुरा पुग्दा स्वागतका लागि कांग्रेसका कार्यकर्तासँगै देउवाका चुनावी प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि लाइन लाग्नुभएको थियो । स्वतन्त्र उम्मेदवार ढकाल माला लिएर देउवाको स्वागतका लागि लाइनमा उभिनुभएको थियो । २०४८ सालदेखि लगातार डडेल्धुराबाट चुनाव जित्दै आउनुभएका देउवालाई यसपटक हराउने भन्दै ढकालले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । ढकालले राजनीतिक संस्कार देखाउन स्वागतमा उभिएको बताउँदै भन्नुभयो, ‘देउवालाई प्रधानमन्त्रीका रूपमा स्वागत गर्न आएको हुँ, सभामै बोल्न समय मागेको छु ।’ डडेल्धुरामा विगत तीन महिनादेखि ढकालले मत मागिरहनु भएको छ । २०७४ सालको आमनिर्वाचन अघि बिबिसी साझा सवाल कार्यक्रममा प्रश्न सोध्ने क्रममा देउवासँग नोकझाेंक भएपछि ढकाल चर्चामा आउनुभएको थियो ।

एमालेले आज दार्चुलादेखि चुनावी अभियान सुरु गर्ने
नेकपा एमालेले सत्ता गठबन्धनविरुद्ध चुनावी अभियान तीव्र पार्ने रणनीति बनाएको छ । एमालेले खास गरी देउवा नेतृत्वको सरकारका गतिविधिलाई मुख्य निशाना बनाई अभियान सुरुवात गर्दै छ । आसन्न निर्वाचनलाई लक्षित गरी एमालले भारतसँग मुख्य सीमा विवाद रहेको जिल्ला दार्चुलाबाट देशव्यापी ‘आक्रामक’ चुनावी अभियान थाल्ने भएको छ । यसको लागि पार्टी अध्यक्ष ओली बिहीबार कैलालीको धनगढी पुग्नुभएको छ । अध्यक्ष ओलीले आज (शुक्रबार) दार्चुलाको खलंगाबाट चुनावी अभियानको सुरुवात गर्नु हुनेछ । ओली नेतृत्वको सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर चुच्चे नक्सा जारी गरेको विषयलाई उपलब्धिका रूपमा लिँदै एमालेले दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो । केन्द्रीय निर्वाचन परिचालन कमिटीले करिब ४० जिल्लाका चुनावी सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम राखेको छ । पश्चिमबाट सुरु हुने ओली नेतृत्वको देशव्यापी चुनावी प्रचार अभियान पूर्वी नेपालमा पुगेर सम्पन्न हुनेछ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले भन्नुभयो, ‘दिनहुँ कम्तीमा तीनवटा जिल्लाका चुनावी कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नु हुनेछ । यो केन्द्रले आयोजना गरेको कार्यक्रम हो । स्थानीय कमिटीहरूले आफ्नो आवश्यकताअनुसार चुनावी कार्यक्रम आयोजना गर्नेछन् ।’

आगामी निर्वाचन अग्रगमन र प्रतिगमन बीचको लडाइँ : दाहाल
कांग्रेस र एमालेको शीर्ष नेताबाहेक अन्य राजनीतिक दलका शीर्ष नेता र उम्मेदवारहरू पनि चुनावी प्रचारमा केन्द्रित भएका छन् । आफ्नो निर्वाचन क्षेत्र गोरखा–२ मा केही दिन भेटघाट गरेर काठमाडौं फर्किनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले बिहीबार काठमाडांैमा गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरू सँगको परिचयात्मक कार्यक्रम गर्नुभएको छ । कार्यक्रममा अध्यक्ष दाहालले आगामी निर्वाचनलाई सामान्य रूपमा नलिन आग्रह गर्नुभएको छ । समारोहमा अध्यक्ष दाहालले आगामी निर्वाचन प्रतिगामी वा अग्रगामी शक्तिलाई जिताउने भन्नेमा केन्द्रित रहेको जिकिर गर्दै भन्नुभयो, ‘नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर ढुक्कसँग जान सक्ने वातावरण जनताले गठबन्धनलाई मत दिएर मात्रै सम्भव छ । यो निर्वाचन सामान्य निर्वाचनको रूपमा नलिई दिनुहोला । नेपाल एकपटक फेरि निरंकुशता, अराजकता, प्रतिगमनतिर जाने कि ठूलो बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै विकास र समृद्धिको यात्रामा अघि बढ्ने भन्ने कुराको लडाइँ हो ।’

लोकतन्त्रमाथि अझै गम्भीर खतरा छ : भट्टराई
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई परास्त गर्न नसके संघीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरूको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै डा. भट्टराईले भन्नुभयो, ‘केही लुकेर बसेका प्रतिगामी शक्तिहरू संविधानलाई उल्ट्याउने दुष्प्रयत्न गरे । तिनलाई अघि सारेर प्रतिगामी शक्ति, राजावादी शक्तिले बोकेर यो संविधानलाई धरापमा पार्ने प्रयत्न गरे । कुचेष्टा गरे, त्यसकै विरुद्धमा अहिले हाम्रो यो गठबन्धन हो । यो निर्वाचनमा पनि प्रतिगमनकारी शक्तिलाई पराजित गर्न सकेनौँ भने फेरि अघि आउन दियौँ भने संघीय लोकतान्त्रिक गणतन्त्रमाथि गम्भीर खतरा छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?