श्री ३ महाराज पद्मशमशेरलाई किन सम्झने ?

Read Time = 18 mins

✍️ प्रा.डा. तीर्थप्रसाद मिश्र

जहानियाँ राणा शासनका अन्तिमबाट दोस्रा शासक श्री ३ महाराज पद्मशमशेर (२९ नोभेम्बर १९४५-३० अप्रिल १९८८) लाई रुन्चे, डरछेरुवा, लोभी तथा निर्णय क्षमता नभएकाजस्ता प्रतिकूल विशेषण दिई चर्चा गर्ने गरिन्छ । निश्चय पनि पद्मशमशेरमा केही कमजोरी थिए । उनले गर्न चाहेको भए अझै धेरै काम गर्न पनि सक्थे वा मारिन पनि सक्थे । यी दुवै सम्भावना उत्तिकै थिए । उनको करिब साढे दुई वर्षको कार्यकालमा नेपालमा उल्लेख्य काम पनि भए । नयाँ नेपाल निर्माणको जग बस्यो । दुनियाँ रैतीबाट जनतातर्फ उन्मुख भए । यतिमात्र होइन, उनी जनचेतनाका संवाहक र राणाशासनको स्थापित मान्यता कट्टरपनाका विरोधी पनि थिए ।

इतिहास लेखनमा तत्कालीन राजनीतिको प्रभाव अवश्य पर्छ तर समयको निरन्तर लेखाजोखा गर्दै जाँदा यथार्थ पनि उज्यालिँदै जान्छ । जहानियाँ राणा शासनलाई धारेहात लगाउँदा गाँठी कुरा के बुझ्न आवश्यक छ भने शाह वंशीय शासककै अकर्मण्यताका कारण राणा शासनको उदय भएको थियो । त्यसैले शाह वंशीय राजालाई पानीमाथिको ओभानो बनाउन मिल्दैन । तत्कालीन राजनीतिका कारण यथार्थ कुरा लेख्न र बोल्न सकिने स्थिति थिएन । अहिले सहज स्थिति भएको छ । हाल पनि सक्रिय राजतन्त्र कायम रहेको भए यति लेख्न पनि किमार्थ सकिने थिएन ।

पद्मशमशेरका विषयमा नेपाली इतिहासकारका पुस्तकमा प्रशस्त उल्लेख गरिएको छ र विदेशी विद्वान्हरूले पनि उनका विषयमा कलम चलाएका छन् । तर, ती पुस्तकहरूमा पूर्णतः स्थान नपाएका केही तथ्यहरू पनि छन् । तिनको उल्लेख गर्नु यहाँ मैले मनासिव हुने ठानेको छु ।

नेपालको १०४ वर्षे राणा शासनलाई २००७ सालपछि गाली, निन्दा र अनावश्यक टिप्पणी गर्न कोही पनि बीसको उन्नाइस भएनन् । राणाहरूको उल्लेखनीय कार्यका विषयमा पनि सोच्ने, बोल्ने र कलम चलाउने जागर कमैमा देखियो । विगतलाई जीवन्त बनाइराख्न विविध स्रोतको उपयोग गरी इतिहास लेखन विधाले निरन्तरता पाउनै पर्छ । किनकि, इतिहास भविष्यको मार्गदर्शक हो भने हेक्का राख्नुपर्छ । त्यसैले विगतको वस्तुनिष्ठ मूल्यांकन गर्ने बेला आएको छ । भनिन्छ, २५ वर्ष बितेपछि मात्र इतिहासको रहस्य खुल्दै जान्छ । तत्कालीन स्थितिमा लेखिएका कतिपय सूचना तथ्यपरक र वस्तुनिष्ठ हुन सक्दैनन् ।

तत्कालीन समयको राजनीति र पात्रका विषयमा लेखिएका कतिपय पुस्तक तथा रचनाहरू स्तुतिग्रन्थकै रूपमा लेखिएका देखिन्छन् । राणा शासनलाई पुगेसम्मका प्रतिकूल विशेषण उपयोग गरी निन्दा तथा अपमान गर्ने प्रवृत्तिको अन्त्य भई राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नुपर्ने समय आइसकेको छ । यद्यपि यस्ता मुद्दामा सबैको सार्वभौम राय हुनुपर्छ भन्ने भनाइ कदापि होइन । यसै पृष्ठभूमिमा श्री ३ पद्मशमशेरका विषयमा केही लेख्ने रहर चल्दा यो आलेख तयार हुन पुगेको हो ।

पद्मशमशेरका विषयमा नेपाली इतिहासकारका पुस्तकमा प्रशस्त उल्लेख गरिएको छ र विदेशी विद्वान्हरूले पनि उनका विषयमा कलम चलाएका छन् । तर, ती पुस्तकहरूमा पूर्णतः स्थान नपाएका केही तथ्यहरू पनि छन् । तिनको उल्लेख गर्नु मनासिव हुने ठानेको छु । हुन त पद्मशमशेर काकतालीले नै श्री ३ हुन पुगेका थिए । नब्बे सालमा सी क्लासका राणाहरूको रोल काटी उनीहरूलाई डाँडा नकटाएको भए उनले श्रीपेच लगाउन नपाउने अवस्था हुन सक्थ्यो । जुद्धशमशेरले विविध कारणबाट राज्य त्याग गरे । राज्यत्याग गर्ने पहिलो श्री ३ उनै भए ।
उनैले आफ्नै हातले पद्मशमशेरलाई श्री ३ को श्रीपेच धारण गराएका थिए । पूर्वाधिकारीले उत्तराधिकारीलाई ससम्मान हस्तान्तरण गरेको नेपालको इतिहासमै सम्भवतः यो पहिलो घटना थियो । श्री ३ भएको पहिलो सार्वजनिक भाषणमा नै म राष्ट्रको नोकर हुँ भन्ने उद्गार व्यक्त गरेर उनले कट्टर भनिएको जहानियाँ राणातन्त्रको उपहास गरेका थिए । उनको यसै भनाइबाट पनि उनले मुग्लान भासिनुपरेको हो ।

शासकहरू स्तुतिगानका भोका हुन्छन्, आफ्नो स्तुति गर्दा भगवान् त खुसी होलान् मनुष्यको कुरै भएन । राणाहरूलाई त तत्कालीन समाजमा बोल्ने देवताका रूपमा पूजा गरिन्थ्यो । यो सम्मान पाएर सबै गदगद हुन्थे तर यसमा पद्मशमशेर पृथक् देखिए । गोरखापत्र प्रकाशनको थालनी गर्ने देवशमशेरले छापामा मेरो प्रशंसा नछाप्नू भने पनि गोरखापत्र शासककै मुखपत्रका रूपमा प्रकाशित भयो । हालसम्म पनि छँदै छ । केवल मात्राको मात्र कमबेसी हो । पद्मशमशेरले वीरगञ्जको जेल निरीक्षणपश्चात् २००४ साल फागुनमा दिएको भाषणमा मेरो गुणगान गर्ने होइन, हिन्दूहरूले श्रीराम, सीतारामको नाम जप्नू, मुसलमानले अल्लाहको भनेका थिए (गोरखापत्र, २००४ फागुन २२) ।

यसैगरी नेपाल सरकारको वैधानिक कानुन २००४ घोषणा गर्ने क्रममा उनले दुनियाँकै भलाइ खातिर खडा भएका छौँ दुनियाँकै खातिर जो पनि गर्नुपर्ला सो गर्नलाई तयार र तत्पर छौँ यो राम्ररी बुझी दिलजमी गर (नयराज पन्त, श्री ३ महाराज पद्मशमशेर कुरा, पूर्णिमा पूर्णांक ४० पृ २५५) भन्ने उद्घोष गरेका थिए । पद्मशमशेर नै नेपालमा प्रतिनिधिमूलक शासन व्यवस्थाका प्रणेता हुन् । नेपालको संवैधानिक इतिहासका उज्ज्वल नक्षत्र हुन् ।

जनतालाई आफ्ना प्रतिनिधि छान्ने अधिकार दिने पहिलो शासक पनि उनै हुन् । यस्तो प्रशंसनीय कार्यको थालनी गर्ने पद्मशमशेरलाई राणा भएकै कारणबाट अवमूल्यन भएको हो कि भन्ने भान हाल सबैमा पर्न गएको छ । भाषणकै क्रममा उनले भनेका थिए, मैले गर्न आँटेको कुरा आज तिनीहरू सबैलाई सुनाउन पाउनाले आज मेरो दिल जति खुसी भएको छ त्यति खुसी मेरो जिन्दगीमा कहिल्यै भएको थिएन न पछि कहिल्यै होला । यो भनाइ ज्यादै मार्मिक थियो, जुन कालान्तरमा सत्य साबित पनि भयो ।

जनइच्छाअनुसार शासन चलाउनुपर्ने समय आइसकेको तथ्य पद्मशमशेरले बुझेका थिए । राणाकालमा पजनी, कर्मचारीलाई आफ्नो भक्त बनाइराख्ने एउटा सशक्त माध्यम थियो । वार्षिक रूपमा कर्मचारीहरूको थमौती, कटौती र बर्खास्ती हुने गर्दथ्यो । विसं २००३ सालको पजनीपश्चात् दिएको भाषणमा पब्लिकको भनाइ मैले मान्नै पर्दछ, यसै कारण यी ११ जनालाई पब्लिकको भनाइबाट मैले खोस्न करै लाग्यो भनेका थिए (गोरखापत्र, २००३ श्रावण ४) । यसबाट पनि जनइच्छाअनुसार शासन चलाउनुपर्छ भन्ने सिद्धान्तलाई उनले व्यवहारमा पनि लागू गरेका थिए भन्ने बुझिन्छ ।

राणाकालमा जनताले ठूलो घर बनाउन, घरको छाना झिँगटीले छाउन, खुट्टामा सुन लगाउन, सालिक वा प्रतिमा बनाउन, नयाँ आविष्कार गर्ने कार्यका लागि अनुसन्धान गर्न, पुस्तक छपाउन तथा रेडियो सुन्न जस्ता कार्यमा सरकारको स्वीकृति लिनै पर्ने बाध्यता थियो । त्यस्तो नियन्त्रित समाजमा पद्मशमशेरले सर्वसाधारणलाई रेडियो सुन्न र घरमा राख्न अनुमति दिएका थिए । हाल यो कुरा सुन्दा पनि दन्त्यकथा जस्तो लाग्छ । समाजमा जनचेतना फैलाई धुम्रपानविरोधी अभियानको थालनी नेपालले २००४ सालमा नै सुरु गरेको थियो । ३१ मे सुर्तिजन्य पदार्थविरुद्धको दिवस सन् १९८७ मा विश्वमा सुरुवात भएकोमा नेपालमा १९४७ मा नै सुरु भएको कुरा पद्मशमशेरको निम्न सन्देशबाट प्रमाणित पनि हुन्छ :
मेरा देशबासी दाजुभाइ दिदीबहिनी हो !
चुरोट झिकाउनका निम्ति हाम्रो मुलुकबाट प्रतिवर्ष ५०-६० लाख रुपियाँ विदेशमा जान्छ । यसका यसबाट पनि हाम्रो मुलुकमा ठूलो आर्थिक धक्का परेको छ । पहिले म दिनमा ५०-६० वटा चुरोट खान्थेँ । मैले चुरोट खान एकदम छोडिसकेको ३ वर्ष भो ‘स्वास्थ्यलाई समेत हानि गर्ने यो चुरोट खानु बहुतै खराब अम्बल हो । यो अम्बललाई सकेसम्म एकैदिनमा छोड्नुबेस हो, नसके अलिअलि घटाउँदै लगेर छोडे पनि हुन्छ । जसरी हुन्छ यो खराब लतलाई छोड्नुमा नै बेस छ । मेरो प्रार्थनालाई विचार गरेर तिमीहरू सबैले पनि चुरोट छोड्ने चेष्टा गर्नेछौ भन्ने आशा गर्दछु ।
(श्री ३ पद्मशमशेर (हस्ताक्षर) गोरखापत्र, २००४ असोज ६ गते ।)
पद्मकन्या स्कुल, पद्मोदय स्कुल, पद्मकन्या कलेजलगायत मोफसलमा अनेकौं शिक्षालय उनकै छोटो कार्यकालमा खुलेका थिए । यसैगरी आधार स्कुलको स्थापना र धागो कात्ने तथा बाट्ने जस्ता व्यावसायिक शिक्षा दिने कार्यको थालनी गर्ने पहिलो शासक पनि पद्मशमशेर नै थिए । ती सबै स्कुल मोहनशमशेरको पालामा बन्द भए । यसैगरी पूर्वपश्चिम हुलाकी मार्गको थालनी, कर्मचारीहरूको समयोचित तलबमान व्यवस्थापन, गोरखापत्र हप्तामा तीनपटक प्रकाशन हुने व्यवस्था, मोरङका जनतालाई बिजुलीबत्ती, बिदेशी चुरोटमा प्रतिबन्ध, साहित्य परिषद्को स्थापना, जनताको उजुरी सुन्ने व्यवस्था जस्ता केही प्रशंसनीय कार्य पनि उनको शासनकालमा भएका थिए ।

उनलाई विद्या धर्म प्रचारिणी समितिको कासीमा भएको विद्वत् सभाले भक्त शिरोमणि (गोरखापत्र, २००४ चैत्र २०) को उपाधि र इलाहाबाद विश्वविद्यालयले डक्टर अफ ल (गोरखापत्र, २००४ चैत्र १२) को उपाधिजस्ता सम्मान प्रदान गरेको थियो । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि गुमेको भूभाग फिर्ता गर्न पहल नगरेको बात उनलाई लाग्ने गरेको छ । हो, त्यस दिशामा उनले प्रयास नै गरेनन् । गरेका थिए भने पनि निरर्थक हुन्थ्यो । अतः यो केवल मिथ्या दोष हो । जुन आजको विकसित नेपाल–भारत सम्बन्धले सावित गरेको छ । बेलायतमा दूतावास स्थापना हुनु, गोर्खा भर्तीका विषयमा त्रिपक्षीय सम्झौता हुनुजस्ता कार्य पनि उनको समयमा भएका थिए ।

पद्मशमशेरले जे जति राम्रा कार्यको थालनी गरेका भए पनि उनी चारैतिरबाट समस्याले घेरिएका थिए । त्यसै कारण उनी राजीनामा दिन बाध्य भए । पद्मशमशेरका कार्यरोलवाला राणा कसैलाई पनि सुपाच्य भएका थिएनन् । अरूबाट सहयोग पाउनु त परको कुरा थियो, आफ्नै छोरा वसन्तशमशेरबाट पनि सहयोग पाएनन् । सबै राणाहरू भित्रभित्रै मिलेर पद्मशमशेरविरुद्ध संगठित हुन थालिसकेका थिए । राणाविरोधी आन्दोलनले उचाइ लिँदै गरेको तत्कालीन समयमा जनताबाट सहयोग हुने कुरा नै थिएन । अन्तर्राष्ट्रिय जगत्को नेपालसँग खासै स्वार्थ देखिएको थिएन । भारतले भने पद्मशमशेरप्रति सुदृष्टि नै राखेको थियो ।

पद्मशमशेरले जे जति राम्रा कार्यको थालनी गरेका भए पनि उनी चारैतिरबाट समस्याले घेरिएका थिए । त्यसै कारण उनी राजीनामा दिन बाध्य भए । अरूबाट सहयोग पाउनु त परको कुरा थियो, आफ्नै छोरा वसन्तशमशेरबाट पनि सहयोग पाएनन् ।

शासनको बागडोर सम्हालेको तीन वर्ष नपुग्दै श्री ३ पद्मशमशेरले श्री ३ महाराज र प्राइम मिनिस्टरबाट राजीनामा दिए । यसरी पदबाट राजीनामा दिने उनी पहिलो शासक भए । उनले आफ्नै दाजुभाइबाट त्रसित हुनुपर्ने स्थिति सृजना भएकाले आफ्नो पनि रणोद्वीप वा देवशमशेरको गति हुने सम्भावना देखे । यस स्थितिमा उनले तीनवटा मार्ग पहिल्याएका थिए । एउटा मर्ने, अर्काे मार्ने र तेस्रो पलायन हुने । पहिलो मार्गमा हिँड्न स्वभावैले चाहेनन्, दोस्रो मार्गमा हिँड्ने साहस उनमा आएन ।

त्यसैले तेस्रो मार्गबाट भारत स्वनिर्वासित भए । उनले भारतको सहयोग लिएर राणाविरोधी शक्तिहरूसँग समन्वय गर्दै आफ्ना भाइभारदारलाई सत्मार्गमा हिँडाउने रणनीति लिएका भए उपयुक्त हुने थियो कि भन्ने तर्कवितर्क गर्ने गरिएको पाइन्छ । तर, त्यसका लागि तत्कालीन परिस्थितिमा राजा, राणा र जनता तीनै पक्षबाट सहयोग नहुने हुँदा उनले लिएको मार्ग नै उनका लागि श्रेयस्कर थियो ।

जे होस् उदारवादी सोच भएका, जनताप्रति शासक उत्तरदायी हुनुपर्छ भन्ने मान्यता राख्ने, शैक्षिक जागरणका हिमायती तथा नेपालमा वैधानिक शासनको प्रणेताका रूपमा पद्मशमशेरलाई लिनुपर्दछ । यो भनाइ केवल उनलाई देवत्वकरण गर्नलाई मात्र नभएर हिजोको समयको वस्तुनिष्ठ मूल्यांकन गर्ने उद्देश्यले गरिएको हो । अन्य थुप्रै शासकले मानसम्मान पाउँदा पद्मशमशेरले पनि उचित सम्मान पाउनुपर्ने नै हो । सबैलाई चेतना भया । अस्तु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?