हरिबोधिनी एकादशी : देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो

रासस
Read Time = 3 mins

काठमाडौं । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ । आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको हो ।

उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको जनाइएको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ । चार नारायणको आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यसैले टाढा-टाढाबाट पनि भक्तजन सवारीसाधन रिजर्भ गरेर चार नारायणको पूजाआजा एवं दर्शनमा आउँछन् ।

चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूला ढुङ्गामा स्थापना गरिएको छ । मन्दिरमा राति १ बजेदेखि नै भक्तजनको घुइँचो लागेको महन्त निगमानन्द स्वामीले राससलाई जानकारी दिनुभयो । भक्तजन आउन थालेपछि बूढानीलकण्ठ नारायणस्थान दशनामी मठले राति २ बजेदेखि मन्दिरको ढोका दर्शनार्थीका लागि खुला गरेको थियो ।

नाराययणस्थानमा आज पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । बिहान ७ बजेसम्म हजारौँ भक्तजनले विशेष पूजा आजा एवं दर्शन गरेको उहाँले बताउनुभयो । साढे सात बजेदेखि सवा आठ बजेसम्म बूढानीलकण्ठको विशेष पूजाका लागि मन्दिर दर्शनार्थीका लागि बन्द गरिएको मठले जनाएको छ ।

बूढानीलकण्ठमा आजदेखि कात्तिक शुक्ल पूर्णिमा कात्तिक २६ गतेसम्म विशेष मेला लाग्छ । यहाँ जलकुण्डमाथि भगवान् नारायण सुतेको अलौकिक मूर्ति छ । यो मूर्ति हेर्न आन्तरिकका साथै बाह्य पर्यटकको समेत बूढानीलकण्ठमा घुइँचो लाग्छ । मठले प्रत्येक वर्ष हरिबोधिनी एकादशीको अवसर पारेर श्रीमद्भागवत कथा वाचन गराउने गरेको छ । यो कार्यक्रम गत कात्तिक १५ गतेदेखि नै सुरु भएको जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?