पाँच वर्षमा गोरखाका धुलो सडकलाई कालोपत्र गरेर छोड्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

Read Time = 5 mins

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) ले आज एकै दिन गोरखाका पाँच ठाउँमा भएको कोणसभालाई सम्बोधन गर्नुभएको छ ।

क्षेत्र नं २ का विभिन्न स्थानमा वाम–लोकतन्त्रिक गठबन्धनको आयोजनामा भएको संयुक्त चुनावी जनसभा तथा कोणसभालाई सम्बोधन गर्नुहुँदै उहाँले अबको पाँच वर्षमा गोरखाका धुलो सडकलाई कालोपत्र गरेर छोड्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको हो ।

“गोरखा जिल्लाभित्रका सडकहरु धुलाम्मे छन्”, उहाँले भन्नुभयो, “अबको पाँच वर्षमा यी सडकलाई कालोपत्र गरेर मात्र छोडिन्छ ।” अध्यक्ष दाहालले चितवन जिल्लामा पाँच वर्षमा धुलाम्मे सडकलाई पूरै कालोपत्र गरेको भन्दै अब गोरखाको पनि धुलाम्मे सडकलाई कालोपत्र गर्ने बताउनुभयो । उहाँले बृहत् शान्ति सम्झौतामार्फत हस्ताक्षर गरेर आफूले कांग्रेसको रूख चिह्नमा भोट हालेको र तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा भोट हालिसकेकाले अब दुवै पार्टीका कार्यकर्ताले एकअर्काको चुनाव चिह्नमा भोट हाल्न हिच्किचाउन नपर्ने स्पष्ट पार्नुभयो ।

“शान्तिका लागि संविधानको रक्षाका लागि हँसिया हथौडाले पनि रूखमा भोट हाल्न तयार हुनुप¥यो”, अध्यक्ष प्रचण्डले भन्नुभयो, “रूखले पनि दृढताका साथ शान्तिका निम्ति, लोकतन्त्रका निम्ति संविधानको निम्ति हो भन्ने कुरालाई आत्मसात् गरी खुसी साथ हँसिया हथौडामा भोट हाल्न तयार हुनुप¥यो ।” उहाँले वाम–लोकतान्त्रिक गठबन्धन बृहत् शान्ति सम्झौताको निरन्तरता पनि भएको भन्दै संविधान र लोकतन्त्रका लागि गठन भएको वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न सबैलाई अपिलसमेत गर्नुभयो ।

कोणसभा सम्पन्न पछि सदरमुकाममा आयोजित भेटघाट कार्यक्रममा उहाँले प्रतिगमन एक पटक परास्त भए पनि अझै टाउको उठाउन खोजी रहेको भन्दै अबको निर्वाचनबाट त्यस्ता सदाका लागि परास्त गर्नुपर्ने बताउनुभयो । “प्रतिगमनकारीहरु परास्त त भए एक पटक”, उहाँले भन्नुभयो, “यो चुनावमा फेरि राजावादी तथा अतिवादी संविधान विरोधी सबै एक ठाउँमा बसेर वाम लोकतान्त्रिक गठबन्धनकाविरुद्ध खडा छन् ।” अध्यक्ष दाहालले देशको नेतृत्व गर्ने अवसर आए आफू तयार रहेको भए पनि प्रधानमन्त्रीका लागि मरिहत्ते नगरेको बताउनुभयो । उहाँले गोरखा क्षेत्र नं २ मा आफ्नो प्रतिस्पर्धी कोही पनि नभए जस्तो लागेको समेत बताउनुभयो ।

निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका लागि आजदेखि अनुमति दिएलगत्तै अध्यक्ष अध्यक्ष दाहालले आफ्नो निर्वाचन क्षेत्र गोरखा–२ मा चुनाव प्रचारलाई तीव्रता दिनुभएको हो । उहाँले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने गोरखा नगरपालिका–१४ स्थित याङकोट, वडा नं १० को रानीटार, वडा नं ११ को छेवेटार, वडा नं ८ को आहाले र वडा नं ६ को ठूलो आँगनमा कोणसभालाई सम्बोधन गर्नुभएको हो ।

कोणसभामा अध्यक्ष दाहालसहित गोरखा क्षेत्र नं २ (१) का प्रदेशसभा सदस्य पदका उम्मेदवार फडिन्द्र देवकोटा, प्रदेशसभा (२) का उम्मेदवार सुरेन्द्रराज पाण्डेलगायतका समानुपातिक तर्फका उम्मेदवारहरुको पनि सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?