पाकिस्तानले दक्षिण अफ्रिकालाई हरायो

Read Time = 3 mins

मेलबर्न । पाकिस्तानले आइसिसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकामाथि डकवर्थ लेविस पद्धतिको आधारमा ३३ रनले पराजित गरेको छ । जितको लागि १४२ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित १४ ओभरमा ९ विकेट गुमाउँदै १०८ रन बनायो । दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमाले १९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३६ रन बनाउनुभयो ।

जितका लागि १८६ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ९ ओभरमा ६९-४ को अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । वर्षाको कारण खेल रोकिँदा डकवर्थ लेविस पद्धतिको आधारमा दक्षिण अफ्रिकाले १४ ओभरमा १४२ रन बनाउनुपर्ने भएको थियो । अर्थात् बाँकी ५ ओभरमा ७३ रन जितका लागि चाहिँएको थियो । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले ३ ओभरमा १४ रन खर्चेर ३ विकेट लिनुभयो । शादब खानले २ ओभरमा १६ रन खर्चेर २ विकेट लिनुभयो । मोहम्मद वासिम जुनियरले दुई र नसिम शाहले एक/एक विकेट लिनुभयो ।

त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८५ रन बनायो । पाकिस्तानका शादब खानले २२ बलमा ३ चौका र ४ छक्कासहित ५२ रनको पारी खेल्नुभयो । शादबले २० बलमा अर्धशतक प्रहार गर्नुभएको थियो ।

इख्तिखार अहमदले ३५ बलमा ३ चौका र २ छक्कासहित ५१ रनमा आउट हुनुभयो । मोहम्मद हरिस आक्रामक सुरुवात दिलाउनेक्रममा ११ बलमा २ चौका र ३ छक्कासहित २८ रनमा आउट हुनुभयो । कप्तान बाबर आजम १५ बलमा ६ रन तथा मोहम्मद नवाज २२ बलमा ४ चौका र १ छक्कासहित २८ रनमा आउट हुनुभयो । दक्षिण अफ्रिकाका एनरिच नोर्कियाले ४ ओभरमा ४१ रन खर्चेर ४ विकेट लिनुभयो । वेन पार्नेल, कागिसो रबाडा, लुन्गी एनगिडी र तबरेज शाम्सीले एक/एक विकेट लिनुभयो ।

पाकिस्तानले अन्तिम खेल अब आइतबार बंगलादेशसँग खेल्नेछ । पाकिस्तान सेमिफाइनल खेल्न उक्त खेलमा फराकिलो अन्तरले विजयी हुनुपर्छ । भारतले आइतबार जिम्बावेसँग खेल्नेछ । दक्षिण अफ्रिकाले नेदरल्याण्ड्ससँग खेल्नेछ । भारत र दक्षिण अफ्रिकामध्ये एक टोली पराजित हुनुपर्छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?